१० मंसिर, काठमाडौं । नेपाली फुटबलमा नयाँ युगको सुरुवात गर्ने दाबीसहित ३० असोजमा नेपाल फुटबल (एनएफएल) घोषणा भयो । आगामी फागुन १ गतेदेखि सञ्चालन गर्ने तयारीमा रहेको एनएफएलमा १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सुरु हुनुअघि घोषणा गरिएको एनएफएलको तयारी अहिले तीव्र गतिमा अघि बढिरहेको छ र एनपीएलको सफलता पछि अहिले फुटबलमा पनि निजी क्षेत्रहरुको आकर्षण बढेको छ ।
एनपीएलमा कर्पोरेट क्षेत्रको सहभागिता र फ्रेन्चाइज मोडलले पाएको सफलतापछि एनएफएलमा पनि कर्पोरेट हाउसहरू जोडिएका छन् । त्यसैले पहिलो संस्करणमै लिगलाई प्रतिस्पर्धासँगै व्यावसायिक रुपमा पनि अघि बढाउने आयोजकको तयारी छ ।
एनएफएलको आयोजना नेपाल फुटबल लिग प्रालिले गर्नेछ । यसअघि नेपाल सुपर लिग (एनएसएल) खेलेका सात क्लब मिलेर नयाँ लिगको घोषणा गरेका हुन् । ती क्लब नै एनएफएलका संस्थापक तथा आयोजक रहनेछन् ।
तर क्लबहरू आफैं सहभागी हुने प्रतियोगिता निष्पक्ष रूपमा सञ्चालन गर्न छुट्टै इन्डिपेन्डेन्ट कमिटी बनाइने आयोजकले घोषणा कार्यम्रममा बताएको थियो ।
एनएफएलका अध्यक्ष कल्याण गुरुङ हुन् । उनी भाटभटेनी सुपर मार्केटका म्यानेजिङ डिरेक्टर हुन् भने एनएसएलको च्याम्पियन टोली ललितपुर सिटी फुटबल क्लमा पनि आबद्ध रहिसकेका छन् ।
लिग घोषणा कार्यक्रममा गुरुङले क्लबहरूकै अग्रसरतामा घरेलु फुटबललाई नयाँ उचाइ दिने उद्देश्यले एनएफएल स्थापना गरिएको बताएका थिए । ‘एनएफएल क्लबहरूको साझा संस्था हो । त्यसैले एनएफएलले नै प्रतियोगिता आयोजना गर्नेछ । क्लबहरू लिगको सदस्यका रूपमा रहँदै एनएफएल खेल्नेछन् । प्रतियोगिता निष्पक्ष ढंगले सञ्चालन गर्न बेग्लै इन्डिपेन्डेन्ट कमिटी बनाइनेछ,’ घोषणाका क्रममा जारी विज्ञप्तिमा उल्लेख गरिएको थियो ।
तीन नयाँ टिम थपिँदै

एनएसएल खेलेका सात क्लबले एनएफएलको पहिलो संस्करणमा सहभागिता जनाउने निश्चित भइसकेको छ । आयोजकले थप तीन नयाँ टिम समावेश गर्दै कुल १० टिमको लिग सञ्चालन गर्ने तयारी गरेको छ ।
तीन नयाँ टिम छनोटका लागि आयोजकले आवेदन खुलाएको थियो । आठ सहरलाई केन्द्रमा राखेर गरिएको आवेदन आह्वानमा २० प्रस्ताव परेको आयोजकले जनाएको छ ।
ती आवेदनबाट तीन टिम छनोट गर्ने प्रक्रिया अहिले अघि बढिरहेको छ । नयाँ टिमको छनोटपछि खेलाडी छनोट प्रक्रिया सुरु हुनेछ ।
टिम छनोटका लागि सुरुमा प्राविधिक पाटो हेरिने र त्यसपछि आर्थिक पाटो हेर्ने एनएफएल लिग कमिसनर राजु घिसिङले जानकारी दिए । ‘सुरुमा प्राविधिक पाटो विश्लेषण गर्नेछौं । त्यसपछि उनीहरुको बिडिङ अमाउन्ट हेरेर टिम छनोट गरिनेछ । शुक्रबारसम्म ३ टिमको छनोट हुनेछ’ घिसिङले अनलाइनखबरसँग भने ।
टिम छनोट प्रक्रिया सकिएपछि खेलाडी ड्राफ्टको प्रक्रिया अघि बढाइने घिसिङले जानकारी दिए । ‘टिम छनोटको काम सकिएपछि अक्सन प्रक्रिया अघि बढ्नेछ । अहिले प्राविधिक समितिले खेलाडी छनोट गरेर क्याटेगोराइज्ड गर्ने काम गरिरहेको छ’ उनले भने ।
यस्तै विदेशी खेलाडीहरु पनि सहभागी गराउने प्रयास रहेको र टेक्निकल टिमको सल्लाहको आधारमा प्रक्रिया अघि बढाइने घिसिङले बताए ।
पछिल्लो समय घरेलु फुटबलमा लिग र प्रतियोगिताहरु नियमित नहुँदा धेरै फुटबलरहरु पलायन भइसकेका छन् । केही खेलाडीले विदेशमा लिग खेल्ने बाहेक बाहेक अहिले धेरै खेलाडीहरु फुर्सदिला बनेका छन् ।
यस्तो अवस्थामा नेपाली खेलाडीहरू नै लिगका लागि तयार गर्नु आयोजक र फ्रेन्चाइज टिमहरूलाई चुनौती हुने देखिन्छ ।
होम एन्ड अवेको महत्वाकांक्षा

नेपालको घरेलु फुटबलमा विगतमा ए डिभिजन लिग देखि राष्ट्रिय लिगसम्मलाई होम एण्ड अवे प्रणालीमा खेलाउने चर्चा हुँदै आएको थियो । राष्ट्रिय लिगलाई काठमाडौं विस्तार गरिएपनि ए डिभिजन लिग भने होम एण्ड अवे प्रणालीमा हुन सकेको छैन ।
यसअघि एनएसएलले पनि काठमाडौं बाहिर लिगलाई लैजाने प्रयास गरेको थियो । तर सफल हुन सकेन ।
एनएफएल डबल राउण्ड रोविनका आधारमा हुने र ९० खेल हुने घिसिङले जानकारी दिए ।
‘१० टिमले होम एण्ड अवे प्रणालीमा खेल्नेछन् । डबल राउण्ड रोविन लिगमा कूल ९० खेल हुनेछ । प्लेअफ हुने छैन’ लिग कमिस्नर राजु घिसिङले भने । जसमा १० टिमले एकअर्कासँग दुई पटक खेल्नेछन् ।
अहिले एनएफएलले पनि होम एण्ड अवे शैलीमा लिग गर्ने महत्कांक्षी घोषणा गरेको छ । तर पहिलो संस्करण देखि नै यो प्रयास सफल हुन्छ कि हुँदैन भन्ने चासोको विषय बनेको छ ।
एनएफएल खेल्ने निश्चित भएका ७ बाहेक ३ टिम टुङ्गो लाग्न बाँकी छ । यस्तै एफसी चितवनको लागि चितवनमा छुट्टै फुटबल मैदान छैन । यस्तोमा होम ग्राउण्ड छान्न मिल्ने आयोजकले जनाएको छ ।
अन्य टिमहरुको लागि काठमाडौं देखि उपत्यका बाहिर रहेका सबै रंगशालाहरु निरिक्षणको काम भइरहेको आयोजकले जनाएको छ ।
‘अहिले भेन्यु निरिक्षणको काम भइरहेको छ । सुर्खेतको रंगशाला निरिक्षणपछि अहिले बुटवलको निरिक्षण हुँदैछ । जसको आफ्नो रंगशाला छैन उसले अर्को रंगशाला छनोट गर्न मिल्छ’ घिसिङले भने ।
पहिलो संस्करणमा सबै १० टिमको घरेलु मैदान नभएपनि ७ देखि ८ भेन्युमा खेल पुर्याउने आयोजकको लक्ष्य छ ।
होम एन्ड अवे मोडालिटीले क्लबलाई आफ्नै घरेलु मैदानमा खेल्ने अवसर दिनेछ । यसले स्थानीय समर्थकलाई क्लबको नजिक ल्याउने, टिकट बिक्री तथा प्रायोजनको सम्भावना बढाउने र फुटबललाई सहर केन्द्रित बनाउने अपेक्षा रहेपनि यसका लागि पर्याप्त रंगशाला, खेलमैदानको मापदण्ड, यात्रा तथा आवास खर्च, प्रसारण र खेल तालिका व्यवस्थापन महत्वपूर्ण हुनेछन् ।
एन्फा निलम्बनबीच राखेपको स्वीकृति

एनएफएलको तयारीसँगै नेपाली फुटबलको नियामक निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को निलम्बन पनि चुनौती बनेको छ ।
तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले २४ असारमा एन्फालाई अर्को सूचना नभएसम्मका लागि निलम्बन गरेको थियो । एन्फा निलम्बनमा रहेका बेला घोषणा भएको एनएफएललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले लिग सञ्चालनका लागि सैद्धान्तिक स्वीकृति दिएको छ ।
आयोजकले फिफाबाट एन्फाको निलम्बन फुकुवा भएपछि एन्फासँग सहकार्य गरेर अघि बढ्ने जनाएको छ । तर निलम्बन कायम रहँदासम्म लिगको प्राविधिक सञ्चालन, रेफ्री व्यवस्थापन, खेलाडी दर्ता तथा प्रतियोगिताको आधिकारिक मान्यता जस्ता विषयको व्यवस्थापनमा चुनौती हुनेछ ।
हालै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल तथा राखेपका उपाध्यक्ष विशाल श्रेष्ठसहितको टोलीले थाइल्यान्डको बैंककमा आयोजित एएफसी अवार्ड्स २०२६ का क्रममा फिफा र एएफसीका उच्च अधिकारीहरूसँग भेटवार्ता गरेको थियो ।
मन्त्रीको उक्त भ्रमणपछि एन्फा निलम्बन फुकुवामा सकारात्मक संकेत देखिएको छ । तर निलम्बन फुकुवाका लागि एन्फाले तहगत रुपमा निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने फिफाको शर्त छ ।
फिफा र एएफसीले एन्फाको आगामी निर्वाचनका लागि रोडम्याप तयार गर्ने र सोहीअनुसार निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।
एनएफएलको सञ्चालन कसरी हुन्छ र लिगको भविष्य कस्तो हुन्छ भन्ने विषय एन्फाको निलम्बन फुकुवाको समयले पनि निर्धारण गर्नेछ ।
आयोजकका लागि अब तीन नयाँ टिम छनोटसँगै घोषित समयमै प्रतियोगिता सुरु गर्नु र होम एन्ड अवे मोडालिटीलाई व्यवहारमा उतार्नु मुख्य चुनौतीको रुपमा रहनेछ ।
प्रतिक्रिया 4