+
+
Shares

सरकारले संसद्लाई हेप्यो, जनतामाथि महँगीको मार थोपर्‍यो : प्रदीप पौडेल

कांग्रेससँग प्रतिस्पर्धा गर्न कठिन छ भन्ने बुझेर नै चौतर्फी प्रहार भइरहेको जिकिर गर्दै उनले पार्टीको सबल पक्षको प्रचार हुन नसकेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ११ गते १६:४०

११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको तल्लो तहका बैठकहरूमा स्थानीय नागरिकका मुद्दाहरूलाई अनिवार्य एजेन्डा बनाउनुपर्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा शुक्रबार धारणा राख्ने क्रममा उनले वडा तहको बैठक बस्दा कम्तीमा पनि तीनवटा स्थानीय मुख्य समस्यालाई एजेन्डा बनाउनुपर्नेमा जोड दिए ।

समाजका हरेक वर्ग, समुदाय र उमेर समूहले कांग्रेसलाई आफ्नो अभिभावक महसुस गर्ने वातावरण बनाउनुपर्ने महामन्त्री पौडेलको भनाइ थियो । नागरिकसँग प्रत्यक्ष जोडिनका लागि पार्टीको कार्यशैली सुधार गर्नुपर्नेमा उनले जोड दिए ।

‘वडाको बैठक बस्दै गर्दा कम्तीमा पनि त्यो वडाको तीनवटा मुद्दा बैठकको एजेन्डा बनोस् । बैठकमा कुनै किशोर वा किशोरीले मेरो मुद्दा कांग्रेसको बैठकको विषय बन्यो भनेर गर्व गर्ने अवस्था बनोस्,’ उनले भने, ‘ज्येष्ठ नागरिकहरूले कांग्रेसले मेरो बारेमा बोल्यो भनेर महसुस गरून् र समाजका सबै समुदाय, वर्ग तथा जातिले कांग्रेसले हाम्रो बारेमा आफ्नो एजेन्डा बनायो भन्ने अनुभूति गर्न सकुन् ।’

महामन्त्री पौडेलले पार्टीका प्रतिनिधिहरू जिल्ला, पालिका वा वडामा जाँदा औपचारिक बैठक र कार्यकर्ता भेटघाटमा मात्र सीमित हुन नहुने बताए ।

कार्यक्रमको परम्परागत स्वरूप बदल्नुपर्नेमा जोड दिँदै उनले भने, ‘अगाडि मञ्चमा गएर सबैजनाले एकै प्रकारको भाषण गर्ने पुरानो शैली अब हामीले बदल्नुपर्छ । पार्टीको प्रतिनिधि भएर जिल्ला, पालिका वा वडामा जाँदा मान्छे मात्र जोड्ने होइन, त्यहाँका ज्वलन्त मुद्दाहरू पनि सँगसँगै लिएर आउनुपर्छ । समग्रमा हामीले नेपाली समाजलाई कांग्रेससँग जोड्नुपर्छ ।’

महामन्त्री पौडेलले वर्तमान सरकारको कार्यशैलीको समेत आलोचना गरे । सरकारले संसद्लाई हेपेको, महँगीको भार थोपरेर नागरिकलाई बेवास्ता गरेको र राष्ट्रियतामाथि नै प्रहार गरिरहेको उनको आरोप थियो ।

सुनकोशी मरिन डाइभर्सनदेखि पासपोर्ट काण्डसम्मका अनियमिततामा सरकार जोडिएको दाबी गर्दै पौडेलले सरकारका यस्ता गतिविधिविरुद्ध कांग्रेसले सशक्त आवाज उठाउनुपर्ने बताए ।

कांग्रेससँग प्रतिस्पर्धा गर्न कठिन छ भन्ने बुझेर नै चौतर्फी प्रहार भइरहेको जिकिर गर्दै उनले पार्टीको सबल पक्षको प्रचार हुन नसकेको बताए ।

‘कांग्रेस नेपालको राजनीतिको विश्वविद्यालय हो, सबैले कांग्रेसबाटै सिक्ने हो,’ पौडेलले भने, ‘हाम्रो विधान मुलुककै सबैभन्दा समावेशी छ तर यस विषयलाई हामीले नागरिकस्तरमा प्रभावकारी रूपमा प्रचार गर्न सकिरहेका छैनौं ।’

पार्टीको गौरवपूर्ण इतिहास र समावेशी विधानलाई जनस्तरमा स्थापित गर्दै समाजका मुद्दालाई सँगै लिएर हिँड्न सकेमा कांग्रेसलाई कसैले कमजोर बनाउन नसक्ने महामन्त्री पौडेलको निष्कर्ष थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?