+
+
Shares

स्पेननजिकै समुद्रमा अलपत्र डुङ्गामा १५ आप्रवासीको शव फेला

इन्जिन बिग्रिँदा तीन दिन फसेका थिए १०० जना

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १२ गते १२:३८

१२ मंसिर, काठमाडौं । स्पेनको क्यानरी आइल्यान्ड्सनजिकै शुक्रबार समुद्रमा आप्रवासी सवार एउटा डुङ्गामा १५ जनाको शव फेला परेको छ। डुङ्गाको इन्जिन खराब भएपछि करिब १०० जना आप्रवासी तीन दिनसम्म समुद्रमै अलपत्र परेका थिए।

स्पेनी सञ्चारमाध्यमका अनुसार अलपत्र परेको अवधिमा खानेकुरा र पिउने पानी सकिएपछि केही यात्रुले तिर्खा मेट्न समुद्रको नुनिलो पानी पिएका थिए। यसका कारण शरीरमा पानीको मात्रा कम हुँदा उनीहरूको ज्यान गएको हो।

गम्भीर अवस्थामा रहेका ६ जनालाई हेलिकोप्टरमार्फत अस्पताल पुर्‍याइएको छ भने डुङ्गामा सवार अन्य सबै यात्रुको उद्धार गरिएको छ। उक्त डुङ्गा पश्चिम अफ्रिकी मुलुक गाम्बियाबाट युरोप प्रवेश गर्ने प्रयासमा रहेका आप्रवासीलाई बोकेर हिँडेको थियो।

७२ किलोमिटर टाढाबाट डुङ्गा तानेर बन्दरगाहमा ल्याइयो

स्पेनको समुद्री उद्धार टोलीले उक्त डुङ्गा क्यानरी आइल्यान्ड्सको एल हिएरो टापुबाट करिब ७२ किलोमिटर दक्षिणतर्फ फेला पारेको थियो। त्यसपछि डुङ्गालाई तानेर ला एस्टाका बन्दरगाहमा ल्याइएको छ।

अर्कोतर्फ, जीवितै उद्धार गरिएका आप्रवासीहरू अर्को डुङ्गामार्फत सुरक्षित रूपमा एल हिएरो टापुको ला रेस्टिङ्गा बन्दरगाहमा पुगेका छन्। त्यहाँ आप्रवासीहरूको बसोबास र उपचारका लागि विशेष केन्द्र बनाइएको छ।

युरोप प्रवेशको मुख्य मार्ग र बढ्दो चाप

आन्ध्र महासागरमा अफ्रिकाको उत्तर–पश्चिमी तटनजिकै अवस्थित क्यानरी आइल्यान्ड्स स्पेनको भूभाग हो। पश्चिम अफ्रिकाका विभिन्न देशबाट आप्रवासीहरू समुद्री मार्ग हुँदै यहाँ पुग्ने र त्यहाँबाट स्पेन तथा युरोपेली सङ्घमा प्रवेश गर्ने प्रयास गर्छन्।

सन् २०२४ मा ४६ हजारभन्दा बढी आप्रवासी यहाँ आइपुगेका थिए, जुन हालसम्मकै सर्वाधिक तथ्याङ्क हो। पछि समुद्रमा निगरानी बढाइएपछि र अन्य देशहरूसँगको सहकार्यका कारण आप्रवासीको सङ्ख्या घटेको थियो।

तर, गत अक्टोबरदेखि क्यानरी आइल्यान्ड्समा आप्रवासी आउने क्रम पुनः बढ्न थालेको छ। यही साता एकै दिनमा कीर्तिमानी २ हजार १ सय आप्रवासी यहाँ आइपुगेका थिए। तीमध्ये अधिकांश करिब ११ हजार ४ सय जनसङ्ख्या रहेको एल हिएरो टापुमा उत्रिएका थिए।

चाप बढेसँगै यसै महिनाको सुरुमा अधिकारीहरूले त्यहाँ आपत्काल घोषणा गरेका थिए। गत १४ नोभेम्बरमा मात्र एकै दिन करिब १ हजार ५ सय आप्रवासीको उद्धार गरिएको थियो।

स्पेनको आम निर्वाचनमा प्रमुख मुद्दा

आप्रवासीको मृत्युको यो घटना स्पेनको आम निर्वाचनको ठिक दुई दिनअघि सार्वजनिक भएको हो। आइतबार हुने निर्वाचनको प्रचारप्रसारमा आप्रवासन प्रमुख राजनीतिक मुद्दा बनेको छ।

प्रधानमन्त्री पेद्रो सान्चेजले आप्रवासीको आगमन देशको अर्थतन्त्रका लागि फाइदाजनक हुने बताउँदै आएका छन् भने दक्षिणपन्थी दलहरूले आप्रवासी प्रवेशमा कडा प्रतिबन्ध लगाउनुपर्ने माग गरिरहेका छन्।

सेनेगलबाट हिँडेको १७२ यात्रु सवार अर्को डुङ्गा बेपत्ता

यसैबीच, अफ्रिकी मुलुक सेनेगलबाट स्पेनतर्फ हिँडेको अर्को एउटा डुङ्गासमेत बेपत्ता भएको छ। थुप्रै युवा माझीसहित करिब १ सय ७२ जना सवार उक्त डुङ्गा गत ९–१० नोभेम्बरमा सेनेगलको तटीय क्षेत्र योफबाट प्रस्थान गरेको थियो।

दुई साताभन्दा बढी समय बितिसक्दा पनि डुङ्गाको कुनै पत्तो नलागेपछि स्थानीय बासिन्दाले व्यापक स्तरमा खोजी अभियान चलाउन माग गरेका छन्।

स्थानीय अगुवाहरूका अनुसार आर्थिक सङ्कट र माछा मार्ने पेसामा अवसर खुम्चिँदै गएकाले युवाहरू ज्यान जोखिममा राखेर युरोप जाने प्रयास गरिरहेका छन्।

(एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?