१९ भदौ, वीरगञ्ज । आन्दोलनका क्रममा प्रहरीको गोलीबाट मृत्यु भएका पाँच जनाको शनिबार सामुहिक अन्त्येष्टि गरिएको छ ।
त्यसअघि वीरगञ्जमा शवयात्रा गरिएको थियो । शव यात्राका लागि कर्फ्यू हटाइएको थियो । शवयात्रामा मानवसागर नै उर्लियो ।
शवयात्रामा हजारौं मानिस सहभागी भएका छन् । गाउँ गाउँबाट मानिसहरु आएका छन् । शवयात्रामा सहभागीहरुले गृहमन्त्री र एमाले नेतृत्वविरुद्ध नाराबाजी गरेका थिए ।
शव राखिएको वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट शुरु भएको शव यात्रा घण्टाघर, ईनरवाईपास, नगवा, नयाँबसपार्क, भिष्वा, लक्षमनवा, पावरहाउस, राधेमाई, नवतन, गण्डक, जगरनाथपुर, मनियारी, ड्राईपोर्ट हुँदै तिलावेपुल पुगेको थियो, जहाँ पाँचै जनाको हिन्दु विधी अनुसार दाहसँस्कार गरिएको छ ।
१४ र १५ गते वीरगञ्जमा भएको झडपमा प्रहरीको गोली लागेर दिलिप चौरसिया, धर्मराज सिंह, दिनानाथ साह, जयप्रकाश साह तेली र सोहन साहको मृत्यु भएको थियो ।
स्थानीय प्रशासनले मृतक पाँचै जनालाई सहिद घोषणा, घाइतेको उपचार र पीडित परिवारलाई क्षतिपूर्ति दिन सिफारिस गर्ने सहमति भएपछि परिवारले शव बुझेका हुन् ।