९ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादी संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले नेपालका कम्युनिष्टहरु पहिला महानायक त्यसपछि नायक र अन्तमा खलनायक भएर सकिने गरेको बताएका छन् ।
उनले नेपालमा कम्यूनिष्ट पार्टीहरु सिद्धान्त भन्दा पनि ब्यक्तिगत अहमता र स्वार्थका कारण फुटेको दावी गरे ।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भने-नेपालका कम्युनिष्टहरु विचार र कार्यदिशाका कारण कम फुटेका छन् । पहिला फुट्ने अनि, पछि विचार र कार्यदिशामा फरक छुट्याउने परम्परा छ ।’
नेपालका कम्युनिष्टहरु निम्न पुँजीवादी चरित्रको भएको आरोप लगाउँदै उनले यो दृष्टिकोणबाट उन्मुक्ति दिएर मात्र एकता गर्न सकिने बताए ।
कम्युनिष्टहरु वीचको एकता अहिलेको आवश्यकता भएको भन्दै उनले छ माओवादी विचारधारी पार्टीहरुवीच प्रचण्ड नेतृत्वमै एकता हुने दावी गरे ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणी थापाले मुलुकमा पछिल्लो परिवर्तन माओवादी धारले गरेको भए पनि त्यो आन्दोलन विघठन र विचलनमा परेको बताए । उनले भने-प्रचण्डले गल्ती स्विकारेर परिवर्तन सहित आएकोले प्रचण्डको नेतृत्व स्वीकार गरेका हौं । यो नै मुल धार हो ।’
नेकपा-माओवादीका केन्द्रीय सदस्य हस्तबहादुर केसीले नेपाली क्रान्तिलाई सफल बनाउन पार्टी एकताको प्रयास थालिएको बताए । तर, तत्काल पूर्ण पार्टी एकता भने सम्भव नरहेको उनको जिकिर गरे ।
नेकपा एकीकृतका पोलिटब्यूरो सदस्य सीताराम तामाङ्गले पार्टी एकता अहिले नै टाढाको विषय भएको भन्दै कार्यगत एकता गरेर परिवर्तनलाई सस्थागत गर्न आन्दोलनमा जाने स्पष्ट पारे ।
कार्यक्रममा मालेका महासचिव सीपी मैनालीले सत्ता र संख्याको फाइदाको निम्ती छ माओवादी पार्टीवीच एकताको कुरा उठेको दावी गर्दै सिद्धान्त निष्ठ भएर कुरा अघि बढाए मात्रै एकता हुन सक्ने बताए ।
नेकपा संयुक्तका अध्यक्ष चन्द्रबहादुर जोसीले पार्टी फुट किन भयो भन्ने कुराको जरा पत्ता नलगाई एकताको कुरा गर्नु हास्यास्पद भएको बताए ।
प्रतिक्रिया 4