बालबालिका समेत बन्दैछन् अल्गोरिदमको सिकार
मानिसहरूलाई भर्चुअल माध्यमबाट जोड्ने, भौतिक उपस्थिति वा भेटघाट हुन नसकेको अवस्थामा सम्बन्धहरूको प्रगाढतामा कमी आउन नदिने, विचारको आदानप्रदान गराउने, विश्वका कुनाकाप्चामा भइरहेका गतिविधिहरू सजिलै मानिसको हातहातमा रहेको स्क्रिनसम्म पुर्याउने काम सामाजिक सञ्जालले गरिरहेको छ। अझ वर्तमान समयमा त विभिन्न सामाजिक सञ्जालले मानिसहरूलाई कन्टेन्ट क्रिएसनमार्फत थप सिर्जनशील बन्ने र कमाउने अवसरसमेत प्रदान गरेका छन्।
तर विडम्बना, सामाजिक सञ्जालको अनियन्त्रित प्रयोगले मानिसलाई जोड्नेभन्दा बढी फुटाउने काम गरिरहेको छ। वैचारिक द्वन्द्व सिर्जना गर्ने काम गरिरहेको छ। विचारविमर्श गर्नुको सट्टा गालीगलौज फैलाउने काम भइरहेको छ।
अझ मोनिटाइजेसनको चक्करमा मान्छे जेसुकै, जस्तोसुकै उट्पट्याङ, लज्जास्पद र अश्लील काम गर्न पनि पछि पर्दैन। गलत सन्देश जाने भिडियो सामग्री, अश्लीलता फैलाउने सामग्रीहरू चाँडै नै भाइरल भइरहँदा ज्ञानवर्द्धक सामग्रीहरू भने हाइलाइटमा आउँदैनन्। नाम दिइएको छ, ‘सामाजिक सञ्जाल’ तर यसको प्रयोग यस्तो छ कि मानिसहरूलाई सामाजिक बनाउनुको सट्टा असामाजिक बनाइरहेको छ भन्दा फरक पर्दैन।
फेसबुक, टिकटक, युट्युब, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालका पृष्ठ परिवर्तन गर्दै हामी बडो मज्जासँग त्यहाँ उपलब्ध सामग्री हेरेर रमाउने गर्दछौँ। हामीलाई कतिन्जेल स्क्रिनमा बिताउने भन्ने नै थाहा हुँदैन र घण्टौँसम्म अल्मलिन्छौँ अनि ती सामाजिक सञ्जालले पनि हाम्रो रोजाइका सामग्रीहरू निरन्तर उपलब्ध गराइरहन्छन्। सामाजिक सञ्जालले मानिसको मस्तिष्कमा डोपामिन, सेरोटोनिनजस्ता आनन्दसँग सम्बन्धित रासायनिक पदार्थको सक्रियतालाई प्रभावित पार्दै क्षणिक खुसीको अनुभूति दिलाउँछ। यस्तो क्षणिक आनन्दको पुनःप्राप्तिको चाहनाले मानिसलाई पटक–पटक भर्चुअल संसारमा फर्काउँछ।

सामाजिक सञ्जालमा राखिएका विज्ञापनहरूले हामीलाई मोहित बनाउँछन् र आवश्यकता नै नभए पनि हामी त्यहाँ देखाइएका वस्तु तथा सेवा खरिद गर्न तयार हुन्छौँ। कसैको अभिव्यक्तिप्रति असन्तुष्टि भएमा तत्काल विरोध जनाउन पछि पर्दैनौँ। मानिस आफ्ना इन्द्रियहरूको अनुभूतिले निर्देशित भएर प्राकृतिक रूपमा उत्तेजित हुनु वा प्रतिक्रिया जनाउनु स्वाभाविक हो तर कुनै घट्दै नघटेको घटना, एआईको प्रयोग गरेर बनाइएको सामग्री, आफूलाई असर नै नपार्ने घटना, आफूलाई लक्षित नै नगरिएको अभिव्यक्ति स्क्रिनमा हेरेर आक्रोशित र उत्तेजित भएको पाइन्छ।
प्रयोगकर्तालाई आफूले सामाजिक सञ्जाल चलाएको अनुभूति भए पनि यदि ऊ सामाजिक सञ्जालको सामग्रीले प्रभावित भएर सोहीअनुसार बहकिन्छ भने यहाँ कसले कसलाई चलाइरहेको छ त?
अल्गोरिदमको सिकार बन्दै प्रयोगकर्ता
सामान्य भाषामा अल्गोरिदम भनेको कुनै काम कसरी गर्ने वा समस्या कसरी समाधान गर्ने भनेर कम्प्युटरलाई दिइएको निश्चित नियम, निर्देशन वा चरणहरूको समूह हो। सामाजिक सञ्जालमा प्रयोग भएका यस्ता अल्गोरिदमले प्रयोगकर्ताको रुचि र व्यवहारको विश्लेषण गरी निश्चित प्रकारका सामग्रीलाई प्राथमिकता दिने गर्दछन्। सामाजिक सञ्जालमा हामीले हेरेको, खोजेको, लाइक, कमेन्ट गरेको सामग्रीअनुसार अल्गोरिदमले हाम्रो रुचिको बारेमा धारणा बनाउँदछ र सोहीअनुसार हामीलाई मन पर्ने, आकर्षित गर्ने सामग्री, वस्तु तथा सेवा प्रसारण गर्ने गर्दछ।

अझ खतरनाक कुरा त यसले ‘फिल्टर बबल’को निर्माण गर्दछ। ‘फिल्टर बबल’लाई सरल भाषामा विचारको सीमितता वा सूचनाको संकुचित परिधिको रूपमा बुझ्न सकिन्छ। यसले हाम्रो विचार, अभिव्यक्ति, रुचि र दृष्टिकोणसँग मिल्दोजुल्दो सामग्री र मानिसहरूलाई मात्र प्राथमिकता दिई हाम्रो स्क्रिनमा देखाइदिने गर्दछ र अन्य विचार, अभिव्यक्ति, धारणालाई यसले ओझेलमा पारिदिने काम गर्दछ। निरन्तर त्यस्ता सामग्रीहरू हेरेर वा अन्य मानिसहरूले पनि हाम्रो जस्तो विचार, धारणा, संस्कार, दृष्टिकोण र दैनिकी अपनाएको देखेर व्यक्ति निष्कर्षमा पुग्छ- म साँच्चै नै सही रहेछु, मेरो अभ्यास, संस्कार, दैनिकी साँच्चै नै सही रहेछ।
यसको गहिरो असर त त्यतिबेला देखिन्छ जब फरक विचार, धारणा, संस्कार, दृष्टिकोण र अभ्यास भएको मानिस वा समूहसँग सामना गर्नुपर्ने हुन्छ। फिल्टर बबलको परिणामस्वरूप मानिस अरूको विचार वा अभ्यासलाई स्वीकार गर्न नसक्ने अवस्थामा पुग्दछ किनभने यस प्रक्रियामा मानिस बिस्तारै फरक विचार, दृष्टिकोण र सूचनाबाट टाढिँदै आफ्नो रुचि र सोचसँग मिल्ने सामग्रीको सीमित घेराभित्र रहन पुग्छ, जसले गर्दा फरक दृष्टिकोणप्रतिको असहिष्णुता बढ्दै जान्छ।
यसरी सामाजिक सञ्जालले प्रयोगकर्ताको रुचिअनुसारका सामग्रीहरू र कसैको स्वार्थ लुकेको सामग्रीहरू बारम्बार प्रसारण गरेर उसको सिकाइ र बुझाइको दायरालाई संकुचित गराउने काम गरेको छ।
सामाजिक सञ्जालमा अल्गोरिदम प्रयोगका पछाडि मुख्यतः दुई किसिमका स्वार्थ लुकेका हुन्छन्। पहिलो, प्रयोगकर्ताको रुचिअनुरूपका सामग्रीहरू प्रसारण गरेर उसलाई खुसी र सन्तुष्ट तुल्याई अधिकतम समय सामाजिक सञ्जालमा बिताइरहने बनाउनु। दोस्रो, कुनै शक्तिसम्पन्न समूहको राजनीतिक, व्यावसायिक वा अन्य स्वार्थलाई सफल बनाउन लक्षित प्रयोगकर्ताहरूलाई प्रभावित पार्नु। यसरी सामाजिक सञ्जालका मालिकहरू र अर्बपति, शक्तिसम्पन्न व्यक्ति तथा समूहको स्वार्थ लुकेको सामग्रीहरूको सिकार प्रयोगकर्ताहरू बन्ने गरेका छन्।
सामाजिक मनोविज्ञानमा परेको प्रभाव
सामाजिक सञ्जालको लाइक, कमेन्ट, भ्युज, फलोअरको आधारमा आत्ममूल्याङ्कन गर्ने प्रवृत्ति बढ्दो छ। आफूले अपलोड गरेको सामग्री भाइरल भयो भने खुसी हुने, सन्तुष्टि प्राप्त हुने र नभएको खण्डमा व्यक्तिमा निराशा बढ्ने गरेको देखिन्छ। सामाजिक सञ्जालको बढ्दो मोह र लतले गर्दा अरूको स्वीकृति र प्रशंसामा निर्भर हुने मनोविज्ञान बढेको छ। अरूको प्रशंसा र स्वीकृतिको अभावमा आफूलाई कमजोर ठान्ने, असफल ठान्ने र एक्लो अनुभव गर्ने मानिसहरूको सङ्ख्या बढ्दो छ।

भाइरल हुने र आफ्नो कन्टेन्टबाट डलर आम्दानी गर्ने लोभमा मानिसहरूले आचरण, अनुशासन र संस्कार नै भुलेर अश्लीलतातर्फ अग्रसर हुँदा नयाँ पुस्ताले समेत सोको अनुसरण गरेको पाइन्छ। पृथ्वीमा सबै व्यक्ति वा परिवार त्यति सम्पन्न हुँदैनन् कि उनीहरूले सामाजिक सञ्जालमा जे देखे त्यही कुराको अनुसरण गर्न सकून्। महँगा ग्याजेट, महँगा गाडी, आलिसान बङ्गला, स्वादिष्ट भोजन र खर्चालु जीवनशैली सबैको वशमा हुँदैन। तर यस्ता कुराहरू सामाजिक सञ्जालमा देखिँदै गर्दा त्यस्तै जीवनशैली अपनाउन नचाहने सायदै कोही होलान्। कोही भएर देखाउँछन् त कोही नभएर पनि देखाउने प्रयास गर्छन्। सामाजिक सञ्जालबाट बनेको धारणाको आधारमा कसैको हैसियत र स्तरको मापन गरिन्छ।
हामीले सुन्दै आएको एउटा भनाइ छ, ‘पैसा बोटमा फल्छ र?’ यसको अर्थ भनेको पैसा सहजै पाइँदैन, पैसाको लागि मेहनत गर्न आवश्यक छ। तर मानिसहरूले सामाजिक सञ्जाललाई पैसा फल्ने बोट ठानेर पैसा झार्नको लागि कहिले अश्लीलताको झटारो त कहिले आफ्नै आत्मसम्मानको झटारो हान्ने गरेका हुन् कि?
अनियन्त्रित प्रयोगमाथि अङ्कुश लगाउन आवश्यक
कतिपय आधारभूत तहमा अध्ययन गर्ने विद्यार्थीको समेत आफ्नो निजी मोबाइल, ल्यापटप भएको पाइन्छ। उक्त तहका बालबालिकालाई कस्ता सामग्री हेर्ने र सामाजिक सञ्जालबाट कसरी लाभ लिने भन्ने विषयमा ज्ञान नै हुँदैन। अज्ञानतामा ऊ सामाजिक सञ्जालको लत, अनलाइन गेमिङ, सट्टेबाजी आदिको सिकार हुन सक्छ र भएको पनि पाइएको छ।
डिजिटल साक्षरता नभएका प्रयोगकर्ताहरूको हातमा समेत मोबाइल फोन हुँदा उनीहरू स्क्रिनमा जे देखिन्छ त्यही हेर्छन् र धारणा बनाउँछन्। कहिले ठगीमा पर्छन्, कहिले कानुनी फन्दामा पर्छन्। नेपालमा सामाजिक सञ्जालको नियमन गर्न र यसको दुरुपयोग नियन्त्रण गर्न सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०, राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० लगायतका नीतिगत व्यवस्थाहरू भएता पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा सामाजिक सञ्जालको दुरुपयोगले झन् विकराल रूप लिएको अवस्था छ।
सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित बनाउन यसको निरन्तर निगरानी आवश्यक छ। निश्चित उमेर तोकेर सो उमेरसमूह नाघेका बालबालिकालाई मात्र सामाजिक सञ्जालको पूर्ण पहुँच प्रदान गर्नुपर्दछ। डिजिटल साक्षरता अभिवृद्धि गर्न आवश्यक छ। नेपालभित्र प्रयोग हुने हरेक सामाजिक सञ्जालका अल्गोरिदममा पारदर्शिता कायम गर्न सरकारले उक्त सामाजिक सञ्जाल कम्पनीहरूसँग उचित सम्झौता गर्नुपर्दछ।
(लेखक त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तह अध्ययनरत छन्)
प्रतिक्रिया 4