निमुसंगम घर्ती
२२ असार, घोराही । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संघियता, गणतन्त्र, धर्मनिरपेक्षता सहितको लोकतान्त्रिक संविधान आगामी साउन महिना भित्रै आउने दाबी गरेका छन् ।
नेपाल प्रेस युनियन दाङले मंगलबार घोराहीमा गरेको पत्रकार भेटघाटमा उपसभापति पौडेलले जनताले चाहेको परिवर्तन अनुसारको संविधान साउन महिना भित्रै जारी हुने दाबी गरे ।
सुदूरपश्चिम अखण्ड
८ प्रदेशले देश सञ्चालनमा जटिलता ल्याउन सक्ने उनले आशंका गरे । ‘८ प्रदेशमा जाँदा थप जटिल हुन्छ भनेर नै मैले फरक मत राखेको हुँ,’ पौडेलले भने, ‘नेपालका लागि ६ प्रदेश भन्दा धेरै उपयुक्त हुँदैन ।’
उपसभापति पौडेलले ८ प्रदेशको सीमांकन जटिल भएकाले सुदूरपश्चिमलाई एक प्रदेश मानेर जाँदा समस्याको समाधान हुने बताए ।
हाल सुदूरपश्चिमका कैलाली र कन्चनपुरसहित पूर्वका झापा, मोरङ र सुनसरीलाई कता राख्ने भन्नेमा दलहरु एक मत भैसकेका छैनन् ।
पौडेलले प्रदेश भन्दा अधिकार सम्पन्न संविधानलाई आफूले ध्यान दिएको प्रष्ट्याए ।
साथै उनले नयाँ संविधानको मस्यौदामा आएका विवाद ठूलो नभएको बताए । मधेसी केही दलहरुले उठाएको सीमांकनको विषयलाई अहिले नै टुंग्याएर साउनभित्रै नयाँ संविधान जारी गर्न सकिने उनको भनाइ छ ।