+
+
Shares

संविधानले दियो निःशुल्क आधारभूत स्वास्थ्यको हक, सरकार भन्छ- बजेटले धान्दैन

२२४ आधारभूत सेवा लक्षित पहुँचमा पुर्‍याउन वार्षिक ६५ अर्ब ८० करोड रुपैयाँ आवश्यक पर्ने तर हाल २२ अर्ब ४० करोड मात्रै खर्च भइरहेको देखाउँदै स्वास्थ्य मन्त्रालयको अध्ययनले बजेट सीमितताका कारण आधारभूत सेवालाई तीन प्राथमिकता समूहमा बाँडेर चरणबद्ध लागु गर्न सिफारिस गरेको छ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८३ मंसिर १२ गते ९:३३

११ मङ्सिर, काठमाडौँ। संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने हक सुनिश्चित गरेको छ। नागरिकको यही मौलिक हक कार्यान्वयन गर्न सरकारले तयार पारेको प्रतिवेदनले नै राज्यको आर्थिक क्षमताले एकैपटक सबै सेवा दिन नसक्ने ठहर गरेको छ।

संविधानले निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गरेको १० वर्षपछि सरकारले पहिलोपटक सेवाको लागत हिसाब गर्दा सबै प्रस्तावित सेवा पूर्ण रूपमा सञ्चालन गर्न वार्षिक ६५ अर्ब ८० करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ। बजेट सीमितताका कारण सरकारले सेवालाई प्राथमिकताका आधारमा चरणबद्ध रूपमा मात्रै विस्तार गर्ने प्रस्ताव अघि सारेको छ।

संविधानले नागरिकलाई एकमुष्ट दिएको स्वास्थ्य सेवाको हक कार्यान्वयनमा भने आर्थिक अभावले सबै सेवा दिन नसक्ने सरकार आफैँले बताएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पहिलोपटक गरेको आधारभूत स्वास्थ्य सेवा प्याकेज (बीएचएसपी) को लागत गणना र प्राथमिकीकरण अध्ययनले विद्यमान वित्तीय सीमाभित्र रहेर सेवालाई तीन प्राथमिकता समूहमा वर्गीकरण गरी चरणबद्ध रूपमा लागू गर्न सिफारिस गरेको हो।

मन्त्रालयले नर्वेको युनिभर्सिटी अफ बर्गनस्थित बर्गन सेन्टर फर एथिक्स एन्ड प्रायोरिटी सेटिङ इन हेल्थ (बीसीईपीएस) को सहकार्य र नेपाल हेल्थ इकोनोमिक्स एसोसिएसन (एनएचईए) को प्राविधिक सहयोगमा तयार पारेको बेसिक हेल्थ सर्भिसेज इन नेपाल : प्रायोरिटी सेटिङ एन्ड इसेन्सियल हेल्थ इन्टरभेन्सन्स प्रतिवेदनले आधारभूत स्वास्थ्य सेवाको यथार्थ लागत, उपलब्ध स्रोत र बजेट अभावको अवस्था सार्वजनिक गरेको हो।

सेवाको सूची धेरै हुँदा व्यवहारमा औषधि अभाव, असमान पहुँच र सेवाको गुणस्तरमा ह्रास आउने अघोषित कटौतीको अवस्था सिर्जना भएको प्रतिवेदनले औँल्याएको छ।

अहिले खर्च २२.४ अर्ब, सबै सेवा लक्ष्यअनुसार दिन ६५.८ अर्ब चाहिने

सन् २०२५ को मूल्यका आधारमा गणना गर्दा २२४ वटै आधारभूत सेवाको हालको पहुँच कायम राख्न वार्षिक २२ अर्ब ४० करोड रुपैयाँ अर्थात् प्रतिव्यक्ति करिब ७६० रुपैयाँ खर्च भइरहेको छ।

तर ती सबै सेवालाई लक्षित पहुँचमा पुर्‍याउन वार्षिक ६५ अर्ब ८० करोड रुपैयाँ अर्थात् प्रतिव्यक्ति करिब २ हजार २२० रुपैयाँ आवश्यक पर्ने देखिएको छ। यो हाल भइरहेको खर्चको झन्डै तीन गुणा हो।

लक्षित खर्चको ३४ प्रतिशत अर्थात् २२ अर्ब ४० करोड रुपैयाँ हालको पहुँच कायम राख्न, १९ प्रतिशत अर्थात् १२ अर्ब ५० करोड रुपैयाँ हाल दिइँदै आएका सेवाको पहुँच विस्तार गर्न र ४७ प्रतिशत अर्थात् ३० अर्ब ८० करोड रुपैयाँ हाल अभ्यासमा नरहेका थप परीक्षण, औषधि र उपचार विधि समावेश गर्न आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ।

सबै २२४ क्लिनिकल सेवा एकैपटक लागू गर्न नसकिने देखिएपछि प्रतिवेदनले तिनलाई तीन प्राथमिकता समूहमा विभाजन गरेको छ। पहिलो समूहमा १३१, दोस्रोमा ८२ र तेस्रोमा ११ वटा आधारभूत सेवा राखिएका छन्।

बजेटको सीमा र स्वास्थ्य प्रभावलाई सन्तुलनमा राख्न प्रतिवेदनले क्लिनिकल सेवालाई स्वास्थ्य लाभ (लागत प्रभावकारिता), रोगको गम्भीरता, समता, नीतिगत सान्दर्भिकता, सामाजिक प्रभाव र सम्भाव्यता गरी छवटा मापदण्डका आधारमा यसरी तीन समूहमा वर्गीकरण गरेको हो :

प्राथमिकता समूह क्लिनिकल सेवा वर्तमान वार्षिक खर्च (रु. अर्ब) लक्षित वार्षिक खर्च, २०२५ मूल्य (रु. अर्ब) ५ वर्षको कुल खर्च, आव २०८४/८५–२०८८/८९ (रु. अर्ब) कार्यान्वयन अवस्था
समूह १ (सिफारिस गरिएको प्राथमिकता प्याकेज) १३१ १६.२५ ४४.१९ २०४.४ पहिलो चरणमा लागू गरिने
समूह २ (थप बजेटसँगै समावेश गरिने) ८२ ४.२४ १४.९५ ६६.३ वित्तीय दायरा बढ्दै जाँदा थपिने
समूह ३ (हाललाई थाती राखिएको) ११* १.८० ६.४६ २८.५ थप बजेट सुनिश्चित भएपछि मात्र

थप बजेट सुनिश्चित भएपछि मात्र

पहिलो समूहलाई उपलब्ध बजेटको सीमाभित्र पाँच वर्षमा कार्यान्वयन गर्न सकिने प्याकेजका रूपमा प्रस्ताव गरिएको छ। दोस्रो समूहका सेवा थप स्रोत उपलब्ध हुँदै जाँदा क्रमशः लागू गर्नुपर्ने र तेस्रो समूहका ११ सेवा तत्कालका लागि थाती राखेर भविष्यमा पुनरावलोकन गर्नुपर्ने प्रतिवेदनको सुझाव छ।

पहिलो प्राथमिकता समूहका सेवा लक्षित पहुँचमा पुर्‍याउन सन् २०२५ को मूल्यमा वार्षिक ४४ अर्ब २० करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ। सन् २०३१ सम्म लक्षित पहुँच हासिल गर्दा मूल्यवृद्धिसहित यो रकम वार्षिक ५९ अर्ब २० करोड रुपैयाँ पुग्ने अनुमान छ। यसका लागि प्रतिव्यक्ति वार्षिक करिब १ हजार ४९० रुपैयाँ खर्च आवश्यक पर्छ।

पहिलो समूहका सेवा अहिलेको पहुँचमै सीमित राख्दा भने वार्षिक १६ अर्ब ३० करोड रुपैयाँ खर्च भइरहेको प्रतिवेदनमा उल्लेख छ। अर्थात् पहिलो प्राथमिकताका सेवा विस्तार गर्न र नयाँ सेवा थप्न थप स्रोत आवश्यक पर्नेछ।

पहिलो र दोस्रो समूहका सबै सेवा एकैपटक समेट्दा लक्षित पहुँचमा पुर्‍याउन वार्षिक ५९ अर्ब १० करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ। पाँच वर्षको कुल लागत २ खर्ब ७० अर्ब ७० करोड रुपैयाँ पुग्नेछ। सबै २२४ क्लिनिकल सेवा समेट्दा पाँच वर्षमा ३ खर्ब २ अर्ब २० करोड रुपैयाँ खर्च हुने अनुमान छ।

प्रतिवेदनले आधारभूत स्वास्थ्य सेवा कार्यान्वयनका लागि कुल बजेटको आकारभन्दा पनि उपलब्ध स्रोतको सुनिश्चितता र नियमितता महत्त्वपूर्ण रहेको औँल्याएको छ। सङ्घ, प्रदेश र स्थानीय तहबाट हुने बजेट विनियोजनमा स्थिरता नहुँदा सेवा कार्यान्वयनका लागि आवश्यक रकमको पूर्वानुमान गर्न कठिन हुने देखिएको छ।

अध्ययनले अहिलेको वित्तीय व्यवस्थाले परिमार्जित आधारभूत स्वास्थ्य सेवा प्याकेज कार्यान्वयनका लागि भरपर्दो आधार दिन नसक्ने सङ्केत गरेको छ। त्यसका लागि प्रदेश र स्थानीय तहको आन्तरिक राजस्व, स्वास्थ्य बीमा तथा वैदेशिक सहायतासहितका थप वित्तीय स्रोत परिचालन गर्नुपर्ने प्रतिवेदनको सुझाव छ।

स्वास्थ्य बजेट बढाउन र करको दायरा विस्तार गर्न सुझाव

प्रतिवेदनले आधारभूत स्वास्थ्य सेवाको प्याकेज कार्यान्वयन गर्न बजेट बढाउनुका साथै उपलब्ध रकमको प्रभावकारी उपयोग गर्नुपर्नेमा जोड दिएको छ। त्यसका लागि राष्ट्रिय बजेटमा स्वास्थ्य क्षेत्रको हिस्सा क्रमशः बढाउन, आधारभूत स्वास्थ्य सेवाका लागि न्यूनतम बजेट सुनिश्चित गर्न र सुर्तीजन्य पदार्थ तथा मदिरामा लाग्ने कर बढाउन सुझाव दिइएको छ।

स्वास्थ्य करलाई प्रभावकारी रूपमा उपयोग गर्न सके एकातिर सुर्तीजन्य पदार्थ र मदिराको उपभोग घटाउन सकिने र अर्कोतिर स्वास्थ्य सेवाका लागि थप राजस्व जुटाउन सकिने प्रतिवेदनको विश्लेषण छ।

नेपालमा सुर्ती र मदिराबाट उठेको करको केही हिस्सा स्वास्थ्य कर कोषमार्फत स्वास्थ्य क्षेत्रमा खर्च हुँदै आएको छ। तर उक्त कोषबाट हुने खर्चको ठूलो हिस्सा रोगको निदान तथा उपचारमा केन्द्रित रहेको र रोकथाम तथा जनचेतनामूलक गतिविधिमा दुई प्रतिशतभन्दा कम खर्च हुने गरेको प्रतिवेदनले उल्लेख गरेको छ।

त्यस्तै, स्वास्थ्य क्षेत्रमा बाह्य विकास साझेदारको सहयोग घट्दै गएकाले खोप, पोषण, एचआईभी र क्षयरोगजस्ता कार्यक्रमका लागि स्वदेशी स्रोतबाटै बजेट सुनिश्चित गर्नुपर्ने सुझाव छ। स्वास्थ्य बजेटमा विकास साझेदारको हिस्सा आर्थिक वर्ष २०८०/८१ मा १८.३ प्रतिशत रहेकामा २०८३/८४ मा घटेर ८.३ प्रतिशतमा झरेको प्रतिवेदनमा उल्लेख छ।

बजेट बढाउनु मात्रै पर्याप्त नहुने भन्दै प्रतिवेदनले औषधि खरिद, जनशक्ति व्यवस्थापन, बजेट निकासा र खर्च गर्ने प्रक्रियामा सुधार गर्नुपर्ने औँल्याएको छ।

स्वास्थ्य बीमा र निःशुल्क सेवाबीचको दोहोरोपन हटाउनुपर्ने

आधारभूत स्वास्थ्य सेवा र स्वास्थ्य बीमा कार्यक्रमबीच सेवाको दायरा तथा वित्तीय व्यवस्थापनमा स्पष्टता आवश्यक रहेको प्रतिवेदनको निष्कर्ष छ। अहिले आधारभूत स्वास्थ्य सेवाअन्तर्गत निःशुल्क उपलब्ध हुनुपर्ने कतिपय सेवा स्वास्थ्य बीमाको सुविधा प्याकेजमा पनि समेटिएका छन्। यसले एउटै सेवाका लागि दुईवटा वित्तीय माध्यमबाट खर्च हुने जोखिम बढाएको प्रतिवेदनले औँल्याएको छ।

स्वास्थ्य बीमा कार्यक्रमले मुख्यतः आधारभूत सेवाभन्दा माथिल्लो तहका उपचार र विशेषज्ञ सेवामा आर्थिक सुरक्षा दिनुपर्ने प्रतिवेदनको सुझाव छ। आधारभूत स्वास्थ्य सेवा प्याकेजमा कायम रहेको कुनै पनि सेवा भने स्वास्थ्य बीमा वा अन्य जुनसुकै माध्यमबाट वित्तीय व्यवस्थापन भए पनि सेवाग्राहीका लागि निःशुल्क नै हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ।

त्यसैले आधारभूत स्वास्थ्य सेवा, निःशुल्क स्वास्थ्य कार्यक्रम र स्वास्थ्य बीमाको सुविधा प्याकेजबीचको दोहोरोपन हटाएर कुन सेवा कुन माध्यमबाट वित्तीय व्यवस्थापन गर्ने भन्ने स्पष्ट गर्नुपर्ने सुझाव दिइएको छ।

एउटै सेवाका लागि एकभन्दा बढी योजनाबाट भुक्तानी हुने अवस्था रोक्न र सेवाको निरन्तरता कायम राख्न सुविधा सूची मिलाउने, खरिद प्रक्रियामा समन्वय गर्ने र दीर्घकालमा सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गर्ने विकल्पसमेत प्रतिवेदनले अघि सारेको छ।

विज्ञ भन्छन्- बजेट पुगेन भन्नु राज्यको आत्मसमर्पण हो

संविधानले सुनिश्चित गरेको आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन बजेट नपुग्ने भन्दै स्वास्थ्य मन्त्रालयले प्रतिवेदन सार्वजनिक गर्नु राज्य नागरिकको स्वास्थ्य अधिकारप्रतिको जिम्मेवारीबाट पछि हटेको सङ्केत भएको जनस्वास्थ्यविद् डा. शरद वन्त बताउँछन्।

वन्तले आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन नसकिने निष्कर्ष निकाल्नु राज्यको निरीहता मात्र नभई नागरिकको स्वास्थ्य अधिकारमाथिको आत्मसमर्पण भएको टिप्पणी गरे। उनका अनुसार संविधान र कानुनले प्रत्याभूत गरेको स्वास्थ्य सेवा उपलब्ध गराउनु राज्यको दायित्व हो। बजेट अभावलाई देखाएर उक्त दायित्वबाट पन्छिन मिल्दैन।

‘आधारभूत स्वास्थ्य सेवा दिन सकिँदैन भन्नुको कुनै औचित्य छैन। यो नागरिकको स्वास्थ्य अधिकार र राज्यको प्रतिबद्धताविपरीतको ठूलो आत्मसमर्पण हो,’ वन्तले भने, ‘राज्यले नागरिकप्रतिको आफ्नो जिम्मेवारीबाट हात झिक्न खोजेको सङ्केत यसले गर्छ।’

जनस्वास्थ्यविद् डा. शरद वन्त

नेपालमा व्यक्तिगत खर्चबाट स्वास्थ्य सेवा लिने अवस्था झन् बढ्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरे। उनका अनुसार स्वास्थ्य सेवामा नागरिकको व्यक्तिगत खर्चको हिस्सा बढ्नु र स्वास्थ्य बीमा कार्यक्रमसमेत कमजोर अवस्थामा पुग्नुले राज्यको स्वास्थ्य वित्तीय प्रणाली नै सङ्कटमा रहेको देखाउँछ।

‘स्वास्थ्य बीमा कार्यक्रम नै असफलताको अवस्थामा पुगेको छ। सरकारले बीमा चलाउन नसक्ने अवस्था स्वीकार गरिरहेको छ। अब आधारभूत स्वास्थ्य सेवामा पनि बजेट पुगेन भनेर पछि हट्दा राज्यले स्वास्थ्य सेवालाई नागरिकको अधिकारका रूपमा स्वीकार गर्न छाडेको सङ्केत हुन्छ,’ उनले भने।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारी आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्न स्रोतको आवश्यकता रहेको स्वीकार गर्छन्।

उनले अध्ययन प्रतिवेदनले देखाएको अवस्थालाई आधार बनाएर सरकारले वित्तीय तथा व्यवस्थापकीय खाडल क्रमशः सम्बोधन गर्नुपर्ने बताए।

‘स्वास्थ्य क्षेत्रको समग्र अपेक्षा र जिम्मेवारी पूरा गर्न स्रोत चाहिन्छ। स्रोत अभाव एउटा प्रमुख कारण हो,’ उनले भने, ‘राज्यसँग जति स्रोत छ, त्यसलाई प्राथमिकताका आधारमा व्यवस्थापन गर्नुपर्ने बाध्यता छ। तर जनताको स्वास्थ्यलाई बढी प्राथमिकता दिँदै अध्ययनले देखाएको वित्तीय खाडल सम्बोधन गर्नु महत्त्वपूर्ण छ।’

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?