१४ असार, काठमाडौं । सरकारले लामो समयपछि भूकम्पबाट प्रभावित १४ जिल्लामा गाविस सचिवका रुपमा काम गर्न ५८ जना अधिकृत खटाएको छ ।
गाविस सचिवको अभावमा पुनर्निर्माण कार्य तीब्र गतिले अघि नबढेको अवस्थालाई मध्यनजर गर्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले एकैपटक ५८ अधिकृतहरु खटाएको छ ।
अहिले भूकम्प प्रभावित जिल्लाहरुमा गाविस सचिवको अभावमा पुनर्निर्माण र अनुदान सम्झौताको काममा ढिलाइ भइरहेको छ। यस अवस्थालाई मध्यनगर गर्दै लामो गृहकार्यपछि उनीहरुलाई ३ महिनासम्म गाविस सचिव रहेर काम गर्ने गरी कामजमा खटाइएको मन्त्रालयका प्रवक्ता पूर्णचन्दै भट्टराईले जानकारी दिएको आजको नेपालसमाचार पत्र दैनिकमा समाचार छ ।
गाविस सचिवका लागि लोकसेवा आयोगले लिएको परीक्षाको नतिजा आएलगत्तै ५८ जना अधिकृतहरुलाई फिर्ता गर्ने मन्त्रालयले तयारी गरिरहेको छ ।
भूकम्पबाट प्रभावित जिल्लाका ८२ वटा गाविसहरु सचिवविहीन छन् । गाविस सचिवको अभागमा एउटा सचिवले तीनवटासम्म गाविस हेर्नुपर्ने बाध्यता छ । यसो गर्दा पुनर्निर्माण र अनुदान सम्झौतामा असर परेको मन्त्रालयले जनाएको छ ।