११ मंसिर, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले काठमाडौं उपत्यकाबाट विस्थापित भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू बस्दै आएका अस्थायी होल्डिङ सेन्टर खाली गर्न सरकारले जारी गरेको सूचना तत्काल फिर्ता लिन माग गरेको छ।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै घरटहरामाथि डोजर चलाएर विस्थापित गरिएका नागरिकको उचित पुनर्बासको व्यवस्था गर्नुको साटो अस्थायी आश्रयस्थलसमेत खाली गर्न खोज्नु अमानवीय, असंवेदनशील, गरिबविरोधी तथा सामाजिक न्यायको सिद्धान्तविपरीत रहेको भन्दै घोर भर्त्सना गरेका हुन्।
वक्तव्यमा २०८३ वैशाख १२ गतेदेखि हजारौँ नागरिकलाई घरबारविहीन बनाएको सरकारले १५ दिनभित्र उचित व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए पनि सात महिना बितिसक्दासमेत पूरा नगरेको उल्लेख छ। अझै पनि बोडे, खरिपाटी र इचंगुनारायणस्थित होल्डिङ सेन्टरहरूमा १२२ परिवार अत्यन्त कष्टकर अवस्थामा जीवन बिताउन बाध्य रहेको पार्टीले जनाएको छ।
‘बढ्दो शीतलहर र कठ्याङ्ग्रिँदो जाडोमा बालबालिका, गर्भवती महिला, ज्येष्ठ नागरिक, बिरामी तथा अपाङ्गता भएका व्यक्तिहरूसहितका विस्थापित परिवारलाई वैकल्पिक आवासको सुनिश्चितताविना अस्थायी होल्डिङ सेन्टरबाट समेत निष्कासन गर्न खोज्नु सरकारको चरम संवेदनहीनता र श्रमजीवी वर्गप्रतिको अन्यायपूर्ण व्यवहारको दृष्टान्त हो,’ वक्तव्यमा भनिएको छ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई उपयुक्त आवास, खाद्य र सामाजिक न्यायको हक तथा भूमिहीन दलितलाई जमिन र आवासविहीन दलितलाई आवासको हक सुनिश्चित गरेको स्मरण गराउँदै पार्टीले भूमिसम्बन्धी ऐन २०२१ र आवासको अधिकारसम्बन्धी ऐन, २०७५ लगायतका प्रचलित कानुनले समेत विस्थापित नागरिकको उचित पुनर्बासको दायित्व राज्यलाई सुम्पेको उल्लेख गरेको छ।
भूमि समस्या राज्यको विभेदकारी भूमिव्यवस्था, ऐतिहासिक शोषण, असमानता, गरिबी र सामाजिक बहिष्करणको उपज भएकाले यसको समाधान डोजर, प्रहरी प्रशासन, धम्की र निष्कासनबाट सम्भव नहुने पार्टीको ठहर छ। संविधानमा व्यवस्था भएबमोजिम वैज्ञानिक भूमिसुधार, सामाजिक न्याय, भूमिको न्यायोचित वितरण र सम्मानजनक पुनर्बासबाट मात्र यो समस्या समाधान हुन सक्ने वक्तव्यमा जनाइएको छ।
‘सहर सुन्दरताका नाममा गरिब जनतालाई कुरूप ठान्ने र विकासका नाममा श्रमजीवी जनतालाई विस्थापित गर्ने सोच र व्यवहार सर्वथा गलत छ,’ वक्तव्यमा भनिएको छ, ‘सहर निर्माणमा आफ्नो श्रम र पसिना बगाउने श्रमजीवी जनताको पनि सहरमा सम्मानपूर्वक बाँच्न र बस्न पाउने उत्तिकै अधिकार छ।’
नेपाली कम्युनिष्ट पार्टीले होल्डिङ सेन्टर खाली गर्ने निर्णय तथा सूचना अविलम्ब फिर्ता लिन, कुनै पनि परिवारलाई जबर्जस्ती निष्कासन नगर्न र प्रत्येक विस्थापित परिवारको वास्तविक अवस्थाको निष्पक्ष स्थलगत छानबिन गर्न सरकारसमक्ष माग गरेको छ।
त्यसैगरी, भूमिहीन दलित तथा सुकुम्बासीलाई जमिनसहित सुरक्षित आवास उपलब्ध गराउन, अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन गर्न, स्थायी पुनर्बासको सुनिश्चितता नहुँदासम्म होल्डिङ सेन्टरहरूमा पर्याप्त खाद्यान्न, न्यानो कपडा, स्वास्थ्योपचार, सरसफाइ, बालबालिकाको शिक्षा तथा अन्य आधारभूत सेवासुविधाको व्यवस्था गर्न र विस्थापनका क्रममा भएको जनधन तथा जीविकोपार्जनको क्षतिको निष्पक्ष मूल्याङ्कन गरी उचित क्षतिपूर्ति उपलब्ध गराउनसमेत पार्टीले माग गरेको छ।
पार्टीले भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा सम्पूर्ण श्रमजीवी जनसमुदायको न्यायपूर्ण माग र अधिकारप्राप्तिको सङ्घर्षप्रति दृढ ऐक्यबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया 4