+
१०औं राष्ट्रिय खेलकुद :

पुरुष फुटबलमा लिग चरणबाटै बाहिरियो कर्णाली

२०८३ मंसिर  १० गते १३:१३ २०८३ मंसिर १० गते १३:१३

१० मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलमा सहआयोजक कर्णाली प्रदेश लिग चरणबाटै बाहिरिएको छ। बिहीबार भएको खेलमा गण्डकी प्रदेशसँग ५–० गोलले पराजित भएपछि कर्णाली प्रतियोगिताबाट बाहिरिएको हो।

तेस्रो दिनको पहिलो खेलमा जित्नैपर्ने दबाबमा मैदान उत्रिएको कर्णाली प्रतियोगिताबाट बाहिरिने पहिलो टोलीसमेत बनेको छ। यसअघि उद्घाटन खेलमा कर्णाली नेपाल पुलिस क्लबसँग ३–० गोलले पराजित भएको थियो।

गण्डकीका लागि लछु थापाले खेलको १६औं मिनेटमा पहिलो गोल गरे। आशिष गुरुङले २५औं र ३३औं मिनेटमा गोल गर्दै गण्डकीको अग्रता ३–० बनाए।

दोस्रो हाफमा सुदीप गुरुङले ५७औं मिनेटमा गोल थपे। खेलको अतिरिक्त चार मिनेटमा टेकराज गुरुङले अर्को गोल गरेपछि गण्डकीले ५–० को जित दर्ता गर्‍यो।

म्याच कमिसनर वीरेन्द्र पाण्डेका अनुसार गण्डकीका रन्दीप पौडेल र यामबहादुर श्रेष्ठ तथा कर्णालीका दिलविजय शाहीले पहेँलो कार्ड पाए।

बिहीबार दिउँसो २ः३० बजे हुने खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

१०औँ राष्ट्रिय खेलकुद पुरुष फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय