+
+

म ०४५ सालको भूकम्प पीडित !

महाभूकम्पले ८ हजार बढीको मृत्यु भयो । लाखौं परिवार विस्थापित भए । यस्तो बेलामा ०४५ सालमा ७ सयको ज्यान लिएको भूइँचालोको बखान त्यति अर्थपूर्ण नहोला । तर, त्यतिबेला सरकारले दिएको राहत र ऋणसम्बन्धी नीतिलाई अहिले स्मरण गर्नु असान्दर्भिक नहोला । यद्यपि यो आलेखमा ०४५ सालको भूकम्पपछि राज्यले लिएको समग्र नीतिको विश्लेषण भने गरिएको छैन । यहाँ दुईवटा विषयमा मात्रै सामान्य चर्चा गरिएको छ : एक- त्यतिबेलाको भूकम्पपीडित किशोरको अनूभूति र दोस्रो- भूकम्प पीडितमाथि राज्यले गरेको विभेदकारी व्यवहार ।

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ ३ गते १७:०७

अरुण बराल
महाभूकम्पले ८ हजार बढीको मृत्यु भयो । लाखौं परिवार विस्थापित भए । यस्तो बेलामा ०४५ सालमा ७ सयको ज्यान लिएको भूइँचालोको बखान त्यति अर्थपूर्ण नहोला । तर, त्यतिबेला सरकारले दिएको राहत र ऋणसम्बन्धी नीतिलाई अहिले स्मरण गर्नु असान्दर्भिक नहोला ।

यद्यपि यो आलेखमा ०४५ सालको भूकम्पपछि राज्यले लिएको समग्र नीतिको विश्लेषण भने गरिएको छैन । यहाँ दुईवटा विषयमा मात्रै सामान्य चर्चा गरिएको छ : एक- त्यतिबेलाको भूकम्पपीडित किशोरको अनूभूति र दोस्रो- भूकम्प पीडितमाथि राज्यले गरेको विभेदकारी व्यवहार ।

ऋण नतिर्दै घर ध्वस्त

उदयपुर केन्द्रविन्दु भएको भूकम्प आउँदा ०४५ साल भदौ ५ गते बिहान मानिसहरु ओछ्यानबाट उठिसेकका थिएनन् । उज्यालो भएपछि भूकम्प आएको भए मानिसहरु सुतिरहेका ठाउँमा पुरिने थिएनन् ।

त्यतिबेला म धनकुटा जिल्लाको मौनाबुधुक गाउँ पञ्चायतमा अवस्थित बुधुक माध्यमिक विद्यालयमा पढ्थें । भूकम्प आएको बिहान वडा नं ५ सिमडाँडामा अवस्थित घरको बरण्डामा निदाइरहेको थिएँ । परिवारका पाँचैजना सदस्य कोही पनि उठेका थिएनौं ।

Mouna Budhuk Dhankuta 1

  • ०४५ सालको भूकम्पपछि पुनर्निर्मित धनकुटाको मौनाबुधुक

म सुतेको बरण्डाको खाट (वास्तवमा त्यो खाट नभएर काठ मिलाएर बनाइएको धराप थियो) नजिकै दारिमको रुखको हाँगो थियो, त्यसमा दारिमका काँचा दानाहरु थिए । त्यहाँ सुत्दा निकै शीतल हुन्थ्यो । भदौ ४ गते विहान मलाई त्यही खाटमा सुतेका बेला अबेलासम्म सुतेको भन्दै बुबाले तलबाट पानी छ्याप्नुभएको थियो । ५ गते बिहान भूकम्पले हल्लाउन थालेपछि मैले त सपना पो देख्न थालेंछु ।

दारिमको बोटबाट आएको शीतल हावासँगै बिहानीको मीठो निद्राका बेला भूकम्पले हल्लाउँदा मैले रोचक सपना देखें । ‘हिजो बाबैले पानी छ्यापेका थिए, आज खाँवै पो हल्लाएछन्, जति हल्लाउन्, म उठे पो ।’ यस्तो सपनासँगै घर हल्लिने क्रम नरोकिएपछि म ब्युँझिएँ । र, एकाएक चिच्याउँदै रुन थालें । ९० सालको भूइँचालोको कुरो सुनेकाले मैले यो भूइँचालोकै तमासा हो भनेर तत्कालै थाहा पाइहालें ।

हामी जन्मेको घर असाध्यै थोत्रे भएकाले बुबाआमाले ०४३ सालमा ऋण गरेर त्यो तीन तले ठूलो घर किन्नुभएको थियो । भुइँचालो आउँदा हामी त्यही ‘सेकेन्ड ह्याण्ड’ घरमा सुतेका थियौं । तर, त्यो घरबारीको ऋण बुबाआमाको थाप्लोमा बाँकी नै थियो । हामीले २५ हजार रुपैयाँमा त्यो घर किनेका थियौं ।

भूकम्पको कम्पनसँगै चिच्याइरहँदा आँगनमा गल्र्याम्म केही ढलेको ठूलो आवाज आयो । बिहान पूरै उज्यालो नभइसकेकाले केही देख्न सकिँदैनथ्यो । मलाई लाग्यो, भित्रपट्टि सुतेका आमाबुबा दुबै रहेनन् । मैले बरण्डामा गाह्रोमै टाँसिएर भूइँको ओछ्यानमा सुतेका ९ वर्षे भाइलाई मात्र देखिरहेको थिएँ । ऊ त्यति धेरै हल्लाउँदा पनि ब्युँझिएको थिएन । अर्को कोठामा सुतेका दाजुको अत्तोपत्तो थिएन । बरण्डाबाट बाहिर निस्कन गाह्रो थियो । भित्र गएर लिस्नोबाट झरेर तल पुगेपछि काठको ढीक खोल्नुपर्थ्यो । त्यति गर्नका लागि कोठा अँध्यारो थियो ।

घर हल्लिन छाडेपछि हामी निरीह प्राणीहरु बाहिर निस्कियौं । संयोग नै मान्नुपर्छ, त्यो ठूलो आवाज गरेर आँगनमा खसेको गाह्रो तेस्रो तल्लाको रहेछ । दोस्रो तलामा सुतेका बुबाआमा र अर्को कोठामा सुतेका दाजु सकुशल मकैबारीमा आइपुगे । भाइचाँहि फाटिएको गाह्रोमा गुन्द्रीसँगै केही छिरिसकेको रहेछ, उनी पनि सकुशल निस्किए । घरको पछाडितिरको गाह्रो धराप भएर ढल्किएको थियो हामी निस्किएपछि केही दिनको झरीसँगै ढल्यो ।

भूकम्पका कारण घरमा पुरिएर हाम्रो विद्यालयका चर्चित शिक्षक राजेन्द्र चेम्जोङको निधन भयो । धरानमा ठूलो क्षति भएको रेडियोबाट समाचार आयो । हामीले गोठबाट भैंसी र बाख्राहरु अन्यत्र सार्‍यौं र भैंसीको थलोलाई किचेनमा रुपान्तरण गर्‍यौं । त्यो दिनदेखि हामी झन् ऋण र गरीवीको चक्करमा पर्‍यौं । त्यसले हाम्रो परिवारलाई निकै ठूलो असर पुर्‍यायो ।

Mouna Budhuk Dhankuta 2

  • ०४५ सालको भूकम्पमा मृत्यु भएका शिक्षक राजेन्द्र चेम्जोङ (रातो घेरामा)

घरमा हामी पाँचजना मात्रै थिएनौं, गाई, गोरु, भैंसी र बाख्रा पनि थिए । भूकम्प आयो भनेर ती वस्तुभाऊ आनन्दले बस्न सक्ने कुरै भएन । भोक लाग्यो कि कराउन थालिहाल्थे । हामी रोएको तिनले सुन्दैनथे । मलाई याद छ, त त्यसै दिन गाईवस्तु र बाख्राहरु लिएर सल्लेरीमा चराउन गएँ । तर, घर भत्केको सम्झेर दिनभरि रोइरहें । परिवारका अरु सदस्यहरु दिनभरि घरबाट सामान झिक्न र नयाँ बास बनाउनतिर लागे । भोलिपल्टदेखि झरी पर्न थालिहाल्यो ।

मलाई थाहा थियो, हाम्रो घरमा पैसाका नाममा सायद दुई/चार सय रुपैयाँ पनि थिएन । यस्तो बेलामा अब कसरी अर्को घर बनाउने ? भदौको महिना थियो । झरी पर्ने समय । अब कहाँ बस्ने ? म दिनभरि गाई चराउन जाँदा तन्द्रामै रहें । सिंगै सल्लेरीमा म र गाई वस्तुबाहेक अरु कोही थिएन । म अहिले सम्झन सक्छु, आफ्नो घर गुमाएका बालवालिका र किशोर-किशोरीहरुलाई मलाई जस्तै पीडा भइरहेको होला । अझ परिवारका सदस्य नै गुमाउनेहरुलाई झन् कस्तो होला ?

भूइँचालोमा मान्छे नमर्नु वा घाइते नहुनुमात्रै क्षती होइन रहेछ । गाउँमा गरीब वा निम्न मध्ययम वर्गका किसानहरुको बस्ने घरै भत्किएपछि कति दु:ख र पीडा हुन्छ भन्ने पाठ ०४५ साल भदौ ५ गते बिहानैदेखि मैले पढेको छु । बूढापाकाले त्यसै भनेको होइन रहेछ, घरमा आगो र भूइँचालो पसेपछि एउटा परिवारलाई लगभग एक पुस्तासम्म उठ्नै नसक्ने गरी थला पार्छ ।

किशोरवयको मेरो मस्तिष्कमा परेकेा त्यसबेलाको पीडा अहिलेको भूकम्पले फेरि बल्झाएको छ । गत वैशाख १२ गते काठमाडौंमा भूकम्पले हल्लाएर बाहिर निस्किएपछि मैले ०४५ सालको त्यही कालो बिहानीलाई बारम्बार सम्भिmइरहें, जुन कालो बिहानीले एउटा गरीब किसान परिवारको सुख लुटेर लगेको थियो ।

स्कुल छाडेर गोठालो

मलाई मेरो घरजस्तै मेरा आदरणीय राजेन्द्र सरको मृत्युले त्यसबेला खुबै सतायो । उहाँ मलाई विद्यालयमा असाध्यै माया गर्नुहुन्थ्यो ।

राजेन्द्र सरले संसार छाडेको वर्ष मैले भर्नाशुल्क र मासिक शुल्क नतिरेको अपराधमा पढ्न पाइँन । भदौसम्म म भर्ना नभई विद्यालय गइरहेको थिएँ । त्यसबेला सरकारी विद्यालयमा पनि माध्यमिक तहमा मासिक शुल्क तिर्नुपर्थ्यो  । सरले विद्यालय नआइज भनेपछि म वर्षायामभरि गाईबाख्रा लिएर सिमडाँडाको सल्लेरी, सिमखोप र पुर्नेपिरमा गोठालो गएँ । आमालाई घाँस काट्न सघाएँ ।

Arun Baral

अर्को वर्ष पनि विद्यालयमा भूकम्पपीडितका छोराछोरीलाई भनेर कुनै सविधा दिइएन । शायद राजेन्द्र सर बाँचेको भए मजस्तो कहिल्यै फेल नहुने विद्यार्थी, अझ भूकम्प पीडितमाथि यस्तो अन्याय हुँदैनथ्यो कि जस्तो लागिरह्यो ।

यसबाट के अनुभूत हुन्छ भने भूकम्पपीडितका छोराछोरीलाई कमसेकम विद्यालयमा निःशुल्क पढ्न दिनु राम्रो । त्यसो गर्न नसके कमसेकम मायामात्रै गरिदिए पनि हुन्थ्यो । अब ०७२ सालका भूकम्पपीडित बालवालिकाले विद्यालयमा मैलेजस्तै अपमान र विभेद सहनु नपरोस् । निजी विद्यालयमा पनि उनीहरुले निशुल्क पढ्न पाउन् ।

पञ्चायती राहत, राजा वीरेन्द्रको दर्शन

भुइँचालो आएपछि हामीले गाउँमा हरियो र सेतो हेलिकोप्टर देख्यौं । झलक्कै मात्र भए पनि राजा वीरेन्द्र र ऐश्वर्य रानीलाई देख्यौं । गाउँमा कसैले पनि अहिलेजस्तो राज्य र नेतालाई गाली गरेको सुनिएन । भूकम्पले पूर्वाञ्चलका धेरै जिल्लामा क्षति पुर्‍याएको थियो । धरान सहरमा सबैभन्दा ठूलो क्षति पुर्‍याएको थियो ।

भूकम्प पीडित क्षेत्रको भ्रमण गर्न त्यसबेला राजारानी हाम्रो स्कुलमा आएका थिए । विद्यालयलाई ७५ हजार रुपैयाँ राहत दिएको सुनियो । त्यसबेला त्यो ठूलो रकम थियो ।

राजा आउने अघिल्लो दिन स्कुलमा ११ जना सैनिक हेलिकोप्टरमा उत्रिए । म बन्दुक बोकेर हिँडिरहेका उनीहरुको छेउमा पुगें । एक सैनिकले मलाई सोधें- तिम्रो घर के भयो ? मैले भनें- बस्नै नहुने गरी भत्कियो, हामी झण्डै मर्‍यौं । सेनाले फेरि सोधे- राहत के के पाइयो त ? मैले भनें- ५ मीटर कालो प्लाष्टिक, एक हजार रुपैयाँ र एक बोरा चामल । तर, हामीले चामल लिएनौं । सैनिकले भने- ए, खाएछन् नि मोराहरुले, १० मीटर दिनुपर्ने थियो ।

मलाई लाग्छ, ती सैनिकले केटाकेटीसँग ठट्टा गरेको हुनुपर्छ । तर, म वालिग नभइसकेको चश्मदीत गवाहलाई सम्झना भएसम्म त्यसबेला भूकम्प पीडित परिवारले पाएको राहत त्यति नै थियो । अहिलेजस्तो गाउँमा कसैले चाऊचाऊ पुर्‍याएन । घर बनाइदिन भन्दै कोही गएन । हामीले पनि राज्यको मुख ताकेनौं । आफ्नो प्रवन्ध अरुले गरिदेला भनेर त्यसबेलाका भूकम्प पीडितले आशा गरेनौं । त्यसबेला न राहत पाइएन भन्ने सञ्चार माध्यम नै थिए । फोन कस्तो हुन्छ भनेर हेर्न दिनभरि हिँडेर धरानसम्म आउनुपर्थ्यो । मोबाइल त कुन चराको नाम हो, शहरबासीलाई नै थाहा थिएन ।

धरान र आसपासका क्षेत्रमा कसैले चाऊचाऊ लगायतको राहत बाँड्यो कि ? हामीलाई थाहा भएन । त्यसबेला हाम्रो गाउँमा पुग्ने यातायातको साधन थिएन । धनकुटाको भेडेटारमा गाडीबाट ओर्लेर ७/८ घण्टा पैदल हिँडेपछि मात्रै हाम्रो गाउँमा पुगिन्थ्यो । सायद त्यसैले त्यहाँ सरकारीबाहेक गैरसरकारी राहत आएन । सरकारी राहतचाँहि हेलिकोप्टरले खसाएको हो । अहिलेजस्तो भारत र अमेरिकाका हेलिकोप्टर पनि आएनन् । आफ्नै देशका साधनले काम गरेजस्तो लाग्छ मलाई । आफ्नै नेपाली सेना दाजुभाइ देखिए त्यसबेला ।

तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नो हातमा शासन लिएका बेला शहरबासीको ५० हजार ऋण मिनाहाको घोषणा गरे, ऋण तिरिसकेका केही धरानबासीले अझैसम्म पैसा फिर्ता पाएका छैनन्

भूकम्प पीडितलाई ऋणको प्याकेज

चामल र कालो प्लाष्टिक बाँडेको पञ्चायती सरकारले पहाडका भूकम्प पीडितलाई दुई किस्ता गरेर प्रतिपरिवार १० हजार रुपैयाँ सहुलियतमा ऋण उपलब्ध गरायो । धरान लगायत जिल्ला सदरमुकामका पीडितलाई भने सरकारले पहिलो किस्तामा २५ हजार र दोस्रो किस्तामा २५ गरेर ५० हजारको ऋण प्याकेज घोषणा गर्‍यो ।

हामीले पहिलो किस्तामा ५ हजार लियौं र घर बनाउने ठेक्का दियौं । पैसाले नपुगेपछि दोस्रो किस्तामा फेरि पाँच हजार रुपैयाँ ऋण लियौं । अति गरीब परिवारले पाँच हजार मात्रै ऋण लिए ।

हिउँदभरि हिलो मुछेर फेरि ढुंगामाटाको सानो घर बनायौं । गाउँकै सिकर्मी डकर्मीले काम गरे । न एकीकृत वस्ती, न भूकम्प प्रतिरोधी घर । भूकम्पले भत्कायो, हामीले बनायौं । सरकारले अहिलकति ऋण दियो । बाँकी आफै ऋण काढियो । यसैगरी पुनर्निर्माण भयो धरान र पूर्वी पहाडको वस्ती ।

ऋण मिनाहा भयो, आन्दोलन सकिएन

भूकम्प आएको पाँच वर्षपछि ०५० सालमा हामीले सरकारलाई ऋण बुझायौं र धनीपूर्जा उकासेर जग्गा बेच्यौं । पछि सरकारले १० हजार रुपैयाँको ब्याजसहित फिर्ता गर्‍यो ।

तर, त्यस बेलासम्म शहरबासीले लिएको २५ हजार ऋण मिनाहा भयो । तर, दोस्रो किस्ता मिनाहा नभएपछि शहरबासीले आन्दोलन गरे । आन्दोलनको क्रमसँगै तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नो हातमा शासन लिएका बेला शहरबासीको ५० हजार ऋण मिनाहाको घोषणा गरे ।

भूकम्प ऋण मिनाहा संघर्ष समितिका महासचिव बद्री पलिखे भन्छन्- ‘सरकारले ०४५ सालका भूकम्प पीडितको ऋण मिनाहा गरे पनि ऋण तिरिसकेका केही धरानबासीले अझैसम्म पैसा फिर्ता पाएका छैनन् । कसैको ऋण मिनाहा गर्ने र कसैको पैसा फिर्ता नदिने राज्यको यो विभेदकारी नीति हो ।’

आफैं ०४५ सालको भूकम्प पीडितसमेत रहेका पलिखे भन्छन्- ‘ऋण तिरिसकेका भूकम्प पीडितको पैसा सरकारले फिर्ता गर्नुपर्छ भन्ने हाम्रो आन्दोलन अहिले पनि जारी छ ।

पलिखेका अनुसार ०४५ सालमा भन्दा अहिलेका भूकम्प पीडितले राज्यबाट राम्रो सुविधा पाएका छन् । ‘त्यसबेला पञ्चायतले त के दिएको थियो र ? पाँच किलो चामल थापेको आधारमा ऋण दिन्थ्यो त्यो पनि १९ प्रतिशत ब्याजमा सरकारले ४ प्रतिशत आफूले ब्यहोरेर पीडितलाई १५ प्रतिशत बोकाइएको थियो ।’ पलिखे भन्छन्- अहिले त सरकारले दुईलाख रुपैयाँ दिने भनेको छ, त्यही पनि २ प्रतिशतमा ।’

भूकम्पको ऋण र राजनीति

सरकारले भूकम्प पीडितलाई दिने ऋण तिर्नका लागि पीडितहरुलाई दबाव दिन सक्दैन भन्ने कुरा ०४५ सालको घटनाले स्पष्ट पार्छ । ०४६ सालमा बहुदल आएपछि धरानको राजनीतिमा यो मुद्दाले प्रवेश पायो । दलका चुनावी घोषणापत्रमा भूकम्पको ऋण मिनाहा गराउने भन्ने वाक्यहरु समावेश हुन थाले । अन्ततः ऋण मिनाहाका लागि संघर्ष समिति नै बन्यो ।

अब ०७२ सालका भूकम्प पीडितका लागि सरकारले उपत्यकामा २५ लाखसम्म र उपत्यका बाहिर १६ लाखसम्म सुहलियतमा ऋण दिने जुन घोषणा गरेको छ, त्यो भविश्यमा मिनाहा गरिदिनुपर्ने माग उठ्ने छ । घर बनाउन दुई लाख दिने भनिएको पनि राज्यले पीडितबाट माग्न सक्ने स्थिति रहँदैन । यो अवस्थामा राज्यले विगतबाट पाठ सिक्दै ऋणको साटो ५ लाख, १० लाख या १५ लाख जति सक्छ, पीडितहरुलाई घर निर्माणका लागि अनुदान सहयोग गर्नु नै व्यवहारिक देखिन्छ ।

साथै भूकम्प ऋण मिनाहा समितिका महासचिव पलिखेले भनेजस्तै ०४५ सालका पीडितबाट राज्यले बुझेको पैसा अहिलेसम्म फिर्ता नगर्नु न्यायसंगत देखिँदैन । कसैलाई मिनाहा गर्नु र्र कसै नगर्नु समन्याय होइन ।

भूकम्पले टुहुरो बनाएका जितेन्द्रले यतिबेला आफ्नै कमाइबाट मौनाबुधुक स्कुलमा पुस्तकालय भवनसमेत बनाइदिएका छन्

पीडितहरुलाई सम्बोधन

यो पङ्तीकार आफैं ०४५ सालको भूकम्प पीडित भएको नाताले अहिलेका पीडितहरुलाई के आग्रह गर्न चाहन्छ भने घर भत्कियो या परिवारका सदस्य गुमे भनेर अब कति दिन रुने ? माथि उल्लेख गरेका राजेन्द्र सर भूकम्पमा परेर एक छोरा र छाेरीसहित बित्दा पत्नी र सानाे छोरामात्रै बाँचेका थिए । घर थिएन, अभिभावक थिएनन् ।

अहिले राजेन्द्र सरका छोरा जितेन्द्र फेसबुकमा भेटिन्छन् । उनी बाँचेका छन् । अहिलेको युग सुहाउँदो जीवन बाँचिरहेका छन् । भूकम्पले टुहुरो बनाएका जितेन्द्रले यतिबेला आफ्नै कमाइबाट मौनाबुधुक स्कुलमा पुस्तकालय भवनसमेत बनाइदिएका छन् ।

त्यसैले पीडितहरुले यो कुरा विचार गर्न आवश्यक छ कि भूइँचालोले हाम्रो जीवनलाई जति नै दुःख दिए पनि धूलो टक्टक्याएर उठ्न सकिन्छ र उठ्नुपर्छ । जीवनजस्तो संघर्षशील शक्तिसँग यो विपत्तिले एक दिन अवश्य हार्छ । परिवारले र अविभावकले छाडेर गए पनि समाज छ र बाँचेका मानिसहरु छन् भन्ने पीडितले ठान्नुपर्छ ।

तर, जसलाई भूकम्पले क्षति पुर्‍याएको छैन, तिनीहरुले पीडितहरुलाई हेप्नु हुँदैन । उनीहरुलाई ठग्नुहुँदैन । यतिबेला भूकम्पको पीडामा परेका बालवालिका, महिला, ज्येष्ठ नागरिक, अपाङ्ग र गरीबहरुमाथि सबैभन्दा बढी सम्मानजनक एवं प्रेमपूर्ण व्यवहार आवश्यक पर्छ यतिबेला । यो मेरो आफ्नै भोगाइको अनुभूति हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?