News Summary
Generated by OK AI. Editorially reviewed.- असोज १० गते नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको ८३ सालको गाईजात्राको मुख्य विषय एल्गोरिदम र डिजिटल साम्राज्यको प्रभाव बनाइयो।
११ असोज, काठमाडौं । परम्परागत रूपमा गाईजात्रामा नेताहरूलाई व्यङ्ग्य गर्ने वा उनीहरूको क्यारिकेचर उतार्ने शैली अब पुरानो भइसकेको छ । मानिसहरूको सोच, मनोरञ्जन लिने शैली र चेतनामा आएको द्रुत परिवर्तनलाई ध्यानमा राख्दै यसपालिको गाईजात्रामा डिजिटल साम्राज्य र यसले मानव मस्तिष्कमा पारिरहेको प्रभावलाई मुख्य विषय बनाइएको छ ।

असोज १० गते शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको ८३ सालको गाईजात्रामा यस्तो परिवर्तित दृश्य देखिएको हो ।
यस गाईजात्रामा सधैं जसो फरक-फरक खालको प्रहसन गर्ने मनोज गजुरेलले एल्गोरिदमलाई नै एउटा काल्पनिक पात्रका रूपमा मञ्चमा उतारेका थिए । पछिल्लो समय मानिसको सोच निर्माणदेखि एजेन्डा सेट गर्नसम्ममा एल्गोरिदमको व्यापक चर्चा र प्रभाव देखिन्छ ।

विश्व राजनीति, नेपालको राजनीति, मानिसको मनोदशा र चेतनालाई एल्गोरिदमले कसरी नियन्त्रण र परिचालन गरिरहेको छ भन्ने विषयमा गजुरेलले तिखो व्यङ्ग्य गरेका थिए । उनको साथमा चक्र दवाडीले जेनजीको प्रतिनिधि पात्रका रूपमा साथ दिएका थिए ।
त्यस्तै यसपटकको गाईजात्रामा देश चलाउने बैठक नामक शीर्षकमा अर्को प्रहसन पनि देखाइएको छ । यसमा हालको बालेन सरकारका गतिविधि र क्रियाकलापहरूलाई लक्षित गरी व्यङ्ग्य प्रहार गरिएको थियो । सो क्रममा आशिष खनाल (माड्साब)ले बालेन शाहको भूमिका निभाएका थिए भने आशिका तामाङको भूमिकामा कल्पना खतिवडाले गरेकी थिइन् ।

त्यस्तै प्रभात लामा र मेक्सम गौडेलको पनि प्रहसन थियो । त्यसमा मेक्सम गौडेलले रवि लामिछानेको क्यारिकेचर गरेका थिए ।
समग्रमा यस पटकको गाईजात्रामा विषयवस्तुको परिवर्तन देखिन्थ्यो । अझ गजुरेलले त यस पटकको समग्र प्रस्तुतिलाई एल्गोरिदम गाईजात्रा भन्न मिल्ने समेत जिकिर गरे । दर्शकहरूको हेर्ने र सुन्ने बानीमा परिवर्तन आएको परिवर्तनलाई यस पटकको गाईजात्रामा विशेष ख्याल गरिएको उनको भनाइ थियो ।
समग्रमा पुराना ढाँचाका राजनीतिक क्यारिकेचरभन्दा माथि उठेर डिजिटल साम्राज्यले मानिसको सोच र चेतनालाई कसरी आफ्नो नियन्त्रणमा राखिरहेको छ भन्ने मुख्य विषयलाई नै यस पटकको गाईजात्राको थिम थियो ।
प्रतिक्रिया 4