+
+
Shares
विचार :

किन रित्तिँदै छन् गाउँका सामुदायिक विद्यालय ?

ग्रामीण घरपरिवारको बदलिँदो अर्थतन्त्र, अवसरको असमान भौगोलिक वितरण तथा औपचारिक शिक्षा र स्थानीय उत्पादन–ज्ञान प्रणालीबीचको टुट्दो सम्बन्धले सामुदायिक विद्यालयको सामाजिक आधार बदल्दै छ ।

राम गुरुङ राम गुरुङ
२०८३ मंसिर ११ गते १३:०४

गत वर्ष लमजुङ जिल्लाका दुई स्थानीय तहमा सामुदायिक विद्यालयको आवधिक शिक्षा योजना निर्माण गर्ने अवसर मिलेको थियो। विद्यालयको अवस्था बुझ्ने क्रममा शिक्षा व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) का अभिलेख अध्ययन गर्दा पछिल्लो सातादेखि दस वर्षमा विद्यार्थी सङ्ख्या उल्लेख्य रूपमा घटेको देखियो ।

एउटा विद्यालयमा ७८७ विद्यार्थीबाट घटेर २४८ जना र अर्कोमा ७८ जनाबाट घटेर पाँचजना मात्र बाँकी थिए।

गाउँका घरपरिवारमा पुगेर अवस्था बुझ्दा करिब चार घरमध्ये एउटा घरमा मात्र विद्यालय जाने उमेरका बालबालिका भेटिए।

प्लस टु पढ्ने उमेर समूहका किशोरकिशोरीको उपस्थिति पनि निकै कम थियो।

यी अवलोकनले विद्यालयमा विद्यार्थी घट्नु र ग्रामीण घरपरिवारको बदलिँदो संरचनाबीच सम्बन्ध हुन सक्ने प्रश्न उठाए।

गाउँमा रोजगारी, जीविकोपार्जन, बसोबास र पारिवारिक श्रमविन्यास परिवर्तन भइरहेका छन् भने त्यसको प्रभाव विद्यालयमा पर्दैन र ?  शैक्षिक योजना बनाउँदा विद्यालयको भौतिक अवस्था, शिक्षक व्यवस्थापन र शैक्षिक गुणस्तर मात्र हेरेर पुग्छ कि विद्यालयलाई विद्यार्थी उपलब्ध गराउने घरपरिवारको सामाजिक तथा आर्थिक अवस्थालाई पनि बुझ्नुपर्छ ?

ग्रामीण सामुदायिक विद्यालयमा विद्यार्थी घट्नु जनसङ्ख्या घटेको, परिवार बसाइँ सरेको वा विद्यालय व्यवस्थापन कमजोर भएको परिणाममा मात्र सीमित छैन।

रोजगारी, बजार र आर्थिक अवसर सहरी तथा अर्धसहरी क्षेत्रमा केन्द्रित हुँदै जाँदा घरपरिवारको आयस्रोत, श्रम विभाजन र बसोबासको व्यवस्था बदलिएको छ। यसले बालबालिकाको भौगोलिक वितरण र विद्यालयको सामाजिक आधारलाई पनि प्रभावित गरेको छ।

त्यस्तै, कृषि, पशुपालन र घरेलु उत्पादनमा आधारित पुस्तान्तरण हुने ज्ञान तथा सीप र औपचारिक शिक्षाले निर्माण गर्ने ज्ञान, योग्यता तथा रोजगारीका आकाङ्क्षाबीचको सम्बन्ध पनि परिवर्तन हुँदै छ।

यस लेखले ग्रामीण सामुदायिक विद्यालयको विद्यार्थी भर्ना दरमा आएको गिरावटलाई ग्रामीण घरपरिवारको आर्थिक रूपान्तरण, अवसरको असमान भौगोलिक वितरण र औपचारिक शिक्षा तथा स्थानीय उत्पादन–ज्ञान प्रणालीबीचको बदलिँदो सम्बन्धका आधारमा विश्लेषण गर्छ।

सामुदायिक विद्यालयको अवधारणा र विकास

सामुदायिक विद्यालयको सामाजिक आधार स्थानीय समुदायको सामूहिक पहल र स्रोत परिचालनमा बनेको थियो।

राज्यको विस्तारले यसको संस्थागत संरचना परिवर्तन गर्‍यो र अहिले ग्रामीण घरपरिवारको आर्थिक, जनसाङ्ख्यिक तथा भौगोलिक रूपान्तरणले विद्यालयलाई टिकाइराख्ने त्यही सामाजिक आधार बदलिरहेको छ।

सामुदायिक विद्यालयको अवधारणा स्थानीय समुदायको पहुँच, सहभागिता र सामूहिक स्वामित्वसँग जोडिएको छ। यसको एउटै विश्वव्यापी सुरुआत वा ढाँचा छैन।

अमेरिकामा उन्नाइसौँ शताब्दीको अन्त्यतिर औद्योगिकीकरण, सहरीकरण र आप्रवासनका कारण उत्पन्न सामाजिक समस्याको सन्दर्भमा यसको विकास भयो।

सन् १८८९ मा जेन एडम्सले स्थापना गरेको हल हाउस र सन् १९०२ मा जोन ड्युईले अघि सारेको विद्यालयलाई सामाजिक केन्द्र बनाउने विचारले यसलाई विस्तार गर्न योगदान गरे।

उल्लिखित विचारले, मार्टिन जे. ब्ल्याङ्क, एटेलिया मेलाभिल र बेला पी. शाह (२००३) का अनुसार, सन् १९७० को दशकमा कम्युनिटी स्कुल एक्टका रूपमा मान्यता पाएको थियो। सार्वजनिक विद्यालय राज्यको जिम्मेवारीमा सञ्चालित हुन्छ भने सामुदायिक विद्यालयमा स्थापना, सञ्चालन र व्यवस्थापनमा स्थानीय समुदायको भूमिका महत्त्वपूर्ण हुन्छ।

नेपालमा सामुदायिक विद्यालयको ऐतिहासिक आधार राज्यको योजनाबद्ध विद्यालय विस्तारभन्दा पहिले स्थानीय समुदायको शैक्षिक आकाङ्क्षा र सामूहिक स्रोत परिचालनमा बनेको थियो।

राणा शासनको अन्त्यसम्म औपचारिक शिक्षा सीमित वर्गको पहुँचमा थियो। २००७ सालको राजनीतिक परिवर्तनपछि स्थानीय अगुवा, अभिभावक र दाताहरूको पहलमा विद्यालय स्थापना गर्ने क्रम विस्तार भयो।

विश्व बैंकको ‘एजुकेसन फर अल’ कार्यक्रमसम्बन्धी मूल्याङ्कनले समुदायको यस्तो पहललाई नेपालको शैक्षिक विस्तारको महत्त्वपूर्ण आधार मानेको छ।

यद्यपि, प्रारम्भिक विद्यालयहरूमा जातीय तथा सामाजिक पहुँचको असमानता थियो। यसले सामुदायिक पहल र समावेशी शैक्षिक पहुँच सधैँ समानार्थी थिएनन् भन्ने देखाउँछ।

राज्यको शैक्षिक विस्तारले विद्यालय सञ्चालनको संस्थागत जिम्मेवारी र व्यवस्थापन संरचनालाई समुदायबाट राज्यतर्फ विस्तार गर्‍यो।

विशेषगरी, २०२८ सालको शिक्षा ऐन र राष्ट्रिय शिक्षा पद्धतिको योजनाले विद्यालय व्यवस्थापन, वित्तीय प्रणाली, पाठ्यक्रम, शिक्षक सेवा र शैक्षिक निरीक्षणमा राज्यको भूमिका बढाउँदै शिक्षा प्रणालीलाई केन्द्रीकृत गर्‍यो।

बालबालिकाको वास्तविक बसोबास, विद्यालयसम्मको दूरी, भौगोलिक कठिनाइ र सामाजिक रूपमा पछाडि परेका समुदायको पहुँचलाई समेत आधार बनाउनुपर्छ।

विश्व बैंकको ऐतिहासिक समीक्षाले सन् १९७१ पछिको अवधिमा विद्यालयको शासन र वित्तीय जिम्मेवारी स्थानीय समुदायबाट शिक्षा मन्त्रालय तथा सरकारी निकायमा सरेको उल्लेख गर्छ ।

यसले विद्यालय विस्तारसँगै शिक्षा सञ्चालनमा समुदाय र राज्यबीचको जिम्मेवारीसमेत पुनर्वितरण गर्‍यो।

२०४६ सालपछिको विकेन्द्रीकरण र २०५८ सालको शिक्षा ऐनको सातौँ संशोधनले विद्यालय व्यवस्थापनमा समुदायको भूमिकालाई पुनः संस्थागत गर्ने प्रयास गर्‍यो।

स्थानीय स्वशासन ऐन, २०५५ ले स्थानीय निकायको भूमिका विस्तार गर्ने आधार तयार गर्‍यो भने शिक्षा ऐनको सातौँ संशोधनले विद्यालय व्यवस्थापन समितिको भूमिकालाई कानुनी आधार प्रदान गर्‍यो।

त्यसपछि इच्छुक विद्यालयलाई समुदायको व्यवस्थापनमा हस्तान्तरण गर्ने नीतिगत अभ्यास अघि बढ्यो।

तर सामुदायिक विद्यालयको कानुनी पहिचान र समुदायबाट प्रत्यक्ष व्यवस्थापन भएका विद्यालयबीच भिन्नता छ।

विद्यालय व्यवस्थापन हस्तान्तरणसम्बन्धी अध्ययनहरूले पनि नीतिगत उद्देश्य र कार्यान्वयनबीच चुनौती रहेको देखाएका छन्।

यस ऐतिहासिक प्रक्रियाले सामुदायिक विद्यालयको वर्तमान अवस्थालाई विद्यालयको आन्तरिक व्यवस्थापनको प्रश्नमा मात्र सीमित गर्न नमिल्ने देखाउँछ।

स्थानीय समुदायले विद्यालय स्थापना गर्दा घरपरिवार, जनसङ्ख्या, बसोबास र जीविकोपार्जनको संरचनाले विद्यालयलाई विद्यार्थी, श्रम, आर्थिक सहयोग र सामाजिक आधार उपलब्ध गराउँथ्यो।

राज्यको केन्द्रीकरण र सामुदायिक सहभागिता विस्तार गर्ने प्रयासले विद्यालयको संस्थागत संरचना परिवर्तन गरे पनि यसको सामाजिक आधार स्थानीय समुदायमै रह्यो।

अहिले ग्रामीण घरपरिवारको आर्थिक आधार, रोजगारी, बसोबास र जनसाङ्ख्यिक संरचना बदलिँदै छन्। त्यसैले विद्यार्थी घट्नु विद्यालयको व्यवस्थापन वा शैक्षिक गुणस्तरको प्रश्न मात्र होइन, विद्यालयलाई निरन्तरता दिने ग्रामीण समुदायको सामाजिक तथा आर्थिक आधारमा आएको परिवर्तनसँग पनि जोडिएको छ।

सामुदायिक विद्यालयको वर्तमान अवस्था

सामुदायिक विद्यालयमा विद्यार्थी घट्नुको अर्थ शिक्षामा बालबालिकाको सहभागिता घट्नु मात्र होइन, उनीहरूको भौगोलिक वितरण र विद्यालय छनोट बदलिनु पनि हो।

परिवारको बसाइँसराइ, सहरी तथा अर्धसहरी क्षेत्रमा बसोबास गर्ने प्रवृत्ति र सामुदायिकबाट संस्थागत विद्यालयतर्फको स्थानान्तरणले कुनै गाउँको विद्यालयमा विद्यार्थी घटाउन सक्छ, जबकि ती बालबालिका विद्यालय शिक्षाबाट बाहिरिएका नहुन पनि सक्छन्।

नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०२२) ले आधारभूत तहमा भएको विद्यार्थीको खुद उपस्थिति दर ९६.२ प्रतिशत देखाए पनि माध्यमिक तहमा रहेको उपस्थिति उल्लेख्य रूपमा कम रहेको देखाउँछ।

यसले विद्यालयको भर्ना र समग्र शैक्षिक सहभागितालाई एउटै सूचकका रूपमा बुझ्न नमिल्ने स्पष्ट पार्छ।

ग्रामीण सामुदायिक विद्यालयको विद्यार्थी आधार कमजोर हुनु गाउँको जनसङ्ख्या र घरपरिवारको भौगोलिक पुनर्वितरणसँग पनि जोडिएको छ।

रोजगारी, सेवा, बजार र शिक्षाका अवसर सहरी तथा अर्धसहरी केन्द्रमा केन्द्रित हुँदा अभिभावकसँगै बालबालिका पनि बसाइँ सर्न सक्छन् वा पढाइका लागि गाउँबाहिर रहन सक्छन्।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विवरणअनुसार २७,२९८ सामुदायिक विद्यालयमध्ये ५५.९ प्रतिशतमा १०० भन्दा कम विद्यार्थी छन्।

कर्णाली र प्युठानका विद्यालयमा विद्यार्थी अत्यन्त न्यून भएको तथा शिक्षकको सङ्ख्या विद्यार्थीभन्दा बढी भएको समाचारले यस प्रवृत्तिको स्थानीय स्वरूप देखाउँछ।

विद्यालय छनोटमा घरपरिवारको आर्थिक क्षमता र शिक्षासम्बन्धी सामाजिक आकाङ्क्षाले सामुदायिक तथा संस्थागत विद्यालयबीच विद्यार्थीको असमान वितरण सिर्जना गर्छ।

परिवारले विद्यालय छनोट गर्दा शुल्क तिर्न सक्ने क्षमता मात्र होइन, अङ्ग्रेजी माध्यम, सामाजिक प्रतिष्ठा, शैक्षिक उपलब्धि र भविष्यको रोजगारीसम्बन्धी अपेक्षालाई पनि महत्त्व दिन्छन्। चौथो जीवनस्तर सर्वेक्षणअनुसार गरिब परिवारका ९०.८ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययन गर्छन् भने आर्थिक रूपमा राम्रै अवस्था रहेका परिवारका ५५.९ प्रतिशत विद्यार्थी संस्थागत विद्यालयमा छन्।

प्रियदर्शनी जोशी (२०१४) को अध्ययनले पनि नेपालमा विद्यालय छनोट सामाजिक वर्ग र सार्वजनिक शिक्षाप्रतिको धारणासँग जोडिएको देखाउँछ।

घरपरिवारको जीविकोपार्जनमा आएको परिवर्तनले विद्यालयको सामाजिक आधारसँगै बालबालिकाको दैनिक सिकाइ र पुस्तान्तरण हुने ज्ञानको सम्बन्ध पनि पुनर्गठन गर्छ।

कृषि, पशुपालन र घरेलु उत्पादनसँगै ज्याला रोजगारी, वैदेशिक रोजगारी र गैरकृषि गतिविधिमा परिवारको संलग्नता बढ्दा श्रम विभाजन, बालबालिकाको हेरचाह र बसोबासका व्यवस्था पनि बदलिन सक्छन्।

चौथो जीवनस्तर सर्वेक्षणले पनि घरपरिवारको आयमा ज्यालाको हिस्सा ३३.१ प्रतिशत र कृषि आयको हिस्सा १६.८ प्रतिशत रहेको देखाउँछ। यसले घरपरिवारको आर्थिक आधार विविध भएको सङ्केत गर्छ।

त्यसैले सामुदायिक विद्यालयमा विद्यार्थी घट्नु ग्रामीण अर्थतन्त्र, घरपरिवारको पुनर्संरचना र औपचारिक शिक्षा तथा स्थानीय ज्ञान प्रणालीबीचको बदलिँदो सम्बन्धको विषय हो।

घरपरिवारको अर्थतन्त्र र विद्यार्थीको घट्दो क्रम

सामुदायिक विद्यालयमा विद्यार्थी घट्नु ग्रामीण जनसङ्ख्याको सङ्कुचन मात्र होइन, विद्यालयलाई सामाजिक आधार प्रदान गर्ने घरपरिवारको आर्थिक संरचना, श्रम सम्बन्ध र बसोबासको भौगोलिक स्वरूपमा आएको परिवर्तनको सङ्केत हो।

परम्परागत रूपमा कृषि, पशुपालन र घरेलु उत्पादनमा आधारित ग्रामीण घरपरिवारको जीविकोपार्जन, श्रम विभाजन र बालबालिकाको दैनिक जीवन एउटै स्थानीय भूगोलमा जोडिएका थिए।

तर ज्याला मजदुरी, वैदेशिक रोजगारी, गैरकृषि व्यवसाय र सेवा क्षेत्रमा बढ्दो संलग्नताले परिवारका आयस्रोत मात्र होइन, सदस्यहरूको बसोबास, हेरचाह र पारिवारिक जिम्मेवारीसमेत पुनर्गठित गरेको छ।

राष्ट्रिय योजना आयोगको सोह्रौँ योजना (२०२४) ले आन्तरिक रोजगारीको सीमितता, असन्तुलित बसाइँसराइ र स्थानीय उत्पादन तथा उद्यमशीलताको कमजोर अवस्थालाई विकासका चुनौतीका रूपमा पहिचान गरेको छ। त्यसैगरी विश्व बैंकको ‘नेपाल कन्ट्री इकोनोमिक मेमोरेन्डम २०२५’ ले पनि सीमित घरेलु रोजगारी र वैदेशिक श्रम आप्रवासनबीचको संरचनात्मक सम्बन्ध औँल्याएको छ।

यसले ग्रामीण विद्यालयको विद्यार्थी आधार बुझ्न विद्यालय रहेको भूगोल मात्र नभई त्यसलाई टिकाइराख्ने घरपरिवारको आर्थिक आधार पनि विश्लेषण गर्नुपर्ने देखाउँछ।

घरपरिवारको आर्थिक रूपान्तरणले बालबालिकाको बसोबास र विद्यालय छनोटलाई पुनर्गठित गर्छ। अभिभावक रोजगारीका लागि सहर वा विदेशमा रहँदा बालबालिका उनीहरूसँगै बसाइँ सर्न सक्छन् अथवा गाउँमै आफन्तको हेरचाहमा रहन सक्छन्।

यसै सन्दर्भमा फानविन योङकिङ, सुमित सक्सेना र जेफरसन फक्स (२०२३) ले नेपालको श्रम सर्वेक्षणमा आधारित अध्ययनबाट परिवारको एक सदस्य बाहिरिँदा घरमा रहने महिलाको कृषि, घरेलु तथा हेरचाहसम्बन्धी श्रम बढ्ने र महिलाको गैरकृषि जिम्मेवारीसमेत विस्तार हुने देखाएका छन्।

चक्रपाणि आचार्य र रोबर्टो लेओन–गोन्जालेज (२०१९) ले ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रमा बसाइँ सरेका विप्रेषण प्राप्त गर्ने परिवारले बालबालिकाको शिक्षामा तुलनात्मक रूपमा बढी लगानी गर्ने र गुणस्तरीय शिक्षाको खोजी बसाइँसराइको एउटा महत्त्वपूर्ण प्रेरणा हुने देखाएका छन्।

यी निष्कर्षले गाउँमा घरजग्गा र पारिवारिक सम्बन्ध कायम रहँदैमा विद्यालय जाने उमेरका बालबालिका पनि गाउँमै रहन्छन् भन्ने सुनिश्चित नहुने देखाउँछन्।

औपचारिक शिक्षाले स्थानीय जीविकोपार्जनभन्दा व्यापक श्रमबजारतर्फ उन्मुख भविष्यको आकाङ्क्षा निर्माण गर्दा विद्यालय र स्थानीय उत्पादन प्रणालीबीचको सम्बन्ध पनि पुनर्विचार गर्नुपर्ने हुन्छ।

मार्क शेफर र कृष्ण पी. पौडेल (२०२४) ले चितवनमा गरेको अध्ययनले पनि आप्रवासनसँग जोडिएका बहुपुस्तीय तथा विभाजित घरपरिवारका रणनीतिले बालबालिकाको शैक्षिक लगानी र जातीय असमानताको अनुभवलाई फरक ढङ्गले प्रभावित गर्ने देखाएको छ।

यसले शिक्षासम्बन्धी निर्णयलाई परिवारको संरचनाबाट अलग राख्न नमिल्ने देखाउँछ। कक्षा ९–१० को सामाजिक अध्ययन पाठ्यक्रम, २०८२ ले कृषि, पर्यटन, उद्यमशीलता र परम्परागत ज्ञान समेटेको छ।

तर यी विषय स्थानीय उत्पादन र बजारसँग जोडिएर सिकाइन्छन् कि सिकाइँदैनन् भन्ने महत्त्वपूर्ण प्रश्न हो।

यसबाट दुई विश्लेषणात्मक निष्कर्ष निस्कन्छन्। पहिलो, विद्यार्थी घट्नु ग्रामीण घरपरिवारको आर्थिक तथा भौगोलिक पुनर्संरचनासँग सम्बन्धित छ।

दोस्रो, औपचारिक शिक्षा, पुस्तागत ज्ञान र स्थानीय आर्थिक अवसरबीचको सम्बन्ध कमजोर हुँदा विद्यालयको सामाजिक आधार परिवर्तन हुन्छ। त्यसैले विद्यालय पुनर्संरचना विद्यार्थी सङ्ख्यामा मात्र आधारित नभई घरपरिवारको बसोबास, रोजगारी, बालबालिकाको वास्तविक पहुँच र स्थानीय उत्पादन प्रणालीलाई समेत समेटेर गरिनुपर्छ।

सामुदायिक विद्यालयको नीतिगत चुनौती

सामुदायिक विद्यालयमा विद्यार्थी घट्नु शिक्षा नीतिको कार्यान्वयनगत कमजोरी मात्र होइन; बदलिँदो ग्रामीण घरपरिवार, अर्थतन्त्र र भौगोलिक गतिशीलताअनुसार शिक्षा प्रणाली अनुकूलित हुन नसकेको संस्थागत चुनौती पनि हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यालय शिक्षा क्षेत्र योजना २०२२–२०३२ ले पहाडी तथा हिमाली क्षेत्रमा जनसङ्ख्या घट्दै गएको, बसाइँसराइ र बस्तीको स्वरूप परिवर्तन भएको उल्लेख गर्दै विद्यालय नक्साङ्कन, समायोजन र पुनर्वितरणको आवश्यकता औँल्याएको छ।

तर जनसङ्ख्याको परिवर्तनलाई नीतिगत रूपमा स्वीकार गर्नु र त्यसले घरपरिवारको बसोबास, बालबालिकाको विद्यालय छनोट तथा स्थानीय सामाजिक सम्बन्धमा ल्याएको परिवर्तनलाई योजनामा समेट्नु फरक कुरा हुन्।

रोजगारी र आर्थिक अवसर सहर तथा अर्धसहरी क्षेत्रमा केन्द्रित हुँदै जाँदा गाउँमा घरजग्गा र पारिवारिक सम्बन्ध कायम रहे पनि बालबालिकाको दैनिक जीवन र शिक्षा गाउँबाहिर केन्द्रित हुन सक्छ।

त्यसैले विद्यालय योजना स्थायी जनसङ्ख्या र परम्परागत बस्तीको संरचनामा मात्र आधारित हुँदा विद्यालयको वास्तविक विद्यार्थी आधार पहिचान गर्न कठिन हुन्छ।

नीतिको कार्यान्वयनगत कमजोरी विद्यालयको आवश्यकता, शिक्षक दरबन्दी र स्रोत विनियोजनबीचको असन्तुलनमा देखिन्छ।

विद्यालय शिक्षा क्षेत्र योजनाले सन् २०२१ सम्म कक्षा ६–८ सञ्चालन गर्ने २,९८९ सामुदायिक विद्यालयमा स्वीकृत शिक्षक दरबन्दी नरहेको र ती विद्यालयले अनुदान वा समुदायको योगदानबाट शिक्षक व्यवस्थापन गर्नुपरेको उल्लेख गरेको छ।

विशेषतः रोजगारीका लागि बाहिर रहेका अभिभावक, गाउँमा बालबालिकाको हेरचाह गरिरहेका आफन्त र स्थानीय उत्पादनमा संलग्न घरपरिवारको बदलिँदो भूमिकालाई विद्यालय र स्थानीय सरकारको निर्णय प्रक्रियामा समेट्न आवश्यक छ।

यसले विद्यार्थी घटेका विद्यालयको समस्या शिक्षक बढी हुनु वा विद्यालय सञ्चालन खर्च बढ्नुमा सीमित नरहेको देखाउँछ।

कतै विद्यार्थी र शिक्षकको अनुपात असन्तुलित छ भने कतै आवश्यक विषयगत शिक्षक नै उपलब्ध छैनन्। त्यसैले विद्यालय समायोजन र शिक्षक दरबन्दी पुनर्वितरणलाई विद्यार्थी सङ्ख्याको यान्त्रिक गणनामा सीमित गर्नु हुँदैन।

बालबालिकाको वास्तविक बसोबास, विद्यालयसम्मको दूरी, भौगोलिक कठिनाइ र सामाजिक रूपमा पछाडि परेका समुदायको पहुँचलाई समेत आधार बनाउनुपर्छ।

नीतिगत अपर्याप्तता विद्यालयको संरचना पुनर्गठन गर्ने व्यवस्थाभन्दा ग्रामीण अर्थतन्त्र र स्थानीय उत्पादनसँग शिक्षाको सम्बन्ध पुनर्गठन गर्ने पक्षमा बढी देखिन्छ।

ग्रामीण घरपरिवारको कृषि, पशुपालन र घरेलु उत्पादनमा आधारित जीविकोपार्जन बदलिँदै जाँदा नयाँ पुस्ताको पेसागत आकाङ्क्षा र पुस्तान्तरण हुने ज्ञानसँगको सम्बन्ध पनि परिवर्तन भएको छ।

औपचारिक शिक्षाले व्यापक श्रमबजारमा प्रवेश गर्ने योग्यता र आकाङ्क्षा निर्माण गरे पनि स्थानीय अर्थतन्त्रमा रोजगारी, प्रविधि र उत्पादनका अवसर पर्याप्त नभएमा शिक्षा र स्थानीय जीविकोपार्जनबीच दूरी बढ्न सक्छ।

कक्षा ९–१० को सामाजिक अध्ययन पाठ्यक्रम, २०८२ ले कृषि, उद्योग, पर्यटन, वित्तीय साक्षरता, परम्परागत ज्ञान, स्वरोजगार र उद्यमशीलतालाई समेटेको छ।

विद्यालय शिक्षा क्षेत्र योजनाले पनि स्थानीय पाठ्यक्रम र व्यावहारिक सिकाइलाई प्राथमिकता दिएको छ। तर पाठ्यक्रममा स्थानीय विषयवस्तु समावेश हुनु र विद्यार्थीले आफ्नै घरपरिवारको उत्पादन, सीप, प्रविधि तथा बजारसँग जोडेर सिक्न पाउनु फरक कुरा हुन्।

स्थानीय सरकारलाई शैक्षिक जिम्मेवारी हस्तान्तरण गर्नु र बदलिँदो समाजअनुसार शिक्षा प्रणाली पुनर्गठन गर्न सक्ने क्षमता विकास गर्नु एउटै कुरा होइन।

नेपालको सामुदायिक विद्यालय शासनबारे प्रकाश खनाल (२०१३) ले समुदायको सहभागिताका लागि नीतिगत व्यवस्था भए पनि व्यवहारमा सहभागिता र निर्णय प्रक्रियाबीच अन्तर रहन सक्ने देखाएका छन्।

यसले विद्यालय व्यवस्थापन समितिमा अभिभावक तथा समुदायको उपस्थिति मात्र पर्याप्त नहुने, वास्तविक निर्णय क्षमता र स्रोत परिचालनमा उनीहरूको भूमिका पनि महत्त्वपूर्ण हुने देखाउँछ।

सङ्घीयतापछि स्थानीय तहमा शिक्षा व्यवस्थापनको जिम्मेवारी विस्तार भए पनि विद्यालय नक्साङ्कन, शिक्षक व्यवस्थापन, स्थानीय पाठ्यक्रम र बजेट विनियोजनलाई घरपरिवारको आर्थिक तथा सामाजिक अवस्थाको विश्लेषणसँग जोड्न आवश्यक छ।

अन्यथा अधिकारको विकेन्द्रीकरण प्रशासनिक जिम्मेवारी हस्तान्तरणमा सीमित हुन सक्छ।

यसबाट दुई नीतिगत निष्कर्ष निस्कन्छन्। पहिलो, सामुदायिक विद्यालयको पुनर्संरचना विद्यार्थी सङ्ख्या र शिक्षक दरबन्दीको व्यवस्थापनमा मात्र सीमित हुनु हुँदैन।

विद्यालय नक्साङ्कन र समायोजनमा बालबालिकाको वास्तविक बसोबास, घरपरिवारको रोजगारी, बसाइँसराइ, भौगोलिक पहुँच र सामाजिक असमानतालाई समेट्नुपर्छ।

दोस्रो, विद्यालयको शैक्षिक भूमिका स्थानीय अर्थतन्त्र र बदलिँदो श्रमबजारसँग जोडेर पुनर्विचार गर्नुपर्छ। कृषि, पशुपालन, घरेलु उत्पादन, स्थानीय सीप र उद्यमशीलतालाई व्यावहारिक सिकाइ तथा स्थानीय आर्थिक अवसरसँग जोड्ने व्यवस्था आवश्यक छ।

यसको उद्देश्य बालबालिकालाई गाउँमै बस्न बाध्य बनाउनु होइन; उनीहरूलाई स्थानीय ज्ञान र व्यापक शैक्षिक तथा पेसागत अवसरबीच सम्बन्ध स्थापित गर्न सक्षम बनाउनु हो।

सामुदायिक विद्यालयको पुनर्संरचना

सामुदायिक विद्यालयको पुनर्संरचना विद्यार्थी सङ्ख्या घटेका विद्यालय बन्द गर्ने, गाभ्ने वा शिक्षक दरबन्दी कटौती गर्ने प्रशासनिक प्रक्रियामा सीमित हुनु हुँदैन। यसको मूल उद्देश्य बदलिँदो ग्रामीण घरपरिवार, अर्थतन्त्र र सामाजिक सम्बन्धअनुसार सार्वजनिक शिक्षाको संस्थागत स्वरूप पुनर्गठन गर्नु हो।

रोजगारी र आर्थिक अवसरको भौगोलिक केन्द्रीकरण, घरपरिवारको पेसागत विविधीकरण, बसाइँसराइ र बालबालिकाको बदलिँदो बसोबासले विद्यालयको परम्परागत विद्यार्थी आधार परिवर्तन गरेको छ।

त्यसैले स्थानीय तहले शैक्षिक योजना निर्माण गर्दा विद्यार्थी सङ्ख्यालाई मात्र आधार नबनाई घरपरिवारको वास्तविक बसोबास, रोजगारी, बसाइँसराइ, बालबालिकाको हेरचाह र विद्यालयसम्मको भौगोलिक पहुँचसमेत विश्लेषण गर्नुपर्छ।

विद्यालयको स्थान, सेवा क्षेत्र र समायोजनसम्बन्धी निर्णयमा छरिएका बस्ती, दुर्गम भूगोल र सामाजिक रूपमा पछाडि परेका समुदायका बालबालिकाको पहुँच सुनिश्चित गर्नुपर्छ।

शिक्षक व्यवस्थापन पनि विद्यार्थी सङ्ख्याका साथै तहगत आवश्यकता, विषयगत दक्षता र भौगोलिक अवस्थासँग जोडिनुपर्छ।

विद्यालयको पुनर्संरचनाले भौतिक पहुँचसँगै शिक्षाको सामाजिक तथा आर्थिक सान्दर्भिकतालाई पनि सम्बोधन गर्नुपर्छ।

कृषि, पशुपालन, घरेलु उत्पादन, स्थानीय सीप र पुस्तान्तरण हुँदै आएका ज्ञान ग्रामीण घरपरिवारको जीविकोपार्जनका आधार मात्र होइनन्, स्थानीय समाजको उत्पादनशील क्षमता र सांस्कृतिक निरन्तरताका स्रोत पनि हुन्।

तर औपचारिक शिक्षा र स्थानीय उत्पादन प्रणालीबीच सम्बन्ध स्थापित हुन नसक्दा नयाँ पुस्ताले विद्यालयमा प्राप्त गर्ने ज्ञान र आफ्नै समुदायमा उपलब्ध आर्थिक अवसरबीच दूरी बढ्न सक्छ। त्यसैले स्थानीय ज्ञानलाई पाठ्यक्रममा उल्लेख गर्नु मात्र पर्याप्त हुँदैन।

सामुदायिक विद्यालयमा विद्यार्थी घट्नुको प्रश्नलाई विद्यालयको सङ्ख्या, भर्ना अभियान वा स्रोत व्यवस्थापनमा मात्र सीमित गर्न मिल्दैन।

त्यसलाई नयाँ प्रविधि, वैज्ञानिक ज्ञान, बजार, उद्यमशीलता र व्यापक रोजगारीका अवसरसँग जोडेर व्यावहारिक सिकाइ विकास गर्नुपर्छ।

यसको उद्देश्य बालबालिकालाई गाउँमै बस्न बाध्य बनाउनु वा परम्परागत पेसामा सीमित गर्नु होइन; उनीहरूलाई स्थानीय स्रोत र सीपको सम्भावना बुझ्दै आफ्नो भविष्यबारे विविध विकल्पसहित निर्णय गर्न सक्षम बनाउनु हो।

यस्तो पुनर्संरचनाका लागि स्थानीय सरकार, विद्यालय, घरपरिवार र समुदायबीचको सम्बन्धलाई पनि पुनर्गठन गर्नुपर्छ।

स्थानीय सरकारको भूमिका विद्यालय समायोजन, बजेट विनियोजन र शिक्षक व्यवस्थापनमा मात्र सीमित नभई स्थानीय आर्थिक तथा सामाजिक अवस्थाको विश्लेषणका आधारमा शैक्षिक योजना निर्माण गर्नुमा केन्द्रित हुनुपर्छ।

विद्यालय व्यवस्थापनमा अभिभावक र समुदायको सहभागिता औपचारिक प्रतिनिधित्वमा मात्र सीमित नराखी योजना निर्माण, स्रोत परिचालन र शैक्षिक निर्णयमा वास्तविक भूमिका सुनिश्चित गर्नुपर्छ।

विशेषतः रोजगारीका लागि बाहिर रहेका अभिभावक, गाउँमा बालबालिकाको हेरचाह गरिरहेका आफन्त र स्थानीय उत्पादनमा संलग्न घरपरिवारको बदलिँदो भूमिकालाई विद्यालय र स्थानीय सरकारको निर्णय प्रक्रियामा समेट्न आवश्यक छ।

अन्ततः सामुदायिक विद्यालयको पुनर्संरचनाको सफलता विद्यालयको सङ्ख्या घटाउन वा सञ्चालन खर्च कम गर्न सकियो कि सकिएन भन्ने आधारमा मात्र मापन गर्नु हुँदैन।

त्यसले बदलिँदो ग्रामीण समाजमा सार्वजनिक शिक्षाको पहुँच, गुणस्तर र सान्दर्भिकता कायम गर्न सक्यो कि सकेन भन्ने आधारमा मूल्याङ्कन गर्नुपर्छ।

यसका लागि बालबालिकाको वास्तविक शैक्षिक पहुँच, घरपरिवारको विश्वास, स्थानीय समुदायको स्वामित्व र राज्यको सार्वजनिक उत्तरदायित्वलाई पुनर्स्थापित गर्नुपर्छ।

सामुदायिक विद्यालयको भविष्य विद्यालयको भौतिक संरचना जोगाउनुमा मात्र होइन, त्यसलाई सामाजिक आधार दिने घरपरिवार, स्थानीय अर्थतन्त्र र बदलिँदो पुस्तागत आकाङ्क्षासँग पुनः जोड्नुमा निर्भर छ।

विद्यालय र गाउँको भविष्य

सामुदायिक विद्यालयको भविष्य विद्यालयभित्रको व्यवस्थापन, शिक्षक दरबन्दी र भौतिक पूर्वाधारले मात्र निर्धारण गर्दैन।

त्यसको सामाजिक आधारका रूपमा रहेका घरपरिवारको आर्थिक अवस्था, रोजगारीका अवसर, बसोबासको स्वरूप, उत्पादन प्रणाली र सामाजिक सम्बन्धले पनि विद्यालयको निरन्तरता र सान्दर्भिकता निर्धारण गर्छन्।

ग्रामीण घरपरिवारको जीविकोपार्जन र बालबालिकाको भविष्यप्रतिको आकाङ्क्षा बदलिँदै जाँदा विद्यालयसँगको सम्बन्ध पनि बदलिन्छ।

त्यसैले सामुदायिक विद्यालयमा विद्यार्थी घट्नुको प्रश्नलाई विद्यालयको सङ्ख्या, भर्ना अभियान वा स्रोत व्यवस्थापनमा मात्र सीमित गर्न मिल्दैन।

यो ग्रामीण अर्थतन्त्रको रूपान्तरण, घरपरिवारको पुनर्संरचना, पुस्तान्तरण हुने ज्ञान र सीप तथा सार्वजनिक शिक्षा नीतिबीचको बदलिँदो सम्बन्धको प्रश्न हो।

विद्यालयको भविष्य सुरक्षित गर्ने बहस त्यसैले गाउँको आर्थिक, सामाजिक र संस्थागत भविष्यबारेको बहसबाट अलग हुन सक्दैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?