११ मंसिर, काठमाडौं । राष्ट्रिय किसान सञ्जालले कृषि उत्पादन लागत घटाउन, किसानले उत्पादनको उचित मूल्य पाउने व्यवस्था गर्न तथा बाढीपीडित किसानको पुनर्स्थापनासहित ११ बुँदे माग सरकारसमक्ष प्रस्तुत गरेको छ ।
सञ्जालका संयोजक डा. प्रेम दंगालले प्रेस विज्ञप्तिमार्फत कृषि क्षेत्रका समस्या समाधान गर्न सरकारसँग माग गरेका हुन् ।
किसानका समस्या पटकपटक सरकारसमक्ष प्रस्तुत गरे पनि अपेक्षित सम्बोधन नभएको भन्दै सञ्जालले सरकारको निर्णय, कार्यशैली र उदासीनताले कृषि क्षेत्रका समस्या थप जटिल बनाएको आरोप लगाएको छ ।
सञ्जालले कृषि उत्पादनमा प्रयोग हुने बीउ, मल, विषादी, कृषि औजार, उपकरण, इन्धन र विद्युत् लगायतका सामग्रीको मूल्य अत्यधिक बढेको भन्दै उत्पादन लागत घटाउन मूल्य नियन्त्रण तथा राहतको व्यवस्था गर्न माग गरेको छ ।
उत्पादन लागत बढे पनि किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाउँदा बिचौलियाले लाभ उठाउने र किसान तथा उपभोक्ता दुवै मारमा पर्ने अवस्था रहेको विज्ञप्तिमा उल्लेख छ ।
धानलगायत प्रमुख कृषि उपजको न्यूनतम समर्थन मूल्य निर्धारणसँगै सरकारले तोकेको मूल्यमा खरिद सुनिश्चित गर्न माग गरिएको छ ।
सरकारले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको ३ हजार ८६० रुपैयाँ तोके पनि प्रभावकारी खरिद व्यवस्था नभएको सञ्जालले जनाएको छ ।
धान, गहुँ, मकै, कोदो, तरकारी तथा फलफूललगायत अन्य कृषि उपजको उत्पादन लागतका आधारमा न्यूनतम समर्थन मूल्य तोकी किसानले अनिवार्य रूपमा उक्त मूल्य पाउने व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ ।
गत असोज १० गते भोटेकोशी तथा त्यसपछि बुढीगण्डकी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखालगायत जिल्लामा हजारौं रोपनी खेतीयोग्य जमिन, बाली, अन्नपात, पशुपन्छी तथा घरटहरा नष्ट गरेको सञ्जालले जनाएको छ ।
बाढी प्रभावित किसानलाई मल, बीउ, सिँचाइ र विद्युत् नि:शुल्क उपलब्ध गराउने, मालपोत मिनाहा, निर्व्याजी कर्जा र उत्पादन अनुदानसहित राहत प्याकेज घोषणा गर्न तथा क्षतिग्रस्त खेतीयोग्य जमिन पुनर्निर्माण गर्न माग गरिएको छ ।
दूध उत्पादनमा प्रयोग हुने दाना, चोकर र पराललगायत सामग्रीको मूल्य बढेको भन्दै दूधको मूल्य प्रतिलिटर १५ रुपैयाँ बढाएर ८० रुपैयाँ पुर्याउन सञ्जालले माग गरेको छ ।
सरकारी तथा निजी डेरी उद्योगबाट किसानले दूध बिक्री गरेको रकम समयमै पाउने व्यवस्था गर्न, बाँकी बक्यौता तत्काल भुक्तानी गर्न र ढिलाइको उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरिएको छ ।
रासायनिक मलको नियमित आपूर्ति तथा सहज उपलब्धता सुनिश्चित गर्न, वितरण प्रणाली पारदर्शी बनाउन र देशभित्रै मल कारखाना स्थापनासहित दीर्घकालीन समाधान खोज्न सञ्जालले आग्रह गरेको छ ।
पूर्वी जिल्लाहरू झापा, मोरङ, सुनसरी, उदयपुर र इलामलगायत क्षेत्रमा सुपारी खेती विस्तार हुँदै गए पनि उत्पादित सुपारीको उचित मूल्य र बजार सुनिश्चित हुन नसकेको सञ्जालको भनाइ छ । सुपारीको डीएनए परीक्षणपछि मात्र निर्यात गर्नुपर्ने व्यवस्थाले स्वदेशी सुपारी निर्यात प्रभावित भएको भन्दै उक्त प्रावधान हटाउन माग गरिएको छ ।
भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या कानुनी र न्यायोचित प्रक्रियाबाट तत्काल समाधान गर्न पनि सञ्जालले आग्रह गरेको छ ।
वैकल्पिक आवासको व्यवस्था नगरी बस्ती हटाउने र घरटहरा भत्काउने कार्यले नागरिकलाई घरबारविहीन बनाएको भन्दै विस्थापित परिवारको उचित पुनर्स्थापना सुनिश्चित गर्न माग गरिएको छ ।
वन्यजन्तुबाट हुने कृषि क्षति नियन्त्रण तथा किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन, प्रभावित किसानको क्षतिको यथार्थ मूल्यांकन गरी तत्काल राहत दिन र वैकल्पिक बाली खेतीमा प्रोत्साहन गर्नुपर्ने माग पनि विज्ञप्तिमा छ ।
त्यस्तै, उखु उत्पादक किसानको समर्थन मूल्य प्रतिक्विन्टल १ हजार २५ रुपैयाँ निर्धारण गर्न, उद्योगबाट किसानले पाउनुपर्ने सम्पूर्ण बक्यौता तत्काल भुक्तानी गर्न तथा उखु बजार व्यवस्थापनका समस्याको दीर्घकालीन समाधान खोज्न सञ्जालले माग गरेको छ ।
राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकको परम्परागत जीवनशैली, कृषि, पशुपालन तथा आर्थिक गतिविधिमा विभिन्न प्रतिबन्ध र समस्या रहेको भन्दै उनीहरूको संवैधानिक तथा कानुनी अधिकार संरक्षण गर्न आवश्यक नीति, कानुन र योजना बनाउन पनि माग गरिएको छ ।
अन्तिम मागमा सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य तत्काल अघि बढाउन आग्रह गरिएको छ । ठेक्का प्रक्रिया रद्द भएपछि मधेश प्रदेशका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका किसानले सिँचाइ सुविधा पाउने अपेक्षामा ढिलाइ भएको भन्दै निर्माण कार्य अघि बढाउन, समयसीमासहित कार्ययोजना सार्वजनिक गर्न र निर्धारित समयमै सिँचाइ सुविधा उपलब्ध गराउन सञ्जालले माग गरेको छ ।
सरकारले किसानका जायज माग बेवास्ता गरे वा आश्वासनमा सीमित राखे राष्ट्रिय किसान सञ्जालमा आबद्ध संघ–संस्थालाई एकताबद्ध गर्दै देशव्यापी आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने चेतावनीसमेत विज्ञप्तिमा दिइएको छ ।
प्रतिक्रिया 4