News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पर्यटन बोर्डको दिगो पर्यटन परियोजना र सांस्कृतिक संस्थानबीच अपि–साइपाल तथा कञ्चनजंघा पदमार्गमा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने सम्झौता भएको छ ।
- सम्झौताअनुसार २०८३ साउनदेखि पुस १४ सम्म हिमाली गन्तव्यमा सांस्कृतिक उत्पादन विकास गर्दै स्थानीय समुदायको आर्थिक लाभका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने छ ।
- परियोजनाका राष्ट्रिय निर्देशक हिक्मतसिंह ऐरले नेपालका हिमाली पदमार्ग प्राकृतिक सौन्दर्य मात्र नभई जीवित संस्कृति र मौलिक पहिचानका केन्द्र भएको उल्लेख गरे ।
१३ साउन, काठमाडौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) र सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) बीच अपि–साइपाल तथा कञ्चनजंघा पदमार्ग केन्द्रित सांस्कृतिक प्रदर्शन प्याकेज विकास तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने विषयमा सम्झौता भएको छ ।
पर्यटन बोर्डमा बुधबार बोर्डका निमित्त कार्यकारी प्रमुख तथा एसटीपी राष्ट्रिय कार्यक्रम निर्देशक हिक्मतसिंह ऐर र सांस्कृतिक संस्थानका तर्फबाट महाप्रबन्धक किरणबाबु पुनले सम्झौतामा हस्ताक्षर गरे ।
यस सम्झौता अनुसार दुवै संस्थाले सांस्कृतिक सम्पदालाई पर्यटन उत्पादनका रूपमा विकास गर्दै दुर्गम हिमाली गन्तव्यमा पर्यटकको बसाइ लम्ब्याउने र स्थानीय समुदायलाई प्रत्यक्ष आर्थिक लाभ पुग्ने गरी विभिन्न कार्यक्रम सञ्चालन गर्नेछन् ।
सम्झौता अनुसार २०८३ साउनदेखि २०८३ पुस १४ सम्म परियोजना कार्यान्वयन समयवाधि तय गरिएको छ । परियोजनाअन्तर्गत ‘अपि–साइपाल र कञ्चनजंघा पदमार्गका लागि सांस्कृतिक प्रदर्शन प्याकेज विकास’ कार्यक्रम सांस्कृतिक संस्थानले कार्यान्वयन साझेदारका रूपमा सञ्चालन गर्ने छ ।
सम्झौता अन्तर्गत अपि–साइपाल र कञ्चनजंघा क्षेत्रमा सांस्कृतिक प्याकेज विकास तालिम, सांस्कृतिक कलाकार तथा स्रोत व्यक्ति परिचालन, वाद्यवादन सामग्री र साउन्ड सिस्टम व्यवस्थापन, नमुना सांस्कृतिक प्रस्तुति, सांस्कृतिक प्याकेज प्रदर्शनी तथा स्थानीय सांस्कृतिक प्रस्तुति विकास गरिने छ ।
यस अतिरिक्त जनकपुर, मनास्लु र लुम्बिनीमा समेत सांस्कृतिक प्रदर्शन प्याकेज विकास कार्यक्रम सञ्चालन गरिनेछ ।
परियोजनामा फरक क्षमता भएका व्यक्तिका लागि गायन तालिम, प्रतिभा प्रस्तुति र रेकर्डिङ कार्यक्रम समेत समावेश गरिएको छ । साथै अपि, मनास्लु र कञ्चनजंघा क्षेत्रका सांस्कृतिक समूहबीच सांस्कृतिक आदान–प्रदान कार्यक्रम सञ्चालन गरी स्थानीय कला, संस्कृति र परम्परालाई पर्यटनसँग जोड्ने योजना रहेको छ ।
सम्झौतापछि दिगो पर्यटन परियोजनाका राष्ट्रिय परियोजना निर्देशक ऐरले नेपालका हिमाली पदमार्ग प्राकृतिक सौन्दर्यमात्र नभई जीवित संस्कृति र मौलिक पहिचानका केन्द्र भएको उल्लेख गरे ।
उनका अनुसार परियोजनाले सांस्कृतिक सम्पदा संरक्षणसँगै स्थानीय समुदायको सहभागितामा पर्यटन उत्पादन विविधीकरण गरी नेपालका नयाँ गन्तव्यलाई अन्तर्राष्ट्रिय बजारमा थप प्रतिस्पर्धी बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4