११ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले सबै महानगरपालिकाका मेयर र उपमेयरलाई समान मर्यादाक्रम कायम गर्न माग गरेका छन् ।
काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखलाई अन्य महानगरपालिकाका प्रमुख तथा उपप्रमुखभन्दा उच्च राष्ट्रिय मर्यादाक्रममा राखिएको व्यवस्थालाई पुनरावलोकन गरी समान बनाउन माग गर्दै उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र नै लेखेका छन् ।
पत्रमार्फत उनले देशका सबै महानगरपालिकाका प्रमुख र उपप्रमुखको राष्ट्रिय मर्यादाक्रम समान बनाउन आग्रह गरेका हुन् ।
हाल प्रचलित राष्ट्रिय मर्यादाक्रममा काठमाडौं महानगरपालिकाका प्रमुखलाई दशौं मर्यादाक्रममा राखिएको छ । अन्य महानगरपालिकाका प्रमुखलाई ११ औं मर्यादाक्रममा राखिएको छ ।
सांसद न्यौपानेले संविधानले संघ, प्रदेश र स्थानीय तह गरी राज्यशक्तिको संरचना निर्धारण गरेको तथा स्थानीय तहको कार्यकारी संरचना र नगर कार्यपालिकाका प्रमुख तथा उपप्रमुखको संवैधानिक हैसियत स्पष्ट गरेको उल्लेख गरेका छन् ।
उनका अनुसार संघीय शासन व्यवस्थाको मूल मर्म राज्यका सबै तह, संरचना र निर्वाचित जनप्रतिनिधिको संस्थागत अस्तित्व, स्वायत्तता, सम्मान र प्रतिष्ठालाई समान रूपमा स्वीकार गर्नु हो ।
संविधानको धारा १८ ले कानुनको समान संरक्षण र समानताको हक प्रत्याभूत गरेको तथा समान प्रकृति, जिम्मेवारी र कानुनी हैसियत भएका पदाधिकारीबीच राज्यका तर्फबाट गरिने व्यवहारमा वस्तुगत र न्यायोचित आधारबिना विभेद गर्न नहुने उनको तर्क छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले पनि संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वय प्रवर्द्धन गर्दै स्थानीय शासन प्रणालीलाई सुदृढ गर्ने उद्देश्य लिएको उनले पत्रमा उल्लेख गरेका छन् ।
न्यौपानेले काठमाडौं, ललितपुर, पोखरा, भरतपुर, विराटनगर तथा वीरगञ्ज महानगरपालिकाका प्रमुख र उपप्रमुख समान संवैधानिक तथा कानुनी व्यवस्थाअन्तर्गत निर्वाचित पदाधिकारी भएको भन्दै उनीहरूको निर्वाचन प्रक्रिया, पदीय हैसियत, कार्यकाल, स्थानीय कार्यपालिकामा भूमिका र जनताप्रतिको उत्तरदायित्व समान प्रकृतिको रहेको बताएका छन् ।
‘काठमाडौं महानगरपालिकाका प्रमुख वा उपप्रमुखको संवैधानिक पद अन्य महानगरपालिकाका प्रमुख वा उपप्रमुखको भन्दा उच्च रहेको कुनै संवैधानिक वा कानुनी व्यवस्था छैन,’ पत्रमा उल्लेख छ ।
उनले काठमाडौं महानगरपालिकाका नागरिकले दिएको जनादेश अन्य महानगरपालिकाका नागरिकले दिएको जनादेशभन्दा मूल्यवान् नहुने बताएका छन् ।
यस्तै, राजधानीको आधारमा अन्य महानगरपालिकाका नागरिकको मत, सहभागिता र लोकतान्त्रिक अधिकारलाई औपचारिक मर्यादाक्रममा समेत तुलनात्मक रूपमा तल राख्ने विद्यमान व्यवस्थाले समानताको संवैधानिक भावना र संघीयताको सहअस्तित्वमूलक मान्यतामाथि प्रश्न उठाएको उनले बताएका छन् ।
राजधानीको प्रशासनिक तथा राष्ट्रिय महत्त्वलाई आवश्यकताअनुसार छुट्टै प्रोटोकल वा समारोह व्यवस्थापनबाट सम्बोधन गर्न सकिने भए पनि त्यसका लागि अन्य महानगरपालिकाका निर्वाचित जनप्रतिनिधिको राष्ट्रिय मर्यादाक्रम घटाउनुपर्ने अनिवार्यता नरहेको उनको भनाइ छ ।
न्यौपानेले प्रधानमन्त्रीसमक्ष दुई माग राखेका छन् ।
पहिलो, राष्ट्रिय मर्यादाक्रम पुनरावलोकन गरी काठमाडौं महानगरपालिकासहित देशका सबै महानगरपालिकाका प्रमुखलाई एउटै राष्ट्रिय मर्यादाक्रममा र सबै महानगरपालिकाका उपप्रमुखलाई पनि एउटै राष्ट्रिय मर्यादाक्रममा कायम गर्न व्यवस्था मिलाउनुपर्ने भन्ने रहेको छ ।
दोस्रो, राष्ट्रिय मर्यादाक्रमलाई संविधानको भावना, संघीयताको मर्म, समानताको सिद्धान्त तथा निर्वाचित जनप्रतिनिधिको संस्थागत सम्मानअनुकूल बनाउन आवश्यक कानुनी व्यवस्था निर्माणको प्रक्रिया अघि बढाउनुपर्ने रहेको छ ।
प्रतिक्रिया 4