+
+
Shares

गोरखकाली रबर उद्योग सञ्चालन मोडालिटी सहित प्रतिवेदन पेस

उपसमितिले गोरखकाली रबर उद्योग सम्बन्धी सम्पत्ति दायित्व मूल्यांकन प्रतिवेदनमा प्रस्तुत वित्तीय, सम्पत्ति, उत्पादन क्षमता, स्वामित्व तथा विकल्प सम्बन्धी तथ्य समीक्षा गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ११ गते १७:१०

११ मंसिर, काठमाडौं । प्रतिनिधिसभा सदस्य सुशील खड्काको संयोजकत्वमा गठित गोरखकाली रबर उद्योग पुनरुत्थान तथा नेपाल सरकारको लगानीको प्रभावकारी व्यवस्थापन अध्ययन गर्न गठित उपसमितिले प्रतिवेदन बुझाएको छ ।

समितिले सरकारी लगानी व्यवस्थापन समिति समक्ष प्रतिवेदन पेस गरेको हो । प्रतिवेदनमा गोरखकाली रबर उद्योग (प्रतिष्ठान) को पुनरुत्थान तथा नेपाल सरकारको लगानीको प्रभावकारी व्यवस्थापन सम्बन्धी विषय समेटिएको छ ।

उपसमितिले गोरखकाली रबर उद्योग सम्बन्धी सम्पत्ति दायित्व मूल्यांकन प्रतिवेदनमा प्रस्तुत वित्तीय, सम्पत्ति, उत्पादन क्षमता, स्वामित्व तथा विकल्प सम्बन्धी तथ्य समीक्षा गरेको छ ।

विषयविज्ञ सहित उपसमिति सदस्यहरूको उद्योग परिसर, रबर खेतीस्थल र निजी प्रतिष्ठानहरूको स्थलगत अवलोकन र छलफलका साथै अन्य सरोकारवालासँगको अन्तर्क्रिया तथा छलफल गरेको जनाइएको छ ।

प्रतिवेदनले गोरखकाली रबर उद्योग लगायत सार्वजनिक लगानीका बन्द तथा सञ्चालनमा रहेका सरकारी संस्थानहरूको व्यवस्थापनका लागि विभिन्न सञ्चालन मोडेल प्रस्ताव गरिएको छ ।

प्रस्तावित विकल्पमा प्रतिष्ठानको सेयर व्यवस्थापन गर्ने, संस्थालाई सुधार गरी सञ्चालनका लागि करारमा दिने वा संस्थाका सम्पूर्ण सम्पत्ति व्यवस्थापन गर्ने विकल्प समेटिएका छन् ।

साथै, यो प्रतिवेदनमा गोरखकाली रबर उद्योगको सम्पत्तिलाई मौद्रिकीकरण तथा पुनर्संरचना गरी प्रतिष्ठानलाई लगानी सहित सञ्‍चालन करारमा दिने, रेभिन्यु–बेस्ड फाइनान्सिङ मोडेल साथै  ६ सय ६४ रोपनी जग्गा व्यवस्थापन सम्बन्धी सुझाव पनि समेटिएका छन् ।

प्रतिवेदन पेस भएपछि यही अवधारणा अन्तर्गत उदयपुर र हेटौँडाका सम्बन्धमा पनि काम अघि बढाइने उपसमिति संयोजक खड्काले बताए ।

यही मोडालिटीमा ४५ भन्दा बढी सार्वजनिक लगानीका कम्पनी समेटेर मास्टर मोडेल तयार गरिएको पनि संयोजक खड्काले जानकारी दिए ।

यसैगरी संयोजक खड्कालाई नेपाल टेलिकम र विशाल बजारको संस्थागत  पुनर्संरचना अध्ययनका लागि पनि संयोजकको जिम्मेवारी दिइएको छ । उक्त अध्ययन प्रतिवेदन पेश गर्न पुस महिनासम्मको समयसीमा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?