१२ मंसिर, जनकपुरधाम । धनुषामा छठघाटमा वृद्धको हत्या घटनाका फरार आरोपीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शहीदनगर नगरपालिका–२ निवासी जयकुमार यादव रहेको प्रहरीले जनाएको छ । उनी ‘बालक दास’नामले समेत चिनिन्छन् ।
कात्तिक ३० गते बिहान शहीदनगर नगरपालिका–२ स्थित मतौनामा रहेको धनी पोखरीको छठघाटमा पूजासामग्री कुरेर बसेका ६० वर्षीय रामजतन मृत फेला परेका थिए ।
घटनास्थलमा रगतजस्तो पदार्थका दाग र कपालजस्तो वस्तु लागेको धारिलो हतियारसमेत बरामद भएको थियो ।
घटनाको अनुसन्धानबाट जयकुमार यादवले पुरानो रिसइबीका कारण कुटपिट गरी हत्या गरेको खुलेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
घटनापछि उनी भारततर्फ फरार भएका थिए । उनलाई पक्राउ गर्न प्रहरीले खोजतलास तीव्र पारेको थियो । यसै क्रममा शनिबार भारतीय सीमा क्षेत्र जटहीमा लुकिछिपी बसेको विशेष सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो ।
नगराइन नगरपालिका–२ जटहीबाट राघोपुर जाने बाटो हुँदै भारतीय सीमाक्षेत्रमा पुगेर उनलाई पक्राउ गर्न खोज्दा यादवले भारततर्फ भाग्ने प्रयास गरेका थिए ।
प्रहरीले आत्मसमर्पण गर्न चेतावनी दिँदा पनि नमानेपछि पेस्तोलबाट एक राउन्ड हवाई फायर गरेको थियो ।
त्यसपछि पनि उनी भाग्न खोजेपछि प्रहरीले थप चार राउन्ड गोली प्रहार गरेको डीएसपी खनालले बताए । हवाई फायरसहित पाँच राउन्ड गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिइएको जनाएको छ ।
गोली लागेर यादवको बायाँ तिघ्रामा एक र दाहिने घुँडामुनि दुई गरी तीनवटा गोली लागेको छ ।
उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रतिक्रिया 4