+
+
Shares

‘दिलरुबा दिलनशीन’ किन यति धेरै रुचाइयो ? को हुन् यसका गायक रीतो रिबा ?

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ९ गते १७:२२

काबिल–ए–तारीफ तू,

अप्सराओं जैसी हूबहू

तपाईंले कहीँ न कहीँ, धेरै वा थोरै यो गीत त सुन्नुभएकै छ होला, ‘दिलरुबा दिलनशीन’ । टिकटकतिर जानुहोस् वा इन्स्टाग्राम रिल्समा फन्को मार्नुहोस्, यो गीत नसुनी सुखै छैन ।

आखिर, यो गीत किन यतिविधि रुचाइयो ? किन जताततै छायो ? प्रश्न यतिमा मात्र सीमित छैन ।

यो गीतका गायक तथा सर्जक को हुन् ? उनको संगीत यात्रा कस्तो रह्यो ? कुनै समय ‘इन्डियन आइडल’बाट बाहिरिएका उनी कसरी अहिले देशभर चर्चामा आए ?

यसका गायक हुन्, रीतो रिबा । उनी  भारत अरुणाचल प्रदेशका हुन् ।

युट्युबदेखि इन्स्टाग्रामसम्म चर्चामा रहेको यो गीतको धुन र आवाजले धेरैलाई बलिउड प्रेमकथाको झल्को दिन्छ । सामाजिक सञ्जालमा निकै रुचाइएको यो गीतका कारण रीतो फेरि चर्चामा आएका छन् ।

तर, अहिले लोकप्रियता पाइरहेको यो स्थानसम्म पुग्न उनको यात्रा सहज थिएन । कुनै समय उनी गायन रियालिटी शो ‘इन्डियन आइडल १३’ को उत्कृष्ट १५ प्रतिस्पर्धीमा समेत पर्न सकेका थिएनन् ।

‘इन्डियन आइडल’को अडिसनबाट पाए परिचय

रीतो रीबाले सन् २०२२ मा ‘इन्डियन आइडल १३’ को अडिसनमा भाग लिएका थिए । त्यहाँ उनले आफ्नै सिर्जना ‘हीर राँझा’ गाएका थिए । उनको आवाज र गीतले निर्णायक तथा दर्शकको ध्यान खिचेको थियो ।

प्रशंसा पाए पनि उनी कार्यक्रमका उत्कृष्ट १५ प्रतिस्पर्धीमा पर्न सकेनन् । यो असफलताले भने उनलाई संगीत यात्राबाट पछि हटाएन । उनी संगीत सिर्जनामा निरन्तर लागिरहे ।

रीतोको जन्म र बाल्यकाल अरुणाचल प्रदेशको पासीघाटमा बितेको हो । सानैदेखि उनको संगीतमा विशेष रुचि थियो ।

उनकी आमा लोकगीत गाउने गर्थिन् । आमाले गाएको गीत सुन्दै हुर्किएका रीतोमा पनि संगीतप्रतिको रुचि बढ्दै गयो ।

सन् २०१४–१५ तिर उनले युट्युबमा विभिन्न गीतका कभर भिडियो अपलोड गर्न थालेका थिए । त्यसपछि आफ्नै गीत लेख्ने र संगीत सिर्जना गर्ने काममा लागे ।

‘हीर राँझा’देखि श्रेया घोषालसँग गीत गाउनेसम्म

‘इन्डियन आइडल’बाट बाहिरिएपछि पनि रीतोले संगीत सिर्जना गर्न छाडेनन् । पछि, उनले ‘हीर राँझा’ गीत प्ले डीएमएफ म्युजिक लेबलमार्फत सार्वजनिक गरे ।

यसको म्युजिक भिडियोमा शिवांगी जोशी र रोहित खण्डेलवाल देखिएका थिए । यो गीतले युट्युबमा करोडौँ भ्युज पायो ।

त्यसपछि रीतोले नयाँ पहिचान बनाए । उनले ‘मेरी बनोगी क्या’, ‘इक तू ही है’, ‘बस तेरा’ र ‘इबादतें’ लगायतका गीत सार्वजनिक गरे ।

यसैबीच उनलाई चर्चित गायिका श्रेया घोषालसँग पनि गीत गाउने अवसर मिल्यो । दुवैको स्वरमा सार्वजनिक भएको ‘प्यार आता है’ गीत निकै रुचाइएको थियो ।

यसको म्युजिक भिडियोमा इशान खट्टर र तारा सुतारिया देखिएका थिए ।

‘दिलफेक’ ईपीको गीत बन्यो चार्टबस्टर

रीतोको नयाँ गीत ‘दिलरुबा दिलनशीन’ पाँचवटा गीत समावेश भएको ईपी ‘दिलफेक’को हिस्सा हो । यो ईपी सन् २०२६ अक्टोबर १६ मा सार्वजनिक भएको थियो ।

गीतमा रेट्रो-पप संगीत, प्रेमिल शब्द र पुरानो समयको प्रेम अनुभूति गराउने शैली सुनिन्छ । यस ईपीमा ‘मखमली’, ‘जोगनिया’, ‘जख्मी’ र ‘जिक्र हो’ लगायतका गीत पनि समावेश छन् ।

‘द बेटर इन्डिया’को रिपोर्टअनुसार, नोभेम्बर १६ सम्म ‘दिलरुबा दिलनशीन’ साजम इन्डिया चार्टको पहिलो स्थानमा पुगेको थियो । त्यस्तै, स्पोटिफाइ इन्डियाको दैनिक चार्टमा चौथो स्थान हासिल गरेको थियो ।

यसले रीतोको बढ्दो लोकप्रियता देखाउँछ ।

आफ्नै भाषा र संस्कृतिसँग पनि जोडिएका छन्

हिन्दी संगीत क्षेत्रमा पहिचान बनाउँदै गए पनि रीतो आफ्नो मातृभाषा र संस्कृतिबाट टाढिएका छैनन् ।

सन् २०२५ मा उनले ‘नेटिभ नोट्स’ नामको पाँचवटा गीत समावेश भएको ईपी सार्वजनिक गरेका थिए । यसमा उनले आफ्नो स्थानीय भाषा गालोमा गीत गाएका छन् ।

यसरी रीतो रीबा हिन्दी संगीतमा आफ्नो स्थान बनाउनुका साथै अरुणाचल प्रदेशको भाषा, संस्कृति र पहिचानलाई पनि संगीतमार्फत देशभर चिनाउने प्रयास गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?