+
+
Shares

बागमतीमा ६ अर्ब बजेट कटौतीको तयारी, विपद्पछिको पुननिर्माण र पुन:स्थापनामा खर्चिने

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १० गते १८:४९

१० मंसिर, हेटौंडा । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८३/८४ को लागि बिनियोजित बजेट कटौतीको तयारी गरेको छ ।

ल्हेन्दे भोटेकोशी त्रिशूली नदीमा आएको बाढीपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि खर्चिन सरकारले ६ अर्ब रुपैयाँ बजेट व्यवस्थापन गर्ने निर्णय गरेको हो । बाढीपछिको पुनर्निर्माण तथा पुन:स्थापनासम्बन्धी सरोकारवाला जनप्रतिनिधि तथा पदाधिकारीसँग गत सोमबार प्रदेश सुशासन केन्द्र, जावलाखेलमा आयोजित समन्वय बैठकले ६ अर्ब बजेट व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

जसअनुसार सरकारले पुँजीगततर्फको अग्रिम दायित्व सिर्जना नभएका कार्यक्रमबाट बजेट कटौती गर्ने निर्णय भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय र खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्रालयको बजेटबाट २० प्रतिशत र अन्य ६ वटा मन्त्रालयबाट १५ प्रतिशतले बजेट कटौती गरिने मन्त्रालयका प्रवक्ता उपसचिव नुमानन्द अधिकारीले जानकारी दिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालय, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयको कार्यक्रमबाट १५ प्रतिशत बजेट कटौती गरिने भएको छ । कृषि र स्वास्थ्य बाहेक सबै मन्त्रालयले बजेट कटौतीका लागि कार्यक्रम विवरण सिफारिस गरिसकेको मन्त्रालयले जनाएको छ ।

बागमती सरकारले चालू आवका लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको कुल बजेट ल्याएको थियो । चालुतर्फ २२ अर्ब ९६ करोड १९ लाख ३० हजार र पुँजीगततर्फ ४३ अर्ब ९७ करोड १४ लाख ३ हजार रुपैयाँ बजेट बिनियोजन गरिएको हो ।

‘स्रोत सहमति भइसकेका र चालूतर्फका बजेट यथावत रहनेछन् । दायित्व सिर्जना नभएका कार्यक्रमबाट निश्चित बजेट व्यवस्थापन गरिने निर्णय भएअनुसार प्रक्रिया अगाडि बढाइएको छ,’ अधिकारीले अनलाइनखबरसँग भने ।

सम्बन्धित मन्त्रालयले सिफारिस गरेका कार्यक्रमको आधारमा बजेट कटौती हुने प्रवक्ता अधिकारी बताउँछन् । अघिल्लो सरकारको पालामा आर्थिक मामिला तथा योजना मन्त्रालयले आफू खुशी बजेट कटौती गरेपछि मन्त्रालयबीच विवाद भएको थियो । आर्थिक मामिलाले आफ्नै ढंगले बजेट कटौती गर्दा बिनियोजित कार्यक्रम कार्यान्वयनमा समस्या देखिएको थियो ।

६ अर्ब खर्चिन सरकारको योजना के छ ?

बागमतीका मुख्यमन्त्री किरण थापा मगरले भौतिक संरचना निर्माणमा मात्र सीमित नभई प्रभावित नागरिकको आवास, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, आर्थिक गतिविधि र सामाजिक जीवनलाई समेत सामान्य अवस्थामा फर्काउने गरि सरकारले ६ अर्ब बजेट खर्चिन लागेको बताए ।

उनले ६ अर्ब बजेट व्यवस्थापनका लागि १३ र १४ मंसिरमा रसुवा, नुवाकोट, धादिङ र चितवनका प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकायसँग सम्बन्धित ठाउँमै पुगेर सुझाव लिन लागेको मुख्यमन्त्री थापाले बताए । स्थानीय आवश्यकताअनुसार बजेट खर्चिने सरकारको नीतिअनुसार समग्र विकासमा ध्यान केन्द्रित गरिएको उल्लेख गरे ।

सरकारले सम्बन्धित क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य, स्थानीय तह तथा वडाको सिफारिस र सहभागितामा काममा दोहोरोपना नपर्ने र उपलब्ध स्रोतको अधिकतम उपयोग सुनिश्चित हुने गरी पुनर्निर्माण तथा पुनर्स्थापनाका आयोजना र कार्यक्रम कार्यान्वयन गर्ने तयारी गरेको छ ।

तत्काल पुनर्निर्माण तथा पुनर्स्थापना गर्नुपर्ने आयोजनाको माग संकलन, आयोजना वा कार्यक्रमको सूची तयार गर्ने कार्य प्रदेश नीति तथा योजना आयोगको समन्वयमा गरिने भएको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका प्रवक्ता उपसचिव अनिता तामाङले जानकारी दिइन् । छनोट भएका आयोजना तथा कार्यक्रम सम्बन्धित मन्त्रालय र निकायबाट कार्यान्वयन गरिने भएको छ ।

बाढी प्रभावित क्षेत्रका समस्याको दीर्घकालीन समाधानका लागि जोखिमयुक्त बस्तीको पहिचान र स्थानान्तरण, जग्गा व्यवस्थापन, प्रभावित नागरिकको सहज जीविकोपार्जनको सुनिश्चितता तथा पूर्वाधार र सम्पदाको संरक्षणका विषय समेटेर प्रदेश सरकारले सम्भाव्यता अध्ययन तथा गुरुयोजना तयार गर्ने निर्णय गरेको तामाङले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?