१२ मंसिर, काठमाडौँ । भारतको केन्द्र सरकारले यही मङ्सिर १५ देखि संसद्को चारदिने विशेष अधिवेशन आह्वान गरेको छ। केन्द्रीय संसदीय कार्यमन्त्री किरण रिजिजुका अनुसार अधिवेशन डिसेम्बर ३ सम्म चल्ने सम्भावना छ।
शुक्रबार मात्रै भारतीय मन्त्रिपरिषद्ले स्वीकृति दिएको निर्वाचन क्षेत्र पुनर्निर्धारण अर्थात् डीलिमिटेसन र महिला आरक्षणसम्बन्धी संशोधित संविधान संशोधन विधेयक यसै अधिवेशनमा पुनः पेस गर्ने सरकारको तयारी छ।
गत अप्रिलमा लोकसभामा आवश्यक समर्थन जुटाउन नसक्दा अस्वीकृत भएको यो विधेयकलाई नरेन्द्र मोदी नेतृत्वको सरकारले यसपटक नयाँ स्वरूपमा फर्काएको छ। यसपटक विधेयकमा दुईवटा ठूला परिवर्तन गरिएका छन् ।
पहिलो, निर्वाचन क्षेत्र पुनर्निर्धारण (डीलिमिटेसन) लाई नयाँ जनगणनाको सर्तबाट अलग गरिएको छ।
दोस्रो, भारतका सबै राज्यमा लोकसभाको सिट सङ्ख्या समान रूपमा ५० प्रतिशतले वृद्धि गर्ने प्रस्ताव राखिएको छ।
सरकारले यस कदमबाट ३३ प्रतिशत महिला आरक्षण लागू गर्ने बाटो खुल्ने तर्क गरेको छ। तर, जनसङ्ख्याको आधार नै हटाइसकेपछि सबै राज्यमा समान रूपमा ५० प्रतिशत सिट बढाउने संवैधानिक सिद्धान्त के हो भन्ने प्रश्न आलोचकहरूले उठाएका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार यो संविधान संशोधन मात्र नभई सन् २०२९ को आम निर्वाचन, विपक्षी एकता, दक्षिण भारतीय राज्यहरूको चासो र महिला मतदातालाई आकर्षित गर्ने भाजपाको बृहत् रणनीतिको हिस्सा हो।
नेपाली पाठकका लागि भारतीय राजनीतिको यो महत्त्वपूर्ण घटनाक्रम र यसका भित्री आयामलाई विभिन्न कोणबाट बुझ्न आवश्यक छ :
१. दक्षिण भारत र विपक्षीका ठुला आपत्ति किन मत्थर भए ?
भारतमा निर्वाचन क्षेत्र पुनर्निर्धारणको सबैभन्दा ठूलो विवाद उत्तर र दक्षिण भारतीय राज्यहरूबीचको शक्ति सन्तुलनसँग जोडिएको छ। भारतका वरिष्ठ पत्रकार रामकृपाल सिंहका अनुसार नयाँ प्रस्तावमार्फत सरकारले दक्षिण भारतीय राज्यहरूको सबैभन्दा प्रमुख चिन्ता सम्बोधन गरेको छ।
यदि डीलिमिटेसनलाई नयाँ जनगणनासँग जोडिएको भए जनसङ्ख्या वृद्धिदर उच्च भएका उत्तरी राज्यहरू- विशेषगरी उत्तर प्रदेश र बिहारले अतिरिक्त सिटको ठूलो लाभ पाउँथे भने जनसङ्ख्या नियन्त्रणमा सफल दक्षिणी राज्यहरूको संसदीय प्रतिनिधित्व तुलनात्मक रूपमा खुम्चिन्थ्यो।
दशकौँसम्म परिवार नियोजन नीति पालना गरेका राज्यहरूलाई कम जनसङ्ख्या वृद्धि भएकै कारण राजनीतिक रूपमा दण्डित गर्न नमिल्ने तर्क गर्दै सिंह भन्छन्, ‘सबै राज्यमा समान ५० प्रतिशत सिट वृद्धि गर्ने र राज्यहरूको मौजूदा अनुपात कायम राख्ने निर्णयले यो विवाद निकै हदसम्म समाप्त गरेको छ।’
वरिष्ठ राजनीतिक पत्रकार शरद गुप्ताका अनुसार एकपटक सदनमा गिरिसकेको संविधान संशोधन विधेयक पारित हुनेमा आवश्यक सङ्ख्याबलको पूर्ण भरोसा नभई सरकारले विशेष अधिवेशन बोलाउँदैन।

बिजनेस स्ट्यान्डर्डकी वरिष्ठ पत्रकार अदिति फडनिस अप्रिलयता भारतको राजनीतिक समीकरणमा ठुलो बदलाव आएको बताइन्। उनका अनुसार पर्याप्त तयारीबिना संविधान संशोधनजस्तो महत्त्वपूर्ण विधेयक सदनमा अस्वीकृत हुनु कुनै पनि सरकारका लागि लज्जास्पद अवस्था हुन्छ, त्यसैले यसपटक विधेयक कुनै हालतमा नखसोस् भनी पर्दापछाडि व्यापक गृहकार्य गरिएको छ।
लोकसभाको गणितमा आएको परिवर्तन औँल्याउँदै फडनिस भन्छिन्, ‘तृणमूल कङ्ग्रेस (टीएमसी) मा विभाजन आएको छ र बागी समूहले भाजपालाई समर्थन गरिरहेको छ। अर्कोतिर लोकसभामा २२ सिट रहेको डीएमकेले आफ्नो राज्यको सिट घट्नु हुँदैन भन्दै आएको थियो। जनसङ्ख्याका आधारमा सिट बढाउने सर्तबाट सरकार पछि हटेपछि डीएमकेको मुख्य विवादित मुद्दा सुल्झिएको सङ्केत देखिन्छ।’
उनका अनुसार डीएमकेले प्रतीकात्मक विरोध मात्र गर्न सक्छ, कडा प्रतिरोध गर्ने छेकछन्द छैन। त्यस्तै वाईएसआर कङ्ग्रेसले पनि विधेयकमा समर्थन जनाउने सङ्केत दिएको छ।
२. जनगणनाको सर्त किन हटाइयो ?
भारतमा कोभिड महामारीका कारण सन् २०२१ को जनगणना हुन सकेन। रामकृपाल सिंहका अनुसार यदि सरकारले जनगणना सम्पन्न हुने र त्यसपछि डीलिमिटेसन प्रक्रिया पूरा हुने प्रतीक्षा गरिरह्यो भने महिला आरक्षणको कार्यान्वयन लामो समयसम्म पर धकेलिन्थ्यो। त्यसैले राजनीतिक प्रतिनिधित्व र महिला आरक्षणमा ढिलाइ नहोस् भनेरै डीलिमिटेसनलाई जनगणनाबाट अलग गरिएको हो।
वरिष्ठ पत्रकार शरद गुप्ताले यसको अर्को व्यावहारिक कारण औँल्याएका छन्। मणिपुरको परिस्थितिलाई ध्यानमा राख्दै त्यहाँको उच्च अदालतले सन् २०२७ को अप्रिलसम्म जनगणनामा रोक लगाएको छ। त्यसपछि पनि अनुसूचित जाति–जनजाति (एससी–एसटी), अन्य पिछडा वर्ग (ओबीसी), उमेर समूहलगायत तथ्याङ्कलाई अन्तिम रूप दिन थप समय लाग्छ।
‘सरकारले अर्को एक वर्ष पर्खिएको भए सन् २०२८ आउँथ्यो र सन् २०२९ को आम निर्वाचन नजिकिँदा डीलिमिटेसन पूरा गर्न कठिन हुन्थ्यो,’ गुप्ताको विश्लेषण छ।
तर, जनगणनाको आधार हटाएर ५० प्रतिशत सिट बढाउने सूत्रमाथि अदिति फडनिसले गम्भीर संवैधानिक प्रश्न उठाएकी छन्। उनी भन्छिन्, ‘जब जनसङ्ख्यालाई आधार बनाइएको छैन भने ५० प्रतिशत वृद्धिको तर्क के हो ? महिला आरक्षण ३३ प्रतिशत किन र सिट वृद्धि ५० प्रतिशत किन ? कुन सङ्गठनात्मक वा संवैधानिक सिद्धान्तका आधारमा यो डीलिमिटेसन गरिँदै छ भन्ने स्पष्ट छैन।’

यसको प्रतिवादमा रामकृपाल सिंहले आजको विशाल जनसङ्ख्याको तुलनामा लोकसभाको आकार सानो भएको र एक सांसदले अत्यधिक जनसङ्ख्याको प्रतिनिधित्व गर्नुपरिरहेकाले सिट बढाउनुपरेको तर्क गरे।
उनका अनुसार मौजूदा सांसदहरूको सिटमा ठुलो धक्का नपर्ने गरी ३३ प्रतिशत महिला आरक्षण लागू गर्न पनि सिट सङ्ख्या बढाउनु आवश्यक बनेको थियो।
३. के विपक्षी गठबन्धनले अब यो विधेयक रोक्न सक्छ ?
विश्लेषकहरूका अनुसार अप्रिलको तुलनामा अहिले विपक्षी ‘इन्डिया’ गठबन्धन कमजोर र विभाजित अवस्थामा देखिन्छ। डीएमके, तेलुगु राजनीतिका केही दल, टीएमसीको बागी समूह र महाराष्ट्रका केही विपक्षी दलले समेत समर्थनको सङ्केत दिएपछि कङ्ग्रेस र इन्डिया गठबन्धनसँग विकल्प निकै सीमित बचेका छन्।
शरद गुप्ताका अनुसार भाजपाले बेलाबेला महत्त्वपूर्ण कानुनी र संवैधानिक निर्णय अचानक अघि सारेर विपक्षलाई तयारी गर्ने समय नै नदिने एम्बुस स्ट्राटेजी अर्थात् अचानक प्रहारको रणनीति अपनाउँछ।
‘अघिल्लो पटक पनि विपक्ष पूर्ण तयार थिएन। यसपटक पनि विपक्ष विभाजित र तयारीविहीन रह्यो भने भाजपालाई विधेयक पारित गराउन सहज मात्र होइन, ठूलो राजनीतिक लाभसमेत मिल्नेछ,’ उनले भने।
अदिति फडनिसका अनुसार विधेयक पारित भएमा कङ्ग्रेससहितका विपक्षी दलहरू डीलिमिटेसनपछि बन्ने नयाँ निर्वाचन क्षेत्रकै हिसाबले चुनावमा उत्रिन बाध्य हुनेछन्।
४. निर्वाचन क्षेत्र हेरफेरबाट भाजपाले राजनीतिक लाभ लिने आरोपमा कति दम छ ?
डीलिमिटेसन प्रक्रियामार्फत सत्तारूढ दलले आफ्नो अनुकूल हुने गरी निर्वाचन क्षेत्रको सीमाङ्कन (जेरिम्यान्डरिङ) गर्न सक्ने आशङ्का भारतमा व्यापक छ। असम र अन्य केही राज्यको डीलिमिटेसनलाई लिएर उठेका आरोपलाई रामकृपाल सिंह राजनीतिक आरोप–प्रत्यारोप मात्र मान्छन् भने शरद गुप्ता ती प्रक्रियाले गम्भीर प्रश्न उठाएको स्वीकार गर्छन्।
निर्वाचन आयुक्तहरूको निष्पक्षतामाथि पहिले नै विवाद रहेकाले डीलिमिटेसनको विश्वसनीयता कायम राख्न सम्पूर्ण प्रक्रिया निष्पक्ष देखिनुपर्ने गुप्ताको भनाइ छ।
अदिति फडनिसका अनुसार निर्वाचन क्षेत्रको नयाँ सीमाङ्कनले सामाजिक, जातीय र धार्मिक समीकरणलाई सोझै प्रभावित पार्छ। एउटा ऐतिहासिक उदाहरण दिँदै उनी भन्छिन्, ‘सन् १९९७ मा गुजरात विधानसभाको डीलिमिटेसन हुँदा अमित शाहले त्यस प्रक्रियालाई निकै नजिकबाट बुझेका र भूमिका खेलेका थिए। त्यसयता आजसम्म भएका कुनै पनि चुनावमा कङ्ग्रेस गुजरातको सत्तामा फर्किन सकेको छैन।’
निर्वाचन क्षेत्रको सीमा हेरफेरले चुनावी राजनीतिमा पार्ने दीर्घकालीन असरलाई अमित शाह र भाजपाले गहिरोसँग बुझेको उनको आकलन छ।
५. एउटै भोट नबढाई भाजपाले कसरी जित्न सक्छ नयाँ सिट ?
कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपकेले शनिबार सामाजिक सञ्जाल एक्स मार्फत निर्वाचन क्षेत्रको सीमाङ्कन बदल्दा बिनाकुनै नयाँ मत कसरी चुनावी नतिजा उल्टिन सक्छ भन्ने गणितीय उदाहरण पेस गरेका छन् ।
उनका अनुसार, डीलिमिटेसनअघि १,००० मतदाता भएको १ निर्वाचन क्षेत्र छ भने उक्त क्षेत्रमा भाजपाले ४०० मत र विपक्षले ६०० मत पाउँछ। नतिजामा विपक्षले १ सिट जित्छ, भाजपा शून्य हुन्छ ।
डीलिमिटेसनपछि ५००–५०० मतदाता भएका २ निर्वाचन क्षेत्र बनाइँदा क्षेत्र १ मा भाजपा २६० मत, विपक्ष २४० मत हुँदा नतिजामा भाजपा विजयी हुन्छ । त्यस्तै, क्षेत्र २ मा भाजपा १४० मत, विपक्ष ३६० मत नतिजाको पोल्टामा जान्छ ।
दीपकेको दाबीअनुसार यस अवस्थामा विपक्षले आफ्नो पुरानो एक सिट जोगाएजस्तो देखिन्छ । त्यसैले पनि केही क्षेत्रीय दलले समर्थन गरिरहेका हुन सक्छन् । तर नतिजामा पहिले एउटा पनि सिट नभएको क्षेत्रमा भाजपाले नयाँ सिट हात पार्छ।

‘मतदाता उही रहन्छन्, उनीहरूको मतदान गर्ने प्रवृत्ति पनि बदलिँदैन, तर निर्वाचन क्षेत्रको नयाँ सीमाले चुनावी नतिजा बदलिदिन्छ,’ दीपकेले उल्लेख गरेका छन्।
६. विधेयक पारित भए वा अड्किए- दुवै अवस्थामा भाजपासँग ‘विन–विन’ दाउ ?
वरिष्ठ पत्रकार रामकृपाल सिंहका अनुसार यो विधेयकमा भाजपाले दुवै परिस्थितिमा राजनीतिक लाभ लिन सक्ने अवस्था बनाएको छ ।
यदि विधेयक पारित भए भाजपाले यसलाई महिला सशक्तीकरण र राजनीतिक प्रतिनिधित्व विस्तारको ऐतिहासिक उपलब्धिका रूपमा प्रचार गर्नेछ। शरद गुप्ताले यसको तुलना धारा ३७० खारेजी र राम मन्दिर निर्माणजस्ता असम्भव मानिएका उपलब्धिसँग गरेका छन्।
यदि विधेयक अड्किएको अवस्थामा भाजपाले विपक्षी दलहरू महिलालाई राजनीतिक अधिकार दिने बाटोमा तगारो बनेको सन्देश मतदातामाझ लैजानेछ।
राज्यहरूको निर्वाचन नजिकिँदै गर्दा महिला आरक्षणको खुला विरोध गर्नु विपक्षी दलहरूका लागि राजनीतिक रूपमा कठिन हुने विश्लेषकहरूको ठम्याइ छ।
अदिति फडनिसका अनुसार महिला आरक्षणको मुद्दामा कङ्ग्रेसभन्दा भाजपा राजनीतिक रूपमा बढी सङ्गठित र तयार देखिएको छ, जसको चुनावी लाभ उठाउन उसले अन्य दलभन्दा बलियो गृहकार्य गरिसकेको छ।
(बीबीसी हिन्दीको सहयोगमा)
प्रतिक्रिया 4