Comments Add Comment

जसले पूर्वाञ्चललाई बनाए आँखा उपचारको हब

१३ चैत, काठमाडौं । नेपाल नेत्रज्योती संघद्वारा सञ्चालित बिराटनगर आँखा अस्पताल देशकै अब्बल आँखा अस्पतालका रुपमा चिनिएको छ । नेपाली मात्र होइन, छिमेकी मुलुक भारत, भुटान, बंगलादेश लगायत देशबाट पनि यहाँ बिरामी आउने गर्छन् ।

अस्पताललाई यहाँसम्म ल्याउनुमा विशेष योगदान छ, प्रोग्राम डाइरेक्टर तथा नेत्र रोग विशेषज्ञ प्रा.डा. सञ्जयकुमार सिंहको । उनकै पहलमा आँखा अस्पताल स्थापना भएको हो ।

डा. सिंहलाई १२ वर्ष अगाडि नेपाल नेत्रज्योती संघमा आवद्ध भएपछि लहानस्थित सगरमाथा चौधरी आँखा अस्पताल सरुवा गरिएको थियो । फरक किसिमको भौगोलिक परिवेशका कारण अस्पतालमा काम गर्ने वातावरण नभएपछि उनलाई बिराटनगर पठाइयो ।

यद्यपि, डा. सिंह अहिले विराटनगर तथा लाहान आँखा अस्पताल दुवैको प्रोग्राम डाइरेक्टर छन् ।

त्यतिबेला बिराटनगरमा रामलाल गोल्छा अस्पताल मात्र थियो । जहाँ वर्षमा जम्माजम्मी पाँच हजारको हाराहारीमा आँखाको शल्यक्रिया हुन्थ्यो । डा. सिंहले सन् २००४ मा भाडाको घरबाट बिराटनगरमा आँखा अस्पताल सुरुवात गरे । अहिले वर्षमा एक लाखभन्दा बढी विरामीको आँखाको बिभिन्न शल्यक्रिया हुँदै आएको छ ।

फेको, जेप्टो जस्ता आधुनिक प्रविधिमार्फत मोतिविन्दुको सफल उपचार हुने गरेको छ भने जलविन्दु, रेटिनाको विशेष शल्यक्रिया, आँखाको नानीको प्रत्यारोपण, ओकुलोप्लास्टी समेत आधुनिक प्रविधिमार्फत गरिँदै आएको छ । बालबालिकाको आँखाको उपचारका लागि बिराटनगर आँखा अस्पतालमा दुई र सगरमाथा चौधरी अस्पतालमा एक बेहोस पार्ने चिकित्सकको व्यवस्था गरिँदै आएको छ । बच्चाहरुको मोतिविन्दु र डेढोपनाको पनि पूर्ण उपचार सम्भव भएको डा. सिंह बताउँछन् ।

‘आँखामा लाग्ने रोगकै कारण अहिले पूर्वाञ्चलका मानिसहरु बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ’, उनले भने, ‘बरु बाहिरबाट उपचारकै लागि आउनेको संख्यामा वृद्धि हुँदै गएको छ ।’

यसबाहेक, विराटनगर आँखा अस्पतालमा व्याचलर इन अप्थेल्मोलोजी रेसिडेन्सी कार्यक्रम सञ्चालन हुँदै आएको छ भने बिभिन्न फेलोसिपका कार्यक्रमसमेत सञ्चालित छन् । दातृ निकायको सहयोग, मेहनती टिम तथा सस्तो, सुलभ तथा गुणस्तरीय सेवाका कारण पनि अस्पताललाई यो स्थानमा पुर्‍याउन सम्भव भएको उनको कथन छ ।

हाल नेपाल नेत्रज्योती संघद्वारा देशभरमा १८ वटा आँखा अस्पताल तथा ८४ वटा आई केयर सेन्टर सञ्चालित छन् । ४० जिल्लामा शाखा कार्यालय छन् । त्यसमध्ये लहानस्थित सगरमाथा चौधरी अस्पताल र विराटनगर आँखा अस्पताल विशेष चर्चित छन् ।

डा. सिंहको पूर्वाञ्चल यात्रा

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट एमबीबीएस तथा एमडी तहको अध्ययन पूरा गरेका उनले अस्पतालमै रहेको वीपी आँखा स्वास्थ्य प्रतिष्ठानबाट आफ्नो करियर सुरु गरे । त्यसबेला चाबहिल घर भएका उनलाई यो जागिर सजिलो थियो, तर अनुभव बटुल्नकै लागि भए पनि काठमाडौं बाहिर जाने अठोट गरे ।

त्यही बेला आई केयर फाउण्डेशनले अवसरको ढोका खोल्यो । फाउन्डेशन त्यसबेला झापाको बिर्तामोडमा पाइलट प्रोजेक्टका रुपमा मेची आँखा अस्पताल खोल्ने तयारीमा थियो । ‘फाउण्डेशनका प्रोग्राम डाइरेक्टर दीपक लामाले मेची आँखा अस्पतालमा काम गर्न अफर गरे’, डा. सिंहले भने ।

तर, सञ्जयको रुचि भने कोर्नियातर्फ थियो । त्यसैले उनले सञ्चालक समिति समक्ष एउटा सर्त अघि सारे । उनले भने, ‘मेची अञ्चल अस्पतालमा काम गर्ने हो भने मैले कोर्नियामा फेलोशिप गर्न पाउनुपर्छ ।’

सुरुमा त फाउण्डेशनको सञ्चालक समिति हच्कियो । तर उनीहरुले शर्त स्वीकार गरे । आई केयर फाउण्डेशनकै सहयोगमा उनले भारतको हैदरावादको एल.भी. प्रसाद आई इन्स्िटच्यूटबाट कोर्निया एण्ड इन्टरसेक्सनमा फेलोसिप गर्ने अवसर पाए ।

हैदरावादबाट फेलोसिप गरेपछि झण्डै ६-७ वर्ष मेची आँखा अस्पतालमै काम गरे । सन् २००४ मा लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनमा मास्टर अफ साइन्स इन कम्युनिटी हेल्थको अध्ययन पूरा गरे । त्यसपछि नेपाल नेत्रज्योती संघमा आवद्ध भएका डा. सिंहले पूर्वाञ्चल क्षेत्रमा मात्र २२ वर्ष विताइसकेका छन् ।

काठमाडौं फर्किउ भन्ने कहिल्यै लागेन ? भन्ने प्रश्नमा उनले भने,  ‘हुन त म दुुई वर्षको लागि भनेर यहाँ आएको थिएँ । तर काम गर्दै जाँदा २२ वर्ष वितेको पत्तै भएन ।’

यसप्रति उनलाई कुनै पछुतो छैन । ‘यहाँ जुन स्तरको सेवा दिन सकेको छु, सायद काठमाडौंमा भएको भए सम्भव नहुन सक्थ्यो’, उनले अनलाइनखबरसित भने ।

‘सरकारले सहयोग गरोस्’

आँखा स्वास्थ्यको क्षेत्रमा योगदान पुर्‍याउन पाएकोमा डा. सिंह खुशी छन्, सन्तुष्ट पनि छन् । यद्यपि उनी चाहन्छन्, सरकारले पनि यस क्षेत्रमा थप सहयोग गरोस् ।

‘जसरी प्राथमिक स्वास्थ्य चौकी गाउँ-गाउँ पुग्न सफल भएको छ, त्यसरी नै सरकारले प्रत्येक अस्पतालहरुमा आँखा स्वास्थ्यलाई पनि प्राथमिकतामा राखोस् भन्ने मेरो चाहना छ,’ प्रा.डा. सिंह भन्छन्, ‘यसको लागि सरकारले आँखाको नानी प्रत्यारोपणका लागि विभिन्न ठाउँमा आँखा बैंक स्थापना गर्नु आवश्यक छ ।’

उनकाअनुसार नेपालमा आँखाको नानीमा लाग्ने चोटपटककै कारण वर्षेनी धेरैले दृष्टी गुमाउने गरेका छन् । उनीहरुमा दृष्टी फर्काउने एक मात्र उपाय आँखाको नानीको प्रत्यारोपण हो ।

त्यसबाहेक, मोतियाविन्दुका कारण हुने अन्धोपना निवारणका लागि लेन्समा लगाएको तीस प्रतिशत कर हटाउनु पर्ने, चश्माको आयातमा सहुलियत प्रदान गर्नुपर्ने तथा बालबालिकालाई सानै उमेरदेखि अनिवार्य आँखा परीक्षण गर्न लगाउनु पर्ने उनको कथन छ । प्रा.डा. सिंह भन्छन्, ‘आँखालाई स्वस्थ राख्न पनि सानै उमेरदेखि आँखाको परीक्षण आवश्यक छ । सरकारी स्तरबाटै पहल गरेमात्र नेपालबाट सन् २०३० सम्ममा विभिन्न कारणबाट हुने अन्धोपनाको समस्यालाई कम गर्न सकिन्छ ।’

यो पनि पढ्नुहोस भरतपुर आँखा अस्पताल : लक्ष्य आँखा बैंक स्थापना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment