News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीलाई १४ युनिट मोटरसाइकल हस्तान्तरण गरी तत्काल उद्धार र संकट व्यवस्थापन क्षमता सुदृढ बनाएको छ।
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले पर्यटक सुरक्षालाई पर्यटन विकासको आधारभूत स्तम्भको रूपमा व्याख्या गरे।
- पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले नयाँ मोटरसाइकलले आकस्मिक उद्धार र संकट व्यवस्थापन थप प्रभावकारी हुने विश्वास व्यक्त गरे।
५ चैत, काठमाडौं । पर्यटकहरूको तत्काल उद्धार तथा संकट व्यवस्थापन क्षमता सुदृढ बनाउन र सहज मोबिलिटीका लागि नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीलाई १४ युनिट मोटरसाइकल हस्तान्तरण गरेको छ ।
पर्यटन बोर्डमा बिहीबार आयोजित कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेलाई मोटरसाइकलको साँचो हस्तान्तरण गरे ।
कार्यक्रममा बोर्डका अध्यक्ष समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाको उपस्थितिमा मोटरसाइकल हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा सचिव निरौलाले पर्यटक सुरक्षालाई पर्यटन विकासको आधारभूत स्तम्भको रूपमा व्याख्या गरे । ‘पर्यटक सुरक्षित भएमात्र गन्तव्य विश्वसनीय बन्छ,’ उनले भने, ‘आज हस्तान्तरण गरिएका यी साधनहरूले पर्यटक प्रहरीको पहुँच र प्रतिक्रिया क्षमतालाई थप प्रभावकारी बनाउने विश्वास लिएको छु ।’
उनले नेपाललाई सुरक्षित, विश्वसनीय र जिम्मेवार पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न यस्ता पहल अत्यन्त आवश्यक रहेको उल्लेख गरे ।
त्यसैगरी सीईओ जोशीले पर्यटन पूर्वाधार र सेवा सुदृढीकरणमा निरन्तर काम गरिरहेको उल्लेख गरे । ‘पर्यटक प्रहरीलाई सशक्त बनाउनु भनेको समग्र पर्यटन प्रणालीलाई बलियो बनाउनु हो,’ उनले भने, ‘यी मोटरसाइकलले दुर्गम र व्यस्त पर्यटकीय क्षेत्रमा छिटो सेवा प्रवाह गर्न मद्दत पुर्याउनेछन् ।’
त्यसैगरी पर्यटन विभागका महानिर्देशक लामिछानेले हस्तान्तरणप्रति आभार व्यक्त गर्दै यसले पर्यटन क्षेत्रमा आकस्मिक उद्धार तथा संकट व्यवस्थापन थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।
‘यसले पर्यटकको विश्वास अभिवृद्धि गर्नुका साथै नेपालको पर्यटन छविलाई अझ सकारात्मक बनाउने छ,’ उनले भने ।
कार्यक्रममा बोर्ड उपाध्यक्ष रामप्रसाद सापकोटा, बोर्ड सदस्यहरू नरेन्द्रदेव भट्ट र राजेन्द्र लामा, साथै पर्यटक प्रहरी प्रमुख डीएसपी कृष्णराज ओझा लगायत उपस्थित थिए ।
नेपालमा पर्यटक प्रहरीले विशेष सुरक्षा निकायका रूपमा परिचालन हुँदै पर्यटक सुरक्षादेखि लिएर सूचना, सहयोग तथा उद्धारसम्मका कार्यहरू गर्दै आएको छ । नयाँ सवारीसाधन उपलब्धतासँगै पर्यटक प्रहरीको सेवा प्रवाह अझ तीव्र र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4