+
+

चुरे भावरले थाल्यो नाकाबन्दीको ‘प्रतिकार’

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १ गते १०:५०

Badri-Neupane

१ मंसिर, सर्लाही । चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले भारतले गरेको अघोषित नाकाबन्दी र मधेसी मोर्चाले सीमामा गरेको अवरोधविरुद्ध आन्दोलन थालेको छ । हाल आन्दोलनरत मधेसी मोर्चाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतोलगायत नेताहरुको गृहजिल्लामै चुरे भावरले नाकाबन्दी र सीमामा अवरोधविरुद्ध प्रदर्शन गरेको हो ।

‘नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अधिकार कसैलाई छैन, भारतले तत्काल नाकाबन्दी खोल्नुपर्छ, मधेसी मोर्चाले पनि सीमानाकामा गरेको अवरोध खुलाउनुपर्छ,’ पार्टी अध्यक्ष वद्रि  न्यौपानेले भने, ‘राष्ट्रियताको रक्षाका लागि चुरे भावरले आन्दोलन छेड्यो, हाम्रो आन्दोलन रोक्ने ताकत कसैको छ भने रोकेर देखाओस् ।’

उनले २०६४ सालमा सरकारसँग भएको ९ बुँदे सम्झौता अनुसार अलग्गै चुरे भावर प्रदेशको मागसमेत गरे । सीमांकन फेरबदल गर्ने हो भने चुरे पहाड तलको समथल भूभागलाई चुरे भावर प्रदेश घोषणा गर्नुपर्ने न्यौपानेले माग गरे ।

आफ्ना माग पूरा गर्न माग गर्दै चुरे भावरले सर्लाहीको लालबन्दीमा र्‍यालीसहित विरोध प्रदर्शन गरेको छ । ‘हामीले प्रतिकार गरेका कारण महोत्तरीको बर्दिवासदेखि बाराको पथलैयासम्मको क्षेत्रमा मधेसी मोर्चाले यातायातका साधनमा कुनै अवरोध पुर्‍याउन सकेका छैनन्,’ अध्यक्ष न्यौपानेले भने, ‘राष्ट्रियताको रक्षाको लागि चुरे भावर निरन्तर लड्दै आएको छ र लडिरहने छ । हाम्रो संयमतालाई कमजोरी नठानियोस् ।’ उनले यो प्रदर्शनलार्इ सांकेतिक प्रतिकारको संज्ञासमेत दिए ।

लालबन्दीमा चुरे भावरका कार्यकर्ताहरुले सोमबार चुरे भावर प्रदेश सुनिश्चित गर, तत्काल नाकाबन्दी खोल, सामाजिक सदभाव विथोल्नेमाथि कारवाही गर, राष्ट्रियताको रक्षा गरलगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए । प्रदर्शनलाई सम्वोधन गर्दै न्यौपानेले आफूहरुसँग विगतमा सरकारले गरेको सम्झौता बेवस्ता गरे त्यसको मूल्य राज्यले चुकाउनु पर्ने चेतावनी दिए । नाकाबन्दीले जनजीवन नराम्ररी प्रभावित भएको र यसले तराईमा समाजिक सदभाव भड्किने खतरा रहेको भन्दै उनले मधेसवादी दलहरुलाई सचेतसमेत गराए ।

मंगलबार महोत्तरीको बर्दिवासमा उद्योग वाणिज्य संघलगायतसँग अन्तरक्रिया गर्ने र निकट भविष्यमै नाकाबन्दीविरुद्ध झन् ठूलो प्रदर्शन गर्ने न्यौपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?