अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि भारत, चीन र बङ्गलादेशसहित १४ व्यापारिक साझेदार मुलुकमाथि नयाँ भन्सार शुल्क(ट्यारिफ)को प्रस्ताव गरेका छन् ।
जसमा चीनमाथि सबैभन्दा बढी ४० प्रतिशतसम्मको भन्सार दर प्रस्ताव गरिएको छ ।
यस्तै, भियतनाम ३५ प्रतिशतसम्मको दरसहित दोस्रो स्थानमा छ । अरू देशहरूमाथि २० प्रतिशत वा २५ प्रतिशत भन्सार शुल्कको प्रस्ताव गरिएको छ ।
नयाँ भन्सार शुल्क तोकिएका देशहरूमा चीन, भारत, बङ्गलादेश, कम्बोडिया, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, मलेसिया, सिङ्गापुर, स्विट्जरल्यान्ड, ताइवान, थाइल्यान्ड, भियतनाम र युरोपेली सङ्घ छन् ।
ट्रम्प प्रशासनले नयाँ आयात भन्सार शुल्क लगाउनुका पछाडि अतिरिक्त औद्योगिक क्षमता र अनुचित व्यापार अभ्यासहरूलाई कारण देखाएको छ ।
यो कदम चाल्नुअघि महिनौँसम्म अनुसन्धान भएको थियो ।
ट्रम्प प्रशासनका अनुसार प्रस्तावित भन्सार शुल्क अमेरिकी उद्योगहरूको रक्षा गर्ने वासिङ्टनको प्रयासका हिस्सा हुन् ।
सन् २०२६ को फेब्रुअरीमा अमेरिकी सर्वोच्च अदालतले ट्रम्पका अघिल्ला भन्सार शुल्कलाई खारेज गरेपछि वासिङ्टनले आफ्नो नयाँ व्यापारिक रूपरेखा पुनर्निर्माण गर्ने प्रयास गरिरहेको र यो त्यसैको हिस्सा रहेको दाबी गरिएको छ ।
अहिले तोकिएका नयाँ भन्सार शुल्क प्रस्ताव मात्र हुन् । यी पहिले नै लागु भइसकेका भन्सार शुल्क होइनन् । अमेरिकी प्रशासनले यी उपायहरूलाई अन्तिम रूप दिनुअघि यी उपायहरूमाथि सार्वजनिक परामर्श हुनेछ ।
पाकिस्तान भन्सार शुल्क बाहिर
ट्रम्प प्रशासनले प्रस्ताव गरेको भन्सार शुल्कहरूमा पाकिस्तान भने परेको छैन । पाकिस्तान अमेरिकाको पुरानोमध्येको एक व्यापारिक साझेदार हो । तैपनि नयाँ प्रस्तावित भन्सार शुल्कबाट उ मुक्त छ ।
यसको एउटा मुख्य कारण पाकिस्तानको निर्यात संरचनालाई मानिएको छ । अमेरिकातर्फ हुने पाकिस्तानको ढुवानी मुख्यतया कपडामा केन्द्रित छ ।
अमेरिकाको पछिल्लो अध्ययनले स्टिल, आल्मुनियम, अटोमोबाइल, मेसिनरी र इलेक्ट्रोनिक्सजस्ता उत्पादनलाई केन्द्रित गरेका कारण पाकिस्तान बाहिर परेको हुनसक्ने बताइएको छ ।
पाकिस्तानको निर्यात कसरी फरक ?
अमेरिकातर्फ हुने पाकिस्तानको निर्यात कपडामा अत्यधिक निर्भर छ । पाकिस्तान टेक्सटाइल काउन्सिलको मूल्याङ्कनअनुसार अमेरिकातर्फ पाकिस्तानको कुल निर्यातको ८२ प्रतिशत हिस्सा कपडाजन्य उत्पादनले ओगटेका छन् । सन् २०२४ मा यसको मूल्य करिब ५ अर्ब ६१ करोड ४० लाख डलर बराबर थियो ।
यस्तै, शल्यक्रियाका सामान, चिकित्सा उपकरण, प्लास्टिकका सामग्री, छालाका उत्पादन र खेलकुदका सामग्री पनि पाकिस्तानबाट अमेरिका निर्यात भएका थिए ।
तर, पाकिस्तानको भन्दा चीन र भारतबाट केही भिन्न सामग्री अमेरिका निर्यात हुने गरेका छन् ।
स्टिल, विद्युतीय सवारीसाधन र सौर्य उत्पादनसहित औद्योगिक निर्यातमा चीनको बलियो उपस्थिति छ । भारतले कपडाका साथै अटोमोबाइल, मेसिनरी, रसायन र इलेक्ट्रोनिक्स सामग्री निर्यात गर्छ ।
अमेरिका–पाकिस्तानको सम्बन्ध
ट्रम्प दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपति चुनिएपछि पाकिस्तानले वासिङ्टनसँगको आफ्नो सम्बन्ध पुनर्निर्माण गर्न उल्लेखनीय प्रयास गरेको छ ।
सन् २०२५ को सेप्टेम्बर २५ मा ट्रम्पले ह्वाइट हाउसमा पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र सेना प्रमुख फिल्ड मार्सल असिम मुनिरलाई स्वागत गरेका थिए । त्यस अवसरमा सरिफले पाकिस्तानमा विशेषगरी कृषि, प्रविधि, खानी र ऊर्जा क्षेत्रमा अझ बढी अमेरिकी लगानीको माग गरेका थिए ।
यो सम्बन्ध व्यापार, लगानी र सुरक्षा सहकार्यमा पनि विस्तार भएको छ ।
यस वर्षको फेब्रुअरी २३ मा वासिङ्टनमा आयोजित शान्ति बोर्डको उद्घाटन बैठकको साइडलाइन बैठकमा सरिफले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग भेट गरेका थिए । दुवै पक्षले प्रतिआतङ्कवादमा सहकार्यसँगै द्विपक्षीय व्यापार र आर्थिक गतिविधिहरूलाई सुदृढ पार्न सहमति जनाएका थिए ।
यता अमेरिका–इरान युद्ध रोक्न पनि पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ । जसले अमेरिकासँगको सम्बन्ध सुधारमा निकै महत्त्वपूर्ण भूमिका खेलेको छ ।
–एजेन्सीहरूको सहयोगमा
प्रतिक्रिया 4