अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको त्रिपक्षीय बैठक सकिएको छ ।
बैठकपछि ट्रम्प एयरफोर्स वान विमानमा सवार भएर अमेरिका फर्किएका छन् । बैठकस्थलबाट बाहिरिँदै गरेको उनको तस्बिर सार्वजनिक भएको छ ।
रुसी सरकारी सञ्चारमाध्यमका अनुसार पुटिन पनि बैठकस्थलबाट बाहिरिएका छन् । सार्वजनिक भिडियोमा चिनियाँ राष्ट्रपति सीले पुटिनलाई उनको गाडीसम्म पुर्याएको देखिन्छ ।
रुसी समाचार एजेन्सी तासका अनुसार तीनै नेताबीचको बैठक करिब डेढ घण्टा चलेको थियो । बैठकपछि तीनै जना राष्ट्रपतिले सञ्चारमाध्यमसँग कुनै प्रतिक्रिया दिएनन् ।
त्यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पको सवारी काफिला पनि चीनको सेन्जेनस्थित काइलिन भिल्लाबाट बाहिरिएको थियो ।
बैठक सुरु हुनुअघि ट्रम्पले तीन देशका नेताहरूको उपस्थितिमा संक्षिप्त सम्बोधन गरेका थिए । उनले विश्वका अन्य देशमा परमाणु हतियार फैलिने जोखिम रोक्न तीनै देशले मिलेर काम गर्नु अत्यन्त आवश्यक रहेको बताएका थिए ।
‘हामी इरानको मामिलामा पनि यही गरिरहेका छौँ । हामी इरानलाई परमाणु हतियार बनाउन दिने छैनौँ,’ उनले भनेका थिए ।
चीनको सेन्जेनमा एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलन आयोजना भइरहेको छ । सम्मेलनमा चीनका राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी भएका थिए ।
प्रतिक्रिया 4