+

नेपाल फुटबल लिगमा थपियो धरान, वीरगंज र सुर्खेतको टिम, १० वटै टोलीको लाग्यो टुंगो

२०८३ मंसिर  ११ गते १८:५५ २०८३ मंसिर ११ गते १८:५५

११ मंसिर, काठमाडौं । नेपाल फुटबल लिग (एनएफएल) को पहिलो संस्करणमा धरान, वीरगंज र सुर्खेतको टिम थपिएपछि लिग खेल्ने १० वटै टोलीको टुंगो लागेको छ ।

प्रतियोगिताका लागि थप तीन नयाँ टोली छनोट भएसँगै सहभागी हुने सबै टोली निश्चित भएका हुन् ।

एनएफएलका अध्यक्ष कल्याण गुरुङका अनुसार २० टोलीले बोलपत्र पेस गरेकामा धरान, वीरगञ्ज र सुर्खेतका टोली छनोट भएका छन् ।

छनोट भएका टोलीमध्ये धरानको प्रतिनिधित्व हिमालय टेलिभिजन नेटवर्कले गर्नेछ । धरानको टोलीमा अभिनेता दयाहाङ राई र पूर्वफुटबल खेलाडी केन्द्र लिम्बू पनि आबद्ध छन् । त्यस्तै, वीरगञ्जको टोली अल स्टार स्पोर्ट्स म्यानेजमेन्टको नेतृत्व उत्सव सिग्देलले गर्नेछन् ।

सिग्देल नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सका पूर्व सह-मालिक हुन्। सुर्खेतको प्रतिनिधित्व एलाइड कन्टिनेन्टलले गर्नेछ । उक्त टोलीमा रचितकुमार अग्रवालसँगै नेपाल हिलटप इन्डस्ट्रिज प्रालि (नेपाटप)का निर्देशक दिगेन श्रेष्ठ तथा अस्ट्रेलियामा रहेका सुजित बस्नेत र सबिन श्रेष्ठ आबद्ध छन् ।

बोलपत्र प्रक्रियामा धरानका लागि ३ करोड १ लाख रुपैयाँ, वीरगञ्जका लागि २ करोड ५१ लाख रुपैयाँ र सुर्खेतका लागि २ करोड ५० लाख रुपैयाँको प्रस्ताव पेस गरिएको थियो । यी प्रस्तावमा यी तिनै टोलीले सफलता हात पारेका हुन् ।

तीन टोली छनोट भएपछि गुरुङले नेपाली फुटबलमा अझै धेरै सम्भावना रहेको बताएका छन् । ‘तीन टोलीका लागि बोलपत्र आह्वान गर्दा २० टोली इच्छुक देखिनु भनेको अझै नेपाली फुटबलमा धेरै सम्भावना रहेको देखिन्छ । तीमध्ये हामीसँग जोडिनुभएका तीन टोलीलाई बधाई दिन चाहन्छु,’ उनले भने ।

यसपटक छनोट हुन नसकेका बाँकी १७ टोलीलाई पनि आगामी दिनमा कुनै न कुनै स्वरूपमा समेट्ने प्रयास गरिने गुरुङले बताए । ‘हामीसँग यसपटक जोडिन नसक्नुभएका बाँकी १७ टोलीलाई भने आगामी दिनमा कुनै न कुनै स्वरूपमा समेट्ने प्रयास गर्नेछौँ,’ उनले भने ।

एनएफएलको पहिलो संस्करणमा १० टोली सहभागी हुनेछन् । प्रतियोगिता फागुन १ देखि सुरु हुनेछ । ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन हुने प्रतियोगिताका सात टोली यसअघि नै निश्चित भइसकेका थिए ।

यसअघि छनोट भएका सात टोलीमा काठमाडौं रेजर्स, ललितपुर सिटी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी र झापा एफसी छन् ।

एनएफएल नेपाल फुटबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय