शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘सपना तिम्रो मेरो’को बारेमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिएको छ । ऋषिराज आचार्यको लेखन, निर्माण तथा निर्देशनमा बनेको यो चलचित्रले प्रेमको भाषा बोल्छ ।
कार्यक्रममा चलचित्रका नायक सविन श्रेष्ठले प्रेमको कथा बोलेको चलचित्रमा सबैले मिहिनेत गरेको बताए । अर्का नायक सुशान्त कार्कीले आफूलाई एक्सन नायकको रुपमा चिनाउने विश्वास व्यक्त गरे ।
यस्तै, चलचित्रकी नायिकाद्धय जान्वी बोहरा र सुरजनी केसीले पनि चलचित्रबाट आफूहरुले अपेक्षा राखेको बताए । संगीतकार अर्जुन पोख्रेलले चलचित्रमा २ वटा गीत समावेश भएको बताउँदै दुबै गीत अहिले चर्चामा रहेकोमा खुशी व्यक्त गरे ।
निर्देशक ऋषिराज आचार्यले चलचित्र पूर्ण रुपमा पारिवारिक भएकाले पुरै परिवार बसेर हेर्न मिल्ने बताए । कार्यक्रमका प्रमुख अतिथी भिमार्जुन आचार्यले चलचित्रको कथावस्तु राम्रो रहेको बताए ।
चलचित्रमा राहुल राइको छायांकन, गम्भिर बिष्टको नृत्य निर्देशन, सम्राट बस्नेतको एक्सन, नविन निरौलाको सम्पादन छ । चलचित्रमा छोटो भूमिका गरेकी कलाकार सुरजनी केसीको काम राम्रो रहेको प्रतिक्रिया केही चलचित्र हेरिसकेका चलचित्रकर्मी र पत्रकारले गरेका थिए । जान्वी पनि यो चलचित्रबाट उदाउने अपेक्षा धेरैको छ ।
भुकम्पपछि चल्तीका कलाकारले अभिनय गरेको नेपाली चलचित्र प्रदर्शनमा आउन सकेका छैनन् । यसैले पनि ‘सपना तिम्रो मेरो’ले व्यापारिक रुपमा सफलता पाउने अपेक्षा धेरैको छ ।