१० मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडीमा बिहीबार पाँच नयाँ राष्ट्रिय कीर्तिमान बनेका छन्। तेस्रो दिनको खेल सकिँदा पदक तालिकामा बागमती प्रदेशले आफ्नो अग्रता कायमै राखेको छ।
नेपालगञ्ज रंगशालास्थित पौडी पोखरीमा जारी प्रतियोगितामा बागमतीले १२ स्वर्ण, सात रजत र सात कांस्य गरी कुल २६ पदक जितेको छ। दोस्रो स्थानमा रहेको एनआरएनए टोलीले नौ स्वर्ण, तीन रजत र तीन कांस्यसहित १५ पदक जितेको छ।
तेस्रो स्थानको नेपाल आर्मी क्लबले ६ स्वर्ण, १० रजत र १३ कांस्य गरी २९ पदक जित्दा नेपाल पुलिस क्लबले चार स्वर्ण, ११ रजत र १२ कांस्यसहित २७ पदक हात पारेको छ। कोशी प्रदेश दुई स्वर्णसहित पाँचौँ स्थानमा छ। सुदूरपश्चिम प्रदेशले एक स्वर्ण, तीन रजत र एक कांस्य गरी पाँच पदक जितेको छ।
पुरुष १०० मिटर बटरफ्लाईमा बागमतीका अभिभ प्रधानले ५८.२२ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जिते। यसअघि सन् २०२५ मा अनुभव सुब्बाले ५९.५४ सेकेन्डको कीर्तिमान बनाएका थिए। यस स्पर्धामा रजत जितेका पुलिसका इर्भिन श्रेष्ठले पनि ५९.०४ सेकेन्डमा दूरी पूरा गर्दै पुरानो कीर्तिमान तोडे। आर्मीका सौर्यबहादुर सिंहले एक मिनेट ००.५३ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य जिते।
पुरुष २०० मिटर ब्रेस्टस्ट्रोकमा कोशीका विकास कुमालले आफ्नै नाममा रहेको कीर्तिमान सुधार गर्दै दुई मिनेट ३४.३६ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाए। उनले स्वर्ण जित्दा सुदूरपश्चिमका अर्थभ सिंहले दुई मिनेट ४०.०५ सेकेन्डसहित रजत तथा पुलिसका जडेन श्रेष्ठले दुई मिनेट ४४.९६ सेकेन्डसहित कांस्य जिते।
पुरुष ५० मिटर ब्याकस्ट्रोकमा पनि बागमतीका अभिभ प्रधानले आफ्नै कीर्तिमान सुधार गरे। उनले २८.९५ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जिते। यसअघि उनको नाममा २८.९९ सेकेन्डको कीर्तिमान थियो। आर्मीका जडेन श्रेष्ठले २९.९० सेकेन्डसहित रजत र बागमतीका रेअन्तबहादुर श्रेष्ठले २९.९२ सेकेन्डसहित कांस्य जिते।
पुरुष चार गुणा १०० मिटर फ्रिस्टाइल रिलेमा बागमतीका रेअन्त श्रेष्ठ, आरिक कर्माचार्य, वशिष्ठ राज शाही र अभिभ प्रधानले तीन मिनेट ४५.७५ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जिते। यसअघि सन् २०२५ मा अभिभ, जडेन, रेअन्त र अल्भिन महर्जनको टोलीले तीन मिनेट ४७.७३ सेकेन्डको कीर्तिमान बनाएको थियो। पुलिसले तीन मिनेट ५१.७५ सेकेन्डसहित रजत र आर्मीले तीन मिनेट ५५.९७ सेकेन्डसहित कांस्य जिते।
बिहीबारको पुरुष ४०० मिटर फ्रिस्टाइलमा पुलिसका काल्किन श्रेष्ठले चार मिनेट २०.११ सेकेन्डसहित स्वर्ण जिते। पुलिसकै मयोन श्रेष्ठले चार मिनेट ३०.८८ सेकेन्डसहित रजत तथा सुदूरपश्चिमका अर्थभ सिंहले चार मिनेट ३२.८१ सेकेन्डसहित कांस्य जिते।
महिला २०० मिटर इन्डिभिज्युअल मिड्लेमा एनआरएनएकी लिलीले दुई मिनेट ३३.६७ सेकेन्डसहित स्वर्ण जितिन्। आर्मीकी डुआना लामाले दुई मिनेट ३३.८९ सेकेन्डसहित रजत र एनआरएनएकी मिखा काया थापाले दुई मिनेट ४६.९४ सेकेन्डसहित कांस्य जितिन्।
महिला १०० मिटर बटरफ्लाईमा आर्मीकी डुआनाले एक मिनेट १०.४३ सेकेन्डसहित स्वर्ण जितिन्। एनआरएनएकी लिलीले एक मिनेट १२.०३ सेकेन्डसहित रजत र पुलिसकी देभान्सीले एक मिनेट १६.२६ सेकेन्डसहित कांस्य जितिन्।
महिला २०० मिटर ब्रेस्टस्ट्रोकमा पनि डुआनाले दुई मिनेट ४९.३४ सेकेन्डसहित स्वर्ण जितिन्। एनआरएनएकी लिलीले दुई मिनेट ५८.६४ सेकेन्डसहित रजत र आर्मीकी रितिका भूमिले तीन मिनेट ०३.५२ सेकेन्डसहित कांस्य जितिन्।
महिला ५० मिटर ब्याकस्ट्रोकमा एनआरएनएकी मिखाले ३३.२७ सेकेन्डसहित स्वर्ण जित्दा बागमतीकी आर्या महर्जनले ३३.४३ सेकेन्डसहित रजत र पुलिसकी देभान्सीले ३४.११ सेकेन्डसहित कांस्य जितिन्।
महिला चार गुणा २०० मिटर फ्रिस्टाइल रिलेमा आर्मीले नौ मिनेट ५८.७३ सेकेन्डसहित स्वर्ण जित्यो। बागमतीले १० मिनेट ०७.५२ सेकेन्डसहित रजत र पुलिसले १० मिनेट ४१.८६ सेकेन्डसहित कांस्य जित्यो।
बिहीबारको अन्तिम इभेन्ट महिला चार गुणा ५० मिटर मिड्ले रिलेमा आर्मीले एक मिनेट ५६.०८ सेकेन्डसहित स्वर्ण जित्यो। बागमतीले एक मिनेट ५७.५३ सेकेन्डसहित रजत र पुलिसले एक मिनेट ५८.६४ सेकेन्डसहित कांस्य जित्यो।
प्रतिक्रिया 4