बलिउड अभिनेता आमिर खान लामो समयदेखि एउटा ठूलो हिट फिल्मको खोजीमा छन् । उनको पछिल्लो फिल्म ‘सितारे जमिन पर’ ले बक्स अफिसमा अपेक्षाअनुसारको सफलता पाउन सकेन । तर, आमिरका प्रशंसक अझै पनि उनको अर्को ठूलो सफल फिल्मको प्रतीक्षामा छन् ।
अब उनको त्यो प्रतीक्षा चाँडै पूरा हुने संकेत देखिएको छ । उनी फेरि चर्चित निर्देशक आशुतोष गोवारिकरसँग काम गर्दैछन् । उनीहरूको नयाँ खेलकुदमा आधारित फिल्मको नाम ‘ललकारा’ राखिएको छ । फिल्मलाई लिएर दर्शकमाझ अहिले नै चासो बढेको छ ।
आमिर आफ्ना फिल्ममा पूर्णता दिन निकै मेहनत गर्ने कलाकारका रूपमा चिनिन्छन् । यसपटक पनि उनी आफ्नो भूमिकालाई वास्तविक देखाउन कुनै कसर बाँकी राख्न चाहँदैनन् । आमिरले ‘ललकारा’ का लागि तयारी थालिसकेका छन् ।
यस फिल्ममा उनी स्वतन्त्र भारतका पहिलो क्रिकेट कप्तान लाला अमरनाथको भूमिकामा देखिनेछन् । भूमिकालाई वास्तविक बनाउन आमिर क्रिकेटका विभिन्न पक्ष सिकिरहेका छन् । साथै, आफ्नो शारीरिक तन्दुरुस्तीमा पनि विशेष ध्यान दिइरहेका छन् ।
यसका लागि उनले पोषणविद्को सल्लाहमा विशेष शाकाहारी खानपान योजना पनि अपनाएका छन् ।
सन् १९५२ को ऐतिहासिक क्रिकेट शृङ्खलाको कथा
आशुतोष गोवारिकरको निर्देशनमा बन्ने यस फिल्मको कथा भारतीय क्रिकेट इतिहासको एउटा महत्त्वपूर्ण र भावनात्मक समयसँग जोडिएको छ ।
फिल्ममा सन् १९५२ मा भारत र पाकिस्तानबीच भएको टेस्ट क्रिकेट शृङ्खलालाई देखाइनेछ । सन् १९४७ मा भारत विभाजन भएपछि यी दुई देशबीच भएको यो पहिलो औपचारिक टेस्ट शृङ्खला थियो । त्यसबेला दुवै देशका दर्शकमाझ यस खेललाई लिएर ठूलो उत्साह थियो ।
लाला अमरनाथको कप्तानीमा भारतीय टोलीले उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तानलाई २–१ ले पराजित गरेको थियो । ‘ललकारा’ मा यही ऐतिहासिक जित र त्यसबेलाको खेलप्रतिको भावना पर्दामा उतारिनेछ ।
दक्षिण मुम्बईको क्रिकेट क्लबमा विशेष प्रशिक्षण
आमिर अहिले आफ्ना सहकलाकार विक्रान्त मेस्सी, जितेन्द्र कुमार र धैर्य कर्वासँग दक्षिण मुम्बईस्थित एउटा ठूलो क्रिकेट क्लबमा दैनिक अभ्यास गरिरहेका छन् ।
कलाकारहरूलाई क्रिकेटका विभिन्न सीप सिकाउन भारतीय राष्ट्रिय टोलीका दुई पूर्वखेलाडीलाई विशेष रूपमा बोलाइएको छ । रोचक कुरा के छ भने यी दुवै प्रशिक्षकले यसअघि कबिर खानको फिल्म ‘८३’का लागि रणवीर सिंह र उनको टोलीलाई पनि प्रशिक्षण दिएका थिए ।
त्यसैले फिल्ममा क्रिकेट खेलका दृश्य वास्तविक देखाउन उनीहरूको अनुभव उपयोगी हुने अपेक्षा गरिएको छ।
‘लगान’ को छायांकन सुरु भएको मितिसँग विशेष संयोग
आमिर खान र आशुतोष गोवारिकरको नयाँ फिल्म ‘ललकारा’ को छायांकनबारे अर्को रोचक जानकारी सार्वजनिक भएको छ । फिल्मको छायांकन सन् २०२७ जनवरी ४ देखि सुरु हुने बताइएको छ ।
यो मिति आमिर र आशुतोष दुवैका लागि विशेष छ । ठ्याक्कै २७ वर्षअघि सन् २००० जनवरी ४ मै उनीहरूले चर्चित फिल्म ‘लगान’ को छायांकन सुरु गरेका थिए ।
‘लगान’ ले बलिउडमा सफलताका नयाँ कीर्तिमान बनाएको थियो । यसले ओस्कार अवार्डमा समेत आफ्नो उपस्थिति जनाएको थियो । त्यसैले त्यही मितिमा नयाँ फिल्मको छायांकन सुरु गर्नु उनीहरूका लागि विशेष संयोग बनेको छ ।
आमिर खान र आशुतोष गोवारिकरको जोडी पर्दामा एकसाथ आउँदा दर्शकले केही नयाँ र फरक सामग्री हेर्न पाउने अपेक्षा गरिन्छ ।
‘ललकारा’ लाई लिएर पनि दर्शकमाझ यस्तै आशा देखिएको छ । यद्यपि, फिल्म निर्माण पक्षले अहिलेसम्म प्रदर्शन मिति औपचारिक रूपमा घोषणा गरेको छैन । तर, फिल्म क्षेत्रका व्यक्तिहरूको अनुमानअनुसार यो फिल्म सन् २०२७ डिसेम्बरमा क्रिसमसको अवसर पारेर हलमा प्रदर्शन हुन सक्छ ।
प्रतिक्रिया 4