+

दशौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटतर्फ आर्मी सेमिफाइनलमा, कर्णाली बाहिरियो

२०८३ मंसिर  ११ गते १६:१७ २०८३ मंसिर ११ गते १६:१७

११ मंसिर, सुर्खेत । विभागीय टोली त्रिभुवन आर्मी क्लब दशौं राष्ट्रिय खेलकुद २०८३ अन्तर्गत महिला क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सहआयोजक कर्णाली प्रदेशलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । कर्णाली आफ्नो दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । कर्णाली यसअघि कोशी प्रदेशसँग पराजित भएको थियो ।

शुक्रबार वीरेन्द्रनगर रंगशालामा भएको प्रतियोगीतामा टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा चार विकेट गुमाउँदै १३८ रन बनायो । राष्ट्रिय टीमकी सदस्य आर्मीकी सम्झना खड्काले ५८ बल खेल्दै १० चौका मदतमा सर्वाधिक ६२ रन बनाइन् ।

यस्तै यशोदा विष्टले ३३ रन बनाउँदा कविता कुँवर ६ बलमा ११ रन बनाउँदै नटआउट रहिन् । आर्मीकी विन्दु रावलले ७ तथा रुवि पोदारले ५ रन थपिन् । आर्मीले २० रन अतिरिक्त पाएको थियो । कर्णालीका गंगा खड्का, रमा बुढाथोकी र सोना चन्द र किरणकुमारी कुँवरले एक–एक विकेट लिए ।

१३९ रनको लक्ष्य पछ्याएको कर्णाली ४१ रनमै अलआउट भयो । अन्तिमतरि ब्याटिङ गर्न आएकी कर्णालीकी जयन्ती चन्दले १० रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । कप्तान करुणा कुमारी कुँवर ८ रन बनाएर आउट हुँदा शिखा दवाडीले ६ रन बनाइन् । यस्तै रेखा सोनीले पाँच, रविना बुढामगरले तीन तथा उमा चौधरी, श्रुती बुढा र अञ्जु गुरुङले एक–एक रनमा आउट भए ।

कर्णालीलाई सस्तैमा समेट्ने क्रममा आर्मीकी मनिषा उपाध्यायले ४ ओभरमा १० रन मात्र खर्चेर ४ विकेट लिइन् । यस्तै यमुना थारुले चार ओभर बलिङ गर्दै एक मेडन राखेर ३ विकेट लिइन् भने कविता कुँवरले तीन ओभर बलिङ गर्दै २ विकेट लिइन् । लक्ष्मी साउँदको नाममा एक विकेट रह्यो ।

आर्मीका लागि सर्वाधिक ६२ रन बनाएकी सम्झना प्लेयर अफ द म्याच घोषित भइन् ।

दशौँ राष्ट्रिय खेलकुद महिला क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय