+
+
Shares

वर्षा रोकिएसँगै बेनी–दरवाङ सडक मर्मत थालियो

रासस रासस
२०८३ असोज १२ गते १०:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पछिल्लो झरिका कारण अवरुद्ध बेनी–दरवाङ–मुना सडकमा आइतबार अपराह्नदेखि पहिरो पन्छाउने र मर्मत गर्ने काम थालिएको छ ।
  • बेनीदेखि तातोपानीसम्म आठ किलोमिटर सडक आइतबार साँझदेखि खुलाइएको छ, र सोमबार विभिन्न पालिकामा मर्मतलाई तीव्रता दिइएको छ ।
  • बेनी–जोमसोम–कोरला सडकका विभिन्न स्थानमा कालीगण्डकीले कटान गर्दा मुस्ताङको यातायात सम्पर्कविच्छेद भएको छ ।

१२ असोज, म्याग्दी । पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक मर्मत थालिएको छ ।

गण्डकी प्रदेश सरकार मातहत रहेको धवलागिरि, मालिका, मङ्गला र बागलुङको तमानखोला गाउँपालिका जोड्ने बेनी–दरवाङ–मुना सडकको विभिन्न ठाउँमा पहिरो र बाढीले क्षति गरेर अवरुद्ध बनेको छ ।

पूर्वाधार विकास कार्यालयमार्फत उपकरण परिचालन गरेर आइतबार अपराह्नदेखि बेनीदेखि पहिरो पन्छाउने काम थालिएको म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले जानकारी दिए ।

‘पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहतका साथै जनजीवनलाई सहज बनाउनका लागि मुख्यमन्त्री र भौतिक मन्त्रालयसँग समन्वय गरेर जति सक्दो छिटो सडकमा यातायात सञ्चालनका लागि जुटेका छौँ,’ उनले भने, ‘बेनीदेखि तातोपानीसम्म आठ किलोमिटर सडकमा आइतबार साँझदेखि यातायात सुचारु भएको छ ।’

सोमबार बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमाना फापरखेत, मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा खण्ड/खण्डमा त्यहाँ उपलब्ध भएका उपकरणहरु परिचालन गरेर सडक मर्मतको कामलाई तीव्रता दिन आफैँ स्थलगत रुपमा खटिएको सांसद जुग्जालीले बताए ।

स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले आ–आफ्ना मातहत रहेका सडकहरुलाई मर्मत गरेर जति सक्दो छिटो यातायात सञ्चालनको व्यवस्था मिलाउने जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयानुुसार तीनै तहका जनप्रतिनिधि र निकायसँग समन्वय गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए ।

पछिल्लो समय रसुवा बाढीपछि चीनसँगको मुख्य व्यापारिक नाका कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकको तिल्केनीचौरमा कालीगण्डकीले सडक कटान, पोखरेबगरमा सडक पुलको पहुँचमार्ग र खामभित्तामा कटान गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

थप क्षतिको विवरण बुझेर सडक मर्मतको काम अघि बढाउन सङ्घीय सरकार मातहतको सडक विभागसँग समन्वय गरिएको प्रजिअ गैरेले बताए । बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको यातायात सम्पर्कविच्छेद भएको छ ।

कोरला नाकाबाट हुने आयात निर्यात प्रभावित भएको छ । मुुस्ताङबाट स्याउ र च्याङग्रा बिक्रीका लागि बजार पठाउन समस्या भएको छ । सोह्र श्राद्धमा कागबेनीमा हिन्दू धर्मावलम्बीहरुले पितृ तर्पण दिने गर्छन् । शरद्याम पर्यटकको याम पनि हो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?