५ जेठ, कावासोती । सामी परियोजना अन्तर्गत हिकोडेफद्वारा नवलपरासीको कावासोतीमा संचालित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र स्थापना भएको एक वर्ष पूरा भएको छ ।
सुरक्षित वैदेशिक रोजगारीको उद्देश्य लिएको केन्द्रबाट एक वर्षको अवधिमा १५ हजार जनाले प्रत्यक्ष सेवा पाएका छन् ।
केन्द्रले वैदेशिक रोजगारीको क्रममा बिभिन्न किसिमले ठगीमा परेकाहरुलाई निःशुल्क कानुनी सहायता तथा जोखिममा परेकालाई उद्धार गर्ने काम गर्दै आएको छ ।
‘हामीले एक बर्षको अवधिमा १५ हजारको हाराहारीमा सेवा तथा सूचना दिएका छौं,’ कार्यक्रम संयोजक रीतुराम सोतीले भने, ‘बिभिन्न तवरबाट समुदायमा संचालित कार्यक्रमबाट पनि लाभ लिएको विश्वास छ ।’
समस्या लिएर आएका मध्ये ५० प्रतिशत समाधान गरेको केन्द्रले जनाएको छ । सोतीले भने, ‘वैदेशिक रोजगारीका क्रममा स्वदेश तथा विदेशमा समस्यामा परेका ३०७ जनाको समस्या हेरिरहेका छौं, ति मध्ये आधा जति त समाधान नै भैसक्यो ।’
सकेसम्म स्वदेशमा नै सिपमुलक तालिम लिएर आर्थिक उपार्जनको काम गर्न वा विदेश नगइ नहुने भए सीप सिकेर मात्रै जान केन्द्रले प्रेरित गर्दै आएको छ ।
विदेश जान चाहनेहरुले सम्वन्धित देशको भाषा, आफूले काम गर्ने कम्पनि, लाग्ने खर्च, विदेश जाँदा चाहिने कागजपत्र, अपनाउने प्रक्रिया लगायतका विषयमा केन्द्रबाट परामर्श लिन सक्ने छन् ।
प्रतिक्रिया 4