+
+
Shares

अफगानिस्तानमा विद्यालयनजिकै विस्फोट : १० बालबालिकाको मृत्यु, १०० भन्दा बढी घाइते

कुनार प्रहरीका अनुसार शनिबार बिहान करिब १० बजे असदाबाद सहरको बाहिरी इलाका अन्डार सेरमा उक्त घटना भएको हो।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १२ गते १८:३६

१२ मंसिर, काबुल । अफगानिस्तानको पूर्वी कुनार प्रान्तस्थित एक विद्यालयनजिकै शनिबार भएको शक्तिशाली विस्फोटमा १० बालबालिकाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।

तालिबान सरकारको गृह मन्त्रालयका प्रवक्ताले बीबीसीलाई उक्त जानकारी दिएका हुन्। यसअघि विस्फोटमा ६ देखि ७ जना बालबालिकाको मृत्यु भएको विवरण बाहिरिएको थियो।

विद्यालयको ठिक छेउमा रहेको विस्फोटक पदार्थ (डाइनामाइट) भण्डारण गर्ने गोदाममा विस्फोट भएको हो। कुनार प्रहरीका अनुसार शनिबार बिहान करिब १० बजे असदाबाद सहरको बाहिरी इलाका अन्डार सेरमा उक्त घटना भएको हो।

कुनारको सूचना तथा संस्कृति विभागका निर्देशकले उक्त गोदाममा खानी उत्खनन गर्ने कम्पनीहरूको विस्फोटक पदार्थ राखिएको जानकारी दिएका छन्। उनका अनुसार घाइतेमध्ये १५ जनाको अस्पतालमा उपचार भइरहेको छ।

विस्फोटको खबरलगत्तै घटनास्थलमा उद्धार तथा अनुसन्धान टोली पुगेको छ भने भग्नावशेषमा पुरिएकाहरूको खोजीका लागि उद्धार अभियान जारी छ।

गोदाममा राखिएको विस्फोटक पदार्थ कसरी पड्कियो भन्नेबारे अझै स्पष्ट भइसकेको छैन। यद्यपि, अधिकारीहरूले प्रारम्भिक अनुसन्धानमा गोदाममा भएको लापरबाहीका कारण विस्फोट भएको आशङ्का गरेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

अफगानिस्तानमा खानी उत्खनन ठूलो व्यवसायका रूपमा रहेको छ, जहाँ विभिन्न खनिज र बहुमूल्य पत्थर निकालिन्छ। तर, खानी कम्पनीहरूले सुरक्षा नियमको उचित पालना नगरेको गुनासो रहँदै आएको छ, जसका कारण त्यहाँ बारम्बार यस्ता दुर्घटना हुने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?