News Summary
Generated by OK AI. Editorially reviewed.- मनाङमा आइतबार विपत्ति निम्त्याएको मौसम आज बिहानदेखि खुलेपछि चामेवासी घर फर्किन थालेका छन् ।
- ठाडो खोला र खट्टे खोलामा आएको बाढीले घर, पुल र सडकमा क्षति पुर्याएको थियो ।
- मर्स्याङ्दी नदी थुनिएको यथावत् रहेकाले खोल्ने तयारी भइरहेको सहायक सीडीओ कृष्णप्रसाद पौडेलले बताए ।
१२ असोज, पोखरा । मनाङमा आइतबारसम्म विपत्ति निम्त्याएको मौसम आज भने बिहानैदेखि खुलेको छ ।
मौसम खुलेपछि बाढी र मर्स्याङ्दी नदी थुनिएपछि डरले जंगल, सामुदायिक भवन र ब्यारेकमा रात बिताएका चामेवासीहरु पनि बिहानैदेखि घर फर्किइरहेका छन् ।
आइतबार ठाडो खोला र खट्टे खोलामा बाढी आएर कटान तथा घर, पुल, सडकमा क्षति पुर्याएको थियो । साँझ ठाडो खोलामा पहिरो खसेर आएको लेदो र हिलोले मर्स्याङ्दी नदी नदी थुनिँदा स्थानीय त्रसित बनेका थिए ।
अहिले बिहानैदेखि मनाङको आकास पनि खुलेको छ । यसले त्रास कम हुँदै गएको छ । कालो बादलको टुक्रासमेत नदेखिएको मनाङका सहायक सीडीओ कृष्णप्रसाद पौडेलले बताए । ‘बिहान सबै मौसम खुलेको छ । स्थानीय खोलामा बाढी रोकिएको छ र मानिसहरु घर फर्किएका छन् ।’
थुनिएको मर्स्याङ्दी नदी भने यथावतै रहेको र त्यो पनि खोल्ने तयारी भइरहेको उनले जानकारी दिए । मर्स्याङ्दी नदी थुनिएर कतै ठूलो ताल बन्ने त होइन भन्ने त्रास भने अब नरहेको उनले बताए । मर्स्याङ्दी थुनिएर बनेको तालको सतह नबढेको तर फेरि जोखिम बढ्न सक्ने भएकाले खोल्नुपर्ने उनको भनाइ छ ।
२०७८ सालमा स्थानीय खोला र मर्स्याङ्दीमा आएको बाढीले मनाङमा ठूलो भौतिक विनास निम्त्याएको थियो । धेरै मानिसका घर र उब्जनी हुने जग्गा बगर बनेको थियो ।
तस्वीरहरू : सहायक सीडीयो कृष्णप्रसाद पौडेल ।


प्रतिक्रिया 4