९ मंसिर, काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
बुधबार न्यायाधीश रत्नबहादुर बागचन्दको एकल इजलासले विपक्षीका नाममा सूचना म्याद प्राप्त भएको मितिले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
यस्तै, निवेदकहरूले माग गरेको अन्तरिम आदेशबारे दुवै पक्षबीच छलफल गर्न मंसिर १४ गतेका लागि पेसी तोकिएको छ ।
नेपाल पर्यटन बोर्डको सीईओ छनोटका लागि सार्वजनिक गरिएको १६ जनाको संक्षिप्त सूचीका आधारमा अघि बढाइने प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदक परेको थियो ।
बोर्डका वरिष्ठ प्रबन्धक उदय भट्टराई, नवीन पोखरेल, सूर्य थपलिया, वरिष्ठ अधिकृत प्रज्ञा घिमिरे, ज्ञानेश्वरप्रसाद सिंह महतोले दर्ता गराएका थिए ।
रिटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्डको कार्यकारी समिति र कार्यकारी प्रमुख छनोट उपसमितिलाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया 4