१० मंसिर, काठमाडौं । नेपाली क्रिकेटले पछिल्लो समय व्यावसायिक रूपमा ठूलो फड्को मारिरहेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) ले घरेलु क्रिकेटमा नयाँ आकर्षण थपेको छ।
विदेशी खेलाडीको सहभागिता, दर्शकको उत्साह, प्रायोजन र फ्रेन्चाइजको लगानीले नेपाली क्रिकेटको व्यावसायिक सम्भावना पनि देखाएको छ। तर एनपीएलको यो चमकसँगै नेपाली क्रिकेटको अर्को पाटो भने अझै कमजोर छ- घरेलु संरचना र ग्रासरुट क्रिकेट।
राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय स्तरमा लगातार प्रतिस्पर्धा गरिरहँदा नयाँ खेलाडी उत्पादन गर्ने आधार कति बलियो छ भन्ने प्रश्न पनि उठ्न थालेको छ। हालैका प्रतियोगितामा नेपाली टोली भारतसँग २६ रन र पाकिस्तानसँग ७२ रनमा अलआउट हुनु त्यसको एउटा संकेतका रूपमा हेरिएको छ।
यी नतिजालाई मात्र ग्रासरुट क्रिकेटको अवस्थासँग जोडेर निष्कर्ष नै निकाल्न त मिल्दैन। तर राष्ट्रिय टोलीको प्रदर्शनसँगै खेलाडी उत्पादन, प्रशिक्षण र घरेलु प्रतियोगिताको नियमितताबारे बहस आवश्यक छ।
यसबारेमा पूर्वक्रिकेटरदेखि प्रशिक्षकसम्मले पनि पछिल्लो समय कुरा उठाउँदै आएका छन् । पूर्व राष्ट्रिय क्रिकेटर अमृत भट्टराईले नेपाली घरेलु क्रिकेटको आधार नै टी–२० प्रारूपमा सीमित हुँदै गएको टिप्पणी गरेका छन्।
‘हामी घरेलु क्रिकेटमा वर्षभरि जम्मा १० वटा ५० ओभरका खेल मात्र खेलिरहेका छौँ। हाम्रो घरेलु क्रिकेटको आधार टी–२० बनेको छ। अन्तर्राष्ट्रिय स्तरमा पनि टी–२० मा राम्रो गरिरहेका छौँ। तर घरेलु क्रिकेटको प्रणाली परिवर्तन गर्न आवश्यक छ,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्।

पूर्वक्रिकेटर तथा प्रशिक्षक मनोज कटुवालले पनि एनपीएलबाट प्राप्त आम्दानी घरेलु क्रिकेटको संरचना बलियो बनाउन प्रयोग गर्नुपर्ने बताएका छन्। उनको सुझावमा महिला क्रिकेट, ग्रासरुट तथा यू–१६ र यू–१९ तहका प्रतियोगितामा लगानी बढाउनु आवश्यक छ। बलियो राष्ट्रिय टोली निर्माण गर्न बलियो घरेलु संरचना चाहिने उनको भनाइ छ।
नेपाल क्रिकेट संघ (क्यान) ले हरेक वर्ष सार्वजनिक गर्ने क्यालेन्डरमा उमेर समूहदेखि महिला क्रिकेटसम्मका विभिन्न प्रतियोगिता समेटिएका हुन्छन्। तर क्यालेन्डरमा राखिएका सबै प्रतियोगिता आयोजना हुन सकेका छैनन्। आयोजना भएका प्रतियोगिता पनि निर्धारित समयमा हुन नसक्ने समस्या दोहोरिँदै आएको छ।
यस वर्ष मे महिनामा हुनुपर्ने महिला प्रधानमन्त्री कप डिसेम्बरको पहिलो साताका लागि सरेको छ। पुरुष यू–१९ राष्ट्रिय प्रतियोगिता पनि मे महिनामै हुने क्यालेन्डरमा उल्लेख थियो, तर निर्धारित समयभन्दा करिब छ महिना ढिलो आजदेखि सुरु भएको छ।
क्यालेन्डरमा रहेको क्यान युथ कप आयोजना हुन सकेन। राष्ट्रिय टी–२० च्याम्पियनसिप पनि यस वर्ष हुन सकेन। उक्त प्रतियोगिता गत वर्ष पनि आयोजना गर्ने भनिए पनि हुन सकेको थिएन।
महिला क्रिकेटको लामो प्रारूपको प्रतियोगिता आयोजना गर्ने प्रस्तावले पनि मूर्त रूप पाएन। त्यस्तै, यू–१६ महिला राष्ट्रिय च्याम्पियनसिपसमेत हुन सकेन।

प्रतियोगिताको अभावले खेलाडीलाई नियमित प्रतिस्पर्धाको अवसरबाट वञ्चित गर्छ। उमेर समूहका खेलाडीका लागि राष्ट्रिय स्तरमा आफूलाई प्रमाणित गर्ने अवसर सीमित हुँदा उनीहरूको विकास र छनोट प्रक्रियामा समेत असर पर्न सक्छ। महिला क्रिकेटमा पनि नियमित प्रतियोगिता र लामो प्रारूपको अवसर नहुँदा खेलाडी विकासको बाटो साँघुरो हुने जोखिम रहन्छ।
क्यानका सचिव पारस खड्का भने ग्रासरुट क्रिकेटको महत्त्व स्वीकार गर्दै स्रोतसाधनको सीमितताका कारण क्यालेन्डरका सबै प्रतियोगिता आयोजना गर्न नसकिएको बताउँछन्। उनका अनुसार क्यानले जिल्लास्तरमा विद्यालय प्रतियोगिता आयोजना गरिसकेको छ भने आगामी वर्ष विद्यालयस्तरको क्रिकेटलाई प्राथमिकतामा राख्ने योजना बनाएको छ।
‘ग्रासरुट क्रिकेट भनेको क्यानले आयोजना गर्ने हरेक प्रतियोगितासँग जोडिएको विषय हो। एकेडेमी, बालबालिकाको सहभागिता र विद्यालयस्तरका प्रतियोगिता यसको महत्त्वपूर्ण हिस्सा हुन्,’ खड्काले भने, ‘हामीले सीमित स्रोतसाधनमा सकेसम्म प्रतियोगिता आयोजना गर्ने प्रयास गरिरहेका छौँ। केही प्रतियोगिता समय अभाव र प्राविधिक कारणले आयोजना गर्न सकेका छैनौँ।’
उनका अनुसार क्यानको आम्दानीको ठूलो हिस्सा राष्ट्रिय पुरुष टोलीमा खर्च हुन्छ। क्रिकेटबाट प्राप्त रकममध्ये करिब ६० देखि ७० प्रतिशत पुरुष राष्ट्रिय टोलीमा खर्च हुने र बाँकी रकम प्रशासनिक तथा अन्य व्यवस्थापनमा जाने गरेको उनले बताए। जिल्लादेखि प्रदेशसम्म क्रिकेट गतिविधि विस्तार गर्न पर्याप्त स्रोतसाधन आवश्यक रहेको उनको भनाइ छ।
एनपीएलले पनि नयाँ खेलाडीलाई अवसर र प्रतिभा देखाउने मञ्च दिएको खड्काको तर्क छ। आठ फ्रेन्चाइज र सातै प्रदेशको सहभागिताले युवा खेलाडीलाई आकर्षित गरेको भन्दै उनले एनपीएललाई पनि ग्रासरुट क्रिकेटको फराकिलो परिभाषाभित्र राखे। यद्यपि, विद्यालय र कलेजस्तरको क्रिकेट उत्पादनलाई थप प्राथमिकता दिनुपर्ने उनले स्वीकार गरे।
यस्तै पूर्वक्रिकेटर विनोद दासले क्यानबाट विद्यालय स्तरमा प्रतियोगिताहरू आयोजना भइरहेको भएपनि राष्ट्रिय स्तरमा पुग्न नसकिरहेको कुरा स्वीकारे । क्यानकै क्रिकेट अपरेसन म्यानेजर समेत रहिसकेका दासले जिल्लाबाट प्रदेश अनि प्रदेशबाट राष्ट्रिय स्तरको प्रतियोगिता चेन जसरी जानुपर्ने कुरामा जोड दिए ।
‘क्यानले टु डे, थ्री डे म्याचहरू आयोजना गरिरहेको छ, ५० ओभरका प्रतियोगिताहरू आयोजना गर्दैछ, नेशनल स्कुल च्याम्पियनसिप दुई-तीन वर्ष भइसक्यो जिल्ला स्तरमा सम्पन्न पनि भएको छ । त्यो फलोअप गर्न सकेको छैन । योजनामा छन् तर कार्यान्वयमा राम्रोसँग काम भइरहेको छैन’ दासले भने, ‘पहिल्यैदेखि एउटा प्लान थियो नेशनल स्कुल च्याम्पियनसिप गर्ने, त्यो अगाडि बढ्न सकेको छैन।’

राष्ट्रिय क्रिकेट एकेडेमीले पाएन निरन्तरता
ग्रासरुट र खेलाडी विकासको बहस गर्दा राष्ट्रिय क्रिकेट एकेडेमीको योजनालाई पनि बिर्सन मिल्दैन। सन् २०१३ जनवरी १३ मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए) औपचारिक रूपमा स्थापना गरिएको थियो।
तत्कालीन राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेको प्रस्तावमा सुरु गरिएको एकेडेमीले राष्ट्रिय टोली, नेपाल ‘ए’, यू–१९ र महिला राष्ट्रिय टोलीलाई निरन्तर प्रशिक्षण सुविधा दिने लक्ष्य राखेको थियो।
त्यसका लागि जगत टमाटा र विनोद दासलाई प्रशिक्षक तथा रमन शिवाकोटीलाई डाटा तथा भिडियो विश्लेषकका रूपमा नियुक्त गरिएको थियो। त्रिवि मैदानको स्टोररुममा कार्यालय र जिमसमेत स्थापना गरिएको थियो।
तर १३ वर्षअघि अघि सारिएको उक्त योजनाले अपेक्षित रूपमा निरन्तरता पाउन सकेन। तत्कालीन प्रशिक्षक रहेका पूर्वक्रिकेटर विनोद दासले क्यान निलम्बनमा परेपछि त्यसलाई अघि बढाउन नसकिएको बताए ।
‘त्यसबेला एसएलसी दिएका बच्चाहरुको लागि पनि विन्टर क्याम्पहरु अरेंज गरेका थियौं तर पछि क्यान सस्पेन्ड भएपछि बजेट अभाव भएर त्यसलाई अगाडि बढाउन सकिएन र २०१५ मा बन्द गर्नुपर्यो’ दासले अनलाइनखबरसँग भने ।
एनपीएलले नेपाली क्रिकेटमा लगानी र व्यावसायिक सम्भावनाको ढोका खोलेको छ। तर त्यसको दीर्घकालीन प्रभाव देखिन नयाँ खेलाडी उत्पादन गर्ने संरचना पनि उत्तिकै बलियो हुनुपर्छ। जिल्लामा नियमित प्रतियोगिता, विद्यालय र कलेजस्तरको क्रिकेट, उमेर समूहका प्रतियोगिताको निरन्तरता, महिला क्रिकेटमा पर्याप्त अवसर र व्यवस्थित प्रशिक्षणबिना राष्ट्रिय टोलीको आधार फराकिलो हुन सक्दैन।

एनपीएलले नेपाली क्रिकेटको माथिल्लो तहलाई आकर्षक बनाइरहँदा त्यसको जग तयार पार्ने काम पनि उत्तिकै प्राथमिकतामा पर्नुपर्ने देखिन्छ।
पूर्वक्रिकेटर दासले पनि क्यानले एनपीएलबाट प्राप्त गर्ने आम्दानी क्रिकेट विकासमै लगानी गर्नुपर्ने बताउँछन्। एनपीएलबाट हुने आम्दानी कुनै व्यक्ति विशेष वा एउटा क्षेत्रको हितमा नभई समग्र क्रिकेटको विकासका लागि उपयोग हुनुपर्ने उनको भनाइ छ।
उनले एनपीएलबाट प्राप्त हुने रकम विशेषगरी ग्रासरुट, विद्यालयस्तरीय क्रिकेट तथा जिल्ला र प्रदेशको क्रिकेट संरचना बलियो बनाउन खर्च गर्नुपर्नेमा जोड दिए। एनपीएलले क्यानका लागि आम्दानीको बलियो स्रोत तयार गरे पनि अब त्यसलाई सही ढंगले क्रिकेट विकासमा उपयोग गर्नु मुख्य चुनौती रहेको उनले बताए।
‘हामीलाई एउटा क्यास काउ चाहिएको थियो, त्यो एनपीएलका रूपमा तयार भएको छ। अबको चुनौती भनेको यसबाट आएको पैसालाई सही ढंगले क्रिकेट विकासमा उपयोग गर्नु हो’ दासले भने।
प्रतिक्रिया 4