+
एनएफएल :

हिमालय स्पोर्ट्सको स्वामित्वमा धरानको टिम, दयाहाङ र केन्द्र लिम्बु पनि साझेदार

२०८३ मंसिर  ११ गते २०:२० २०८३ मंसिर ११ गते २०:२०

११ मंसिर, काठमाडौं । नेपाल फुटबल लिग (एनएफएल) को पहिलो संस्करणमा धरान टिमको स्वामित्व हिमालय स्पोर्ट्सले लिएको छ ।

आगामी फागुन १ गतेदखि सुरु गर्ने भनिएको एनएफएलका लागि शुक्रबार तीन नयाँ टोलीको नाम घोषणा गरिएको हो । छनोट भएका टोलीमध्ये धरानको प्रतिनिधित्व धरान बुल्स एफसीले गर्नेछ ।

जसमा धरानको स्वामित्व हिमालय टेलिभिजन नेटवर्कअन्तर्गतको हिमालय स्पोर्ट्सले लिएको छ ।

धरान बुल्समा अभिनेता दयाहाङ राई र पूर्वफुटबल खेलाडी केन्द्र लिम्बूको पनि साझेदारी रहेको छ ।

खेलकुदलाई माया गर्ने दयाहाङ राई नेपाली चलचित्रका चर्चित अभिनेता मध्ये एक हुन् । यस्तै केन्द्र लिम्बु पूर्व फुटबल खेलाडी समेत हुन् ।

हिमालय स्पोर्ट्सले नेपाली खेलकुदमा दीर्घकालीन योगदान गर्ने उद्देश्यसहित क्लबको स्वामित्व लिएको जनाएको छ ।

हिमालय स्पोर्ट्सका निर्देशक तथा सीईओ सुरज गिरीले धरान बुल्सको स्वामित्व सम्हाल्न पाउनु हिमालय टेलिभिजन नेटवर्कका लागि गर्वको विषय भएको बताएका छन् ।

‘धरान बुल्स एफसीको स्वामित्व सम्हाल्न पाउनु हिमालय टेलिभिजन नेटवर्कका लागि गर्वको कुरा हो । हाम्रो लक्ष्य धरान बुल्सलाई यस्तो क्लब बनाउनु हो जहाँ स्थानीय खेलाडीले आफ्नै सहरको जर्सी लगाएर खेल्ने अवसर पाऊन् र समर्थकले पुस्तौँसम्म ”यो हाम्रो क्लब हो” भनेर गर्व गर्न सकून्’ गिरीले भने ।

एनएफलका लागि तीन नयाँ टोली छनोट भएसँगै लिग खेल्ने १० वटै टोली निश्चित भएको छ ।

एनएफएलका अध्यक्ष कल्याण गुरुङका अनुसार ३ नयाँ टिमका लागि २० समूहले बिड गरेका थिए । तीमध्ये धरान, वीरगञ्ज र सुर्खेतका टोली छनोट भएका छन् ।

एनएफएलको पहिलो संस्करणमा सहभागी हुने १० टोलीको टुंगो लागेसँगै प्रतियोगिताको तयारीले थप गति लिने अपेक्षा गरिएको छ ।

एनएफएल नेपाल फुटबल लिग हिमालय स्पोर्ट्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय