पाकिस्तानी कन्टेन्टलाई लिएर भारतमा बहस चर्किरहेका बेला पाकिस्तानी गायक आतिफ असलमको एउटा भिडियोले फेरि चर्चा बटुलेको छ ।
दुबईमा आयोजित कन्सर्टमा आतिफले रणवीर सिंह अभिनीत फिल्म ‘धुरन्धर : द रिभेन्ज’को गीत ‘जान से गुजरते हैं’ गाएका छन् ।
उनको यही प्रस्तुतिको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
२७ नोभेम्बरमा दुबईको कोका–कोला एरिनामा आयोजित कन्सर्टमा आतिफले उक्त गीत प्रस्तुत गरेका हुन् ।
भिडियोमा उनी मञ्चमा गीत गाउँदै गरेको देखिन्छन् भने दर्शकले पनि उनको प्रस्तुतिमा साथ दिएका छन् । भारतमा पाकिस्तानी कलाकार र कन्टेन्टलाई लिएर विवाद चलिरहेका बेला आतिफले भारतीय फिल्मको गीत गाएको विषयले थप चर्चा पाएको हो ।
पुरानो कव्वालीबाट बनेको ‘धुरन्धर’को गीत
आतिफले गाएको ‘जान से गुजरते हैं’को सम्बन्ध पुरानो कव्वालीसँग पनि जोडिएको छ । यसको मूल रूप ‘दिल पे जख्म खाते हैं’का रूपमा चिनिन्छ, जसलाई चर्चित कव्वाली गायक नुसरत फतेह अली खानले सन् १९७७ मा गाएका थिए ।
पछि, यही धुनलाई ‘धुरन्धर : द रिभेन्ज’का लागि नयाँ स्वरूपमा तयार पारिएको हो ।
फिल्मका लागि तयार पारिएको नयाँ संस्करणमा खान साब र शाश्वत सचदेवको आवाज रहेको बताइएको छ । पुरानो संगीतलाई नयाँ पुस्तासम्म पुर्याउने क्रममा यो गीत अहिले ‘धुरन्धर’सँग जोडिएको छ ।
आतिफको दुबई प्रस्तुतिको चर्चा भने भारतमा पाकिस्तानी कन्टेन्टलाई लिएर चलिरहेको विवादका कारण पनि बढेको हो ।
पछिल्लो समय पाकिस्तानी कलाकार संलग्न फिल्म तथा वेब सिरिजलाई लिएर भारतमा विभिन्न स्तरबाट विरोध भइरहेको छ ।
फवाद खान र माहिरा खान अभिनीत पाकिस्तानी सिरिज ‘जो बचे हैं संग समेट लो’लाई लिएर पनि विवाद भइरहेको छ । भारतीय फिल्म क्षेत्रका केही संगठनले उक्त सिरिजको भारतमा प्रदर्शन रोक्न माग गरेका छन् ।
यही विवादबीच दुबईको मञ्चमा आतिफले भारतीय फिल्मको गीत गाएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यसको चर्चा चुलिएको हो ।
आतिफ असलम पाकिस्तानी संगीतका चर्चित गायक हुन् । उनका धेरै गीत भारतमा समेत लोकप्रिय छन् ।
पछिल्लो समय भारत-पाकिस्तानबीच कलाकार र मनोरञ्जन सामग्रीलाई लिएर बहस भइरहेका बेला उनको यो प्रस्तुतिले फेरि संगीतको सीमाबारे बहस जन्माएको छ ।
प्रतिक्रिया 4