१२ मंसिर, धादिङ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको धादिङ जिल्ला सभापति चयनका लागि सहमतिको प्रयास अझै सफल हुन सकेको छैन ।
सभापति पदमा चार जनाले उम्मेदवारी दर्ता गराएपछि नेतृत्व चयनमा सहमति जुटाउन नेताहरूले गरेको प्रयास निष्कर्षविहीन बनेको छ ।
१५ कात्तिकमा नेता प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा अधिवेशन उद्घाटन गरिएको थियो । उद्घाटनपछि सोही दिन उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको थियो ।
उम्मेदवारी दर्ता प्रक्रिया अघि बढाउँदा १६ कात्तिक बिहानदेखि निर्वाचन प्रक्रिया सुरु हुने भनिएको थियो । तर, अहिलेसम्म पनि निर्वाचन प्रक्रिया सुरु नभएको सभापतिका उम्मेदवार विकास अधिकारीले बताए ।
धादिङका पूर्व उपसभापति रामकृष्ण अधिकारी, अधिवेशन सम्पन्न गर्न गठित तयारी समितिका संयोजक गोपाल विश्वकर्मा, राष्ट्रिय युवा परिषद्का पूर्व बोर्ड सदस्य एवं नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्य विकास अधिकारी र तरुण दल धादिङका पूर्व जिल्ला उपाध्यक्ष रवि सुदन थापा उम्मेदवार रहेका छन् ।
उम्मेदवार अधिकारीले अनलाइनखबरसँग कुरा गर्दै निर्वाचन प्रक्रिया अघि बढिरहेको र सहमतिका लागि पनि छलफल भइरहेको बताए । निर्वाचन भए आफू प्रतिस्पर्धाका लागि तयार रहेको उनको भनाइ छ ।
अधिकारीले युवालाई नेतृत्व दिने गरी सहमति भए आफू सभापति बन्न तयार रहेको उल्लेख गर्दै सहमतिबाट जो सभापति बने पनि आफ्नो सहयोग रहने बताएका छन् ।
तर, अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पाएका तयारी समिति संयोजक विश्वकर्मा आफैं सभापतिका दाबेदार भएपछि सहमति जुटाउने प्रयास थप जटिल बनेको देखिन्छ ।
निर्वाचन अधिकृत रामचन्द्र भट्टले अनलाइनखबरसँग सहमतिको प्रयास जारी रहेको बताएका छन् । ‘सहमतिका लागि प्रयास भइरहेको छ,’ उनले भने, ‘अब आज–भोपलमा हुन्छ होला सहमति ।’
प्रतिक्रिया 4