करण जौहरको चर्चित च्याट शो ‘कफी विथ करण ९’ मा अक्षय कुमार र रवि किशनको जोडीले रमाइलो थपेको छ । शोमा अक्षय र रविको मस्तीपूर्ण कुराकानीको एउटा भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
तर, यो क्लिपमा रविसँगको रमाइलोभन्दा बढी अक्षयकी पत्नी ट्विंकल खन्नाको गुनासोले ध्यान खिचेको छ । करण जौहरको चर्चित च्याट शो ‘कफी विथ करण ९’ मा यसपटक अक्षय कुमार र रवि किशनको जोडी जमेको छ ।
तर, शोमा अक्षयभन्दा बढी चर्चा उनकी पत्नी ट्विंकल खन्नाको भयो ।
शोका क्रममा अक्षयले ट्विंकललाई फोन गरे । फोन उठेपछि ट्विंकलले श्रीमानलाई माया होइन, गुनासाको लामै सूची सुनाइन् । उनको गुनासो थियो, ‘बिहान ६ बजे अक्षयले भजन बजाएर सुत्न नदिएको।’
ट्विंकलले अक्षयलाई सोधिन्, ‘बिहान ६ बजे आखिर को भजन बजाउँछ?’
त्यतिमै उनी रोकिइनन् । अक्षय आफैं पनि भजनसँगै ठूलो स्वरमा गाउने गरेको भन्दै उनले व्यंग्य गरिन् ।
‘तिमी त्यसमा पनि अझ ठूलो स्वरमा गाउन थाल्छौ, जस्तो कि तिमी अनूप जलोटा हौ,’ ट्विंकलले भनिन् ।
अक्षयको अर्को बानीप्रति पनि ट्विंकलको गुनासो थियो । उनले बाथरुमको ढोका राम्रोसँग बन्द गर्न अक्षयलाई पटक-पटक सम्झाउनुपरेको बताइन् ।
ट्विंकलले भनिन्, ‘मैले तिमीलाई कति पटक भनेकी छु, कम्तीमा बाथरुमको ढोका त राम्ररी बन्द गर।’
‘तिमी त यो शोमा फ्रीमै आएका रहेछौ !’
त्यसपछि कुराकानीको विषय अक्षयको ‘कफी विथ करण’ यात्रातर्फ मोडियो । अक्षयले आफू शोको छायांकनमा रहेको बताएपछि ट्विंकलले करण जौहरसँग आफ्नो पनि हालै कुराकानी भएको खुलाइन्।
उनका अनुसार करणले उनलाई यसै एपिसोडमा र्यापिड फायर राउन्डको निर्णायकका रूपमा बोलाएका थिए ।
तर, अक्षय शोमा बिना पारिश्रमिक आएको थाहा पाएपछि ट्विंकल झन् छक्क परिन् ।
‘तर मलाई तिमी आज शोमा आउँदैछौ भन्ने नै थाहा थिएन। ओहो, तिमी यो शो फ्रीमा गर्दैछौ। म त छक्क परें,’ उनले भनिन्।
ट्विंकलको यो टिप्पणीपछि करण जौहर पनि हाँस्दै बोले, ‘के तिमी हरेक कुराका लागि पैसा चाहन्छौ ?’
रवि किशनले अक्षयलाई सिकाए ‘हुक स्टेप’
शोमा अक्षय कुमार र रवि किशनबीचको रमाइलो पनि हेर्नलायक थियो। रविले अक्षयलाई आफ्नो चर्चित हुक स्टेप सिकाए ।
रविको विशेष स्वैगसहितको हिँडाइ समेटिएको उक्त स्टेप सिक्दै अक्षयले पनि मज्जाले साथ दिए । दुई कलाकारबीचको यही रमाइलो संवाद र प्रस्तुतीले एपिसोडलाई थप मनोरञ्जक बनाएको थियो।
प्रतिक्रिया 4