+
+
Shares

राराब क्याम्पसको २० करोड शुल्क घोटाला प्रकरण : फाइल पुग्यो अख्तियार

विद्यार्थीको शुल्कमा घोटाला भएको पाइएपछि त्रिविले समिति बनाएर छानिबन गरेको थियो । अनलाइनखरले प्राप्त गरेको डकुमेन्टमा राराबमा २० करोडभन्दा बढी विद्यार्थीको शुल्कमा भ्रष्टाचार भएको देखिएको छ ।

दिनेश गौतम दिनेश गौतम
२०८३ मंसिर ११ गते १३:५७

११ मंसिर, काठमाडौं । धनुषाको जनकपुरधामस्थित त्रिभुवन विश्वविद्यालयको रामसागर रामस्वरूप बहुमुखी (राराब) क्याम्पसको शुल्क घोटालाको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको छ ।

विद्यार्थीको शुल्कमा घोटाला भएको पाइएपछि त्रिविले समिति बनाएर छानिबन गरेको थियो । अनलाइनखरले प्राप्त गरेको डकुमेन्टमा राराबमा २० करोडभन्दा बढी विद्यार्थीको शुल्कमा भ्रष्टाचार भएको देखिएको छ ।

त्रिवि अधिकारीका अनुसार छानबिन प्रतिवेदनमा थप अनुसन्धान गरी दोषीलाई कारबाही गर्न अख्तियारलाई जिम्मा लगाइएको हो ।

‘त्रिवि आफैंले छानबिन गरेको हो । तर शुल्कमा ठूलो रकम अनियमिताता भएको देखियो । यसमा अख्तियारले नै थप अनुसन्धान गर्नुपर्ने भएकाले प्रतिवेदन अख्तयारलाई दिएका छौँ,’ त्रिवि केन्द्रीय कार्यालयका एक अधिकारीले भने । उनका अनुसार अख्तियारले शुल्क घोटालाबारे थप अनुसन्धान गरिरहेको छ ।

त्रिविले अनुसन्धानको लागि दुई पटक छुट्टाछुट्टै समिति बनाएर खटाएको थियो । पहिलो टोलीको छानबिन चित्त नबुझेपछि दोस्रो समिति बनाइएको थियो ।

दोस्रो समितिले गरेको छानबिमा ६ करोड २४ लाख अनियमितता भएको  र १४ करोड बराबरको रसिद फेला नपरेको प्रतिवेदन तयार गरेको थियो ।

छानबिनको लागि दोस्रो टोली २०८३ वैशाख ६ गते राराब क्याम्पस जनकपुर पुगेको थियो । उक्त समितिले ७ गतेदेखि अध्ययन थालेको थियो ।

समितिले पहिलो पटक २६ वैशाखसम्मको समय पाएको थियो । तथ्य तथ्यांक संकलन गर्न समय लागेपछि समितिको समय थप गरिएको थियो ।

उक्त समितिले ७५ दिन लगाएर प्रतिवेदन तयार पारेको थियो । उक्त समितिले तयार पारेको प्रतिवेदन त्रिवि नेतृत्वलाई बुझाएको छ ।

समितिले अनुसन्धानको काम जनकुरमै बसेर गरेको थियो तर पछि सुरक्षा जोखिम बढेपछि प्रतिवेदन लेखनको काम भने काठमाडौं आएर गरेको थियो ।

घोटाला भएको ठहर, कारबाहीको सिफारिस

छानबिन समितिले उक्त क्याम्पसमा विद्यार्थीको शुल्कमा घोटाला भएको ठहर गरेको छ । घोटाला गर्नेबाट रकम फिर्ता लिइ कारबाही गर्न सिफारिस गरेको छ ।

‘व्यापकरुपमा विगत लामो समयदेखि निरन्तररुपमा कुनै कानूनको डर नमानी निडर भएर हिनामिना गर्ने मनसायका साथ विद्यार्थीहरुलाई बैंकमा रकम जम्मा गर्नमा समेत निरुत्साहित गरी नगद बुझिलिने र सो बुझिलिएको रकम समेत जालसाजी भएको छ,’ प्रतिवेदनको निष्कर्ष छ, ‘सरकारी कागजातको दुरुपयोग गरी रसिद काट्दा पहिलो र दोश्रो पानमा फरकफरक रकम उल्लेख गर्ने र आफुलाई इच्छा लागे जति रकम अपचलन गर्ने गरेको स्पष्ट हुन्छ ।’

मुलतः क्याम्पसको आन्तरिक कार्यक्रमतर्फ बीए, बीबीए, बीआईटी, सीएसआईटी, बीएस्सी लगायतको शुल्कमा घोटाला भएको हो ।

रसिद काट्दा विद्यार्थीलाई दिने रसिदमा एउटा र क्याम्पसको कार्यालय कपी (ओसी) मा अर्को शुल्क राख्ने गरेको पाइएको छ । अनेक चलाखी गरेर रसिद काट्ने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनले शुल्क घोटालालाई गम्भीर अपराध भनेको छ ।

‘कुनै एक व्यक्तिकोमात्र हात नभई कुनै च्यानल नै सक्रिय भएको र विभिन्न शक्तिको आडमा तथ्य हालसम्म गुपचुप रहेको छ,’ छानबिन समितिले निष्कर्ष निकालेको छ ।

अनलाइनखबरले प्राप्त गरेको कागजातमा भने राराबका लेखा सहायम सञ्जय दासले काटेको रसिदमा हिनामिना भएो देखिएको छ । तर उनी एक्लैले यति ठूलो घोटाला गर्न नसक्ने निष्कर्ष प्रतिवेदनमा छ ।

समितिले ६ करोड २४ लाख रकम घोटाला भएको किटान गरेको छ भने बाँकी १४ करोड बरारबरको रसिद नभेटिएको भनेको छ ।

समितिले २०७७ साउन १ देखि २०८२ पुस मसान्तसम्मको मात्र छानबिन गरेको थियो । समितिले यसअघि पनि घोटाला भएको हुनसक्ने र थप छानबिन आवश्यक रहेको औंल्याएको छ ।

अनियमितता गरेको प्रमण लुकाउन २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनमा क्याम्पसको लेखा शाखा र क्याम्पस प्रमुखकको कार्यकक्षमा आगो लगाइएको थियो ।

आगोले जलेर धेरै रसिद बालेर नष्ट गरिएको छ । नष्ट गरिएको रसिदबाट कति घोटाला भएको छ भन्ने यकिन हुन सकेको छैन ।

यस घटनामा तत्कालीन क्याम्पस प्रमुख, लेखा प्रमुखका सार्थ लेखापरीक्षणमा खटिएका त्रिविको आन्तरिक र महालेखाको टोली पनि प्रश्नको घेरामा तानिएका छन् । यसरी समितिले समितिले प्रतिवेदन तयार पारेर नेतृत्वलाई बुझाएपछि त्रिविले अख्तियारलाई जिम्मा दिएको हो ।

दोषीलाई कारबाही हुन्छ : उपकुलपति थापा

घोटाला प्रकरण बाहिरिएपछि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले विद्यार्थीको शुल्क घोटाला गर्नेलाई कारबाही गर्ने बताएका छन् ।

‘छानबिन समितिले प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेदन अध्ययन गरिरहेका छौँ,’ उपकुलपति थापाले भने, ‘प्रतिवेदन अनुसार दोषीलाई त्रिवि र प्रचलित कानुन अनुसार कारबाही गर्छौं ।’

उपकुलपति थापाले आफूहरूको टिम आएपछि बेथिति लगायतका वस्तुस्थितिबारे जानकारीमा आउन थालेकाले अन्य ठाउँमा पनि शुल्क घोटालामा छानबिन गरिने बताए ।

‘राराबमा मात्र होइन । अन्य ठाउँमा पनि खोजी गरिरहेका छौँ । हाम्रो एजेन्डा नै त्रिविमा सुशासन कायम गर्ने हो । बेथितिका फाइल खोल्न सुरु भएको छ,’ उनले भने ।

त्रिविको नियममा पनि आर्थिक अनियमितता गर्ने कर्मचारीलाई बर्खास्त गर्नेसम्मको अधिकार छ । त्रिविको नियम अनुसार दोषीलाई कारबाही गर्ने प्रतिबद्धता उपकुलपति थापाले जनाएका हुन् । त्रिविमा विद्यार्थीको शुल्कमा भ्रष्टाचार भएको यो घटना अहिलेसम्मकै ठूलो हो ।

May be an image of text

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?