११ मंसिर, काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम असुल्ने, एउटा कामको सम्झौता गरेर विदेश पुगेपछि अर्कै काममा लगाउने, सम्झौता अनुसार तलब तथा सेवा–सुविधा नदिने र भिजिट भिसा आवरणमा मानव तस्करी गर्ने प्रवृत्ति नियन्त्रण गर्न सरकारले कार्यदल गठन गर्ने तयारी गरेको छ ।
४ मंसिरमा गृहमन्त्री सुदन गुरुङको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले वैदेशिक रोजगारी तथा कन्सल्टेन्सी मार्फत हुने ठगी र श्रम शोषण नियन्त्रण गर्न सरोकारवाला निकाय सम्मिलित विशेष कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।
युवा, श्रम तथा रोजगार मन्त्रालयको नेतृत्वमा गठन हुने कार्यदलमा विभिन्न सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित हुनेछन् । यसका लागि श्रम मन्त्रालयले गठनको प्रक्रिया अघि बढाएको छ ।
यसका साथै बैठकले शिक्षा तथा खेलकुद मन्त्रालय, नेपाल प्रहरी, वैदेशिक रोजगार विभाग र अध्यागमन विभागमा आ–आफ्नो निकायमा छुट्टाछुट्टै लक्षित टोली गठन गर्ने निर्णय पनि गरेको थियो ।
ती टोलीले प्राप्त सूचनामध्ये वैदेशिक रोजगार ठगीसम्बन्धी सूचना वैदेशिक रोजगार विभाग र मानव बेचबिखन सम्बन्धी सूचना नेपाल प्रहरीलाई उपलब्ध गराउनेछन् ।
त्यसरी गठन भएका टोलीका प्रमुखहरूको समीक्षा बैठक श्रम मन्त्रालयको सम्बन्धित महाशाखा प्रमुखको नेतृत्वमा साप्ताहिक बस्ने र आवश्यक रणनीति बनाउने निर्णय पनि भएको थियो ।
यो निर्णयलाई सरकारले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रणका लागि अन्तरनिकाय समन्वय र निगरानी बढाउने उद्देश्य भनेको छ । तर, वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्ने जिम्मेवारी पाएका निकाय हुँदाहुँदै फेरि विशेष कार्यदल किन चाहियो भन्ने विषयमा प्रश्न उठेको छ ।

अनुसन्धानमै ३५ हजार बढी उजुरी
वैदेशिक रोजगारीका नाममा हुने ठगी नयाँ समस्या होइन । यसलाई नियन्त्रण गर्न सरकारले कानुन, नियामक निकाय, उजुरी सुनुवाइ संयन्त्रदेखि विभिन्न कार्यदल र विशेष टोलीसमेत बनाउँदै आएको छ ।
वैदेशिक रोजगार ऐन २०६४ ले वैदेशिक रोजगारी क्रममा हुने ठगी नियन्त्रण तथा नियमन गर्ने जिम्मेवारी वैदेशिक रोजगार विभागलाई दिएको छ । सोही अनुसार विभागले म्यानपावर कम्पनी अनुगमन, छापा, उजुरीका आधारमा अनुसन्धान, पक्राउ पुर्जी लिने, पक्राउ गर्ने र कारबाही गर्नेसम्मको अधिकार पाएको छ । विभागले अर्धन्यायिक निकायका रूपमा निर्णय गर्ने काम गर्दै आएको छ ।
त्यसबाहेक श्रम मन्त्रालय अन्तर्गत श्रमाधान कल सेन्टर छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘हेलो सरकार’ मार्फत समेत उजुरी पर्दै आएका छन् । त्यसका साथै नयाँ सरकार आएपछि वर्तमा श्रममन्त्री रामजी यादवले मन्त्रालयमै ‘एक्सन कमान्ड सेन्टर’ (एसीसी) समेत सञ्चालनमा ल्याएका छन् । त्यहाँ ह्वाट्सएप, भाइबर, इमेल, टेलिफोन तथा भौतिक उपस्थिति मार्फत गुनासो र उजुरी दिन सकिने व्यवस्था छ ।
यति धेरै निकाय र संयन्त्र हुँदाहुँदै वैदेशिक रोजगारीका नाममा ठगीमा पर्नेको संख्या घटेको छैन । वैदेशिक रोजगार विभागमा मात्रै अहिले ३५ हजारभन्दा बढी ठगीसम्बन्धी मुद्दा अनुसन्धान क्रममा छन् । हरेक वर्ष करिब ५ हजार हाराहारी नयाँ उजुरी पर्ने गरेको छ ।
यस्तो अवस्थामा सरकारले फेरि विशेष कार्यदल गठन गरेर ठगी नियन्त्रण प्रयास थालेको हो ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार अहिले अध्यागमन विभाग, वैदेशिक रोजगार विभाग र नेपाल प्रहरीमा छुट्टाछुट्टै लक्षित टोली छन् । ती टोलीले आ–आफ्नो कार्यक्षेत्र अनुसार निगरानी र सूचना संकलन गर्नेछन् ।
‘तीन निकायमा छुट्टाछुट्टै टास्क फोर्स छन्, उनीहरूले आफ्नो तरिकाले सर्भिलेन्स गर्छन्,’ काफ्लेले भने, ‘त्यसपछि उनीहरूको कामको समीक्षा र समन्वयका लागि श्रम मन्त्रालयको सम्बन्धित महाशाखा प्रमुखको नेतृत्वमा बैठक बस्छ ।’
उनका अनुसार कार्यदलको उद्देश्य सम्बन्धित निकायबीच समन्वय बढाउने र सघन निगरानी मार्फत गैरकानुनी गतिविधिमा संलग्न व्यक्ति तथा समूहको पहिचान गर्नु हो ।
श्रम मन्त्रालयका अधिकारीहरू पनि विभिन्न निकायले गरिरहेका कामको जानकारी लिने र आवश्यक समन्वय गर्ने उद्देश्यले कार्यदल गठन गर्न लागिएको बताउँछन् ।

कार्यदल बनाउने, तर निरन्तरता नदिने समस्या
वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका लागि सरकारले यसअघि पनि पटक–पटक विशेष कार्यदल तथा संयन्त्र बनाउँदै आएको थियो । तर, त्यस्ता संयन्त्रले सुरुवाती चरणमा केही काम गरे पनि पछि निष्क्रिय हुने गरेका छन् ।
जेनजी आन्दोलनपछि बनेको सरकारका पालामा पनि वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्न विशेष कार्यदल गठन गरिएको थियो ।
वैदेशिक रोजगार विभाग, महान्यायाधिवक्ताको कार्यालय, गृह मन्त्रालय अन्तर्गत सुरक्षा निकाय लगायत अधिकारी सम्मिलित उक्त कार्यदलले ठगीसम्बन्धी मुद्दा छिटो सल्टाउने र यस क्षेत्रमा देखिएका समस्या समाधान गर्ने कार्यादेश पाएको थियो ।
तत्कालीन श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले सचिवस्तरबाट निर्णय गराएर करिब १५ जनासम्मको संयन्त्र बनाएका थिए । तर, सरकार परिवर्तन भएपछि उक्त संयन्त्रले प्रभावकारी रूपमा काम गर्न पाएन ।
त्यसअघि पनि विमानस्थलबाट हुने मानव तस्करी तथा वैदेशिक रोजगारीका नाममा हुने गैरकानुनी गतिविधि नियन्त्रण गर्न विभिन्न मन्त्रालयका सचिवस्तरीय बैठक, विशेष कार्यदल र स्थायी प्रकृतिका संयन्त्र बनाउने अभ्यास हुँदै आएको थियो ।
त्यस्ता संयन्त्रको निरन्तरता र प्रभावकारितामा प्रश्न उठ्दै आएको श्रम आप्रवासन विज्ञ रामेश्वर नेपालको भनाइ छ ।
नेपालका अनुसार वैदेशिक रोजगारीको विषयलाई राज्यले विशेष संवेदनशील विषयका रूपमा स्वीकार गरिसकेको छ । यसका लागि छुट्टै ऐन, छुट्टै नियामक निकाय र छुट्टै न्यायिक संरचना समेत बनाइएको छ । यस्तो अवस्थामा नयाँ संरचना थप्नुभन्दा भएकै प्रणालीलाई प्रभावकारी बनाउनु आवश्यक छ ।
‘यो विशेष क्षेत्र हो र संवेदनशील विषय हो, अझ गरिब नागरिकसँग जोडिएको विषय भएकाले यसको छिटो छिनोफानो हुनुपर्छ भनेर छुट्टै कानुन र छुट्टै अदालतको व्यवस्था गरिएको हो,’ उनले भने, ‘त्यसकारण अहिले सरकारले गर्नुपर्ने भनेको भएकै प्रणालीलाई मजबुत बनाउने हो ।’
उनका अनुसार वैदेशिक रोजगार विभागमा अनुसन्धान चाप बढी छ भने अनुसन्धान अधिकृत संख्या थप्ने, उनीहरूलाई आवश्यक तालिम दिने र अनुसन्धान क्षमतामा सुधार गर्ने काम गर्नुपर्छ ।
वैदेशिक रोजगारीमा जाने प्रक्रियाका विभिन्न चरणमा रहेका कमजोरी र छिद्र बन्द गर्नुपर्ने उनको सुझाव छ ।
‘अनुसन्धानमा कमजोरी छ भने अनुसन्धान गर्ने कर्मचारीलाई तालिम दिनुपर्यो, जनशक्ति पुगेको छैन भने थप्नुपर्यो, श्रम आप्रवासनको पूरै प्रक्रियामा जहाँ–जहाँ छिद्र छ, ती बन्द गर्नुपर्यो,’ नेपालले भने ।
उनका अनुसार भिजिट भिसा दुरुपयोग, विमानस्थलबाट हुने सेटिङ तथा मानव तस्करीसँग जोडिएका विषय दशकौंदेखि उठ्दै आएका छन् । त्यसलाई नियन्त्रण गर्न पनि सम्बन्धित निकायको क्षमता र कार्यसम्पादन सुधार्न आवश्यक छ ।

समन्वय आवश्यक, कानुनी हैसियत के ?
श्रम मन्त्रालयका अनुसार विशेष कार्यदल गठन गर्नुको एउटा प्रमुख उद्देश्य विभिन्न निकायबीच समन्वय बढाउनु हो । वैदेशिक रोजगारी ठगी नियन्त्रणमा श्रम मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग, नेपाल प्रहरी र वैदेशिक रोजगार विभागको भूमिका जोडिन्छ ।
तर, यी निकायबीच समन्वय अभाव देखिँदै आएको छ । कतिपय अवस्थामा एउटा मन्त्रालयले गरेको निर्णय अर्को मन्त्रालयले अस्वीकार गर्ने, एक निकायको निर्णयमाथि अर्को निकायले प्रश्न उठाउने र अधिकार क्षेत्रका विषयमा विवाद हुने गरेका छन् ।
यस्तो अवस्थामा समन्वयकारी संयन्त्रको आवश्यकता भने विज्ञ नेपालले पनि स्वीकार गर्छन् । तर, त्यसका लागि कार्यदलको कानुनी हैसियत र अधिकार स्पष्ट हुनुपर्ने नेपालको तर्क छ ।
‘समन्वयकारी भूमिका आवश्यक छ, तर त्यसका लागि पनि कानुनी आधार चाहिन्छ, कुन कानुनको कुन दफामा टेकेर यो संयन्त्र बनाइएको हो ? यसको अधिकार के हो ?,’ उनले प्रश्न गरे ।
उनका अनुसार कार्यदलले विभिन्न निकायलाई समन्वयका लागि निर्देशन दिन सक्ने वा उनीहरूलाई निर्णय कार्यान्वयन गर्न बाध्य बनाउन सक्ने कानुनी आधार हुनुपर्छ । केवल कार्यकारी निर्णयबाट गठन भएको संयन्त्रले कानुनले तोकेको अधिकार प्रयोग गर्न सक्दैन ।
‘सरकारले गर्ने काम कानुनमा टेकेर हुनुपर्छ, एउटा कार्यकारी निर्णयबाट संयन्त्र बनाएर त्यसलाई अधिकार नै नदिने हो भने त्यो कति प्रभावकारी हुन्छ ?,’ उनले भने ।
नेपालले विगतमा पनि यस्ता संयन्त्र बनेको र केही समयपछि हराएको अनुभव सुनाउँदै अहिलेको कार्यदल पनि त्यही नियति भोग्ने जोखिम रहेको बताए ।
नयाँ सरकारले पुरानो संरचनामा कमजोरी देखेको भए त्यसलाई सुधार गर्न सक्ने तर पुरानो संयन्त्र निष्क्रिय भएका कारण पत्ता नलगाइ अर्को संयन्त्र बनाउँदैमा समस्या समाधान नहुने बताए ।
‘पहिलाको सरकारले बनाएको हो भनेर त्यसलाई खारेज गर्ने होइन, पहिलाको प्रणालीले किन काम गरेन भन्ने हेरेर त्यसलाई बलियो बनाउने हो,’ नेपालले भने, ‘नयाँ कार्यदल बनाउनु नै गलत होइन, तर त्यसको काम, अधिकार र कानुनी आधार स्पष्ट हुनुपर्छ ।’
कारबाही भन्दा उजुरी व्यवस्थापनमै अल्झिएको प्रणाली
वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका लागि विभिन्न माध्यमबाट उजुरी लिने व्यवस्था छ । तर, उजुरी लिने निकाय थपिँदैमा पीडितले न्याय पाउने सुनिश्चितता हुँदैन ।
विभागमा ३५ हजारभन्दा बढी उजुरी अनुसन्धानकै क्रममा रहनुले पनि समस्या उजुरी संकलनमा मात्रै नभई अनुसन्धान, अभियोजन र न्याय निरूपण प्रक्रियामा रहेको देखाउँछ ।
वैदेशिक रोजगारी ठगीबाट सबैभन्दा बढी प्रभावित हुने वर्ग आर्थिक रूपमा कमजोर नागरिक हुन् । उनीहरूले विदेश जान ऋण लिएका हुन्छन् । ठगीमा परेपछि आर्थिक क्षतिसँगै परिवारको जीविकोपार्जनमा समेत समस्या पर्ने गर्छ ।
यस्तो अवस्थामा पीडितलाई लामो समयसम्म न्यायको प्रतीक्षामा राख्नु अर्को समस्या हो । त्यसैले ठगीका उजुरीको छिटो अनुसन्धान र न्यायिक निरूपणका लागि विद्यमान कानुनी व्यवस्था प्रभावकारी बनाउनुपर्ने उनको जोड छ ।
प्रतिक्रिया 4