१० भदौ, चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा शुक्रबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेहरुको संख्या २२ पुगेको छ । मृतकमध्ये बस चालकसहित १७ जनाको सनाखत भएको छ ।
दुर्घटनाग्रस्त बसको पाङ्ग्रामा किचिएको अवस्थामा दिउँसो एक बजे एक महिलाको शव भेटिएपछि मृतकको संख्या २२ पुगेको नारायणी अञ्चल प्रहरी कार्यालय प्रमुख एसएसपी नारायणसिंह खड्काले अनलाइनखबरलाई जानकारी दिए ।
उनका अनुसार सनाखत हुनेहरुमा रौतहट महमदपुर ८ का २४ वर्षीय प्रमोद राम, रौतहट लौकाहाका राकेश यादव, कटारीया ९ रौतहटका ३४ वर्षीय व्रजकिशोर कुसवाहा, बसन्तपुर १ का २५ वर्षीय गणेशकुमार साह रहेका छन् ।
यसैगरी मुडल्वा ३ का ३७ वर्षीय चितरञ्जन यादव, मुडल्वा ६ का ३३ वर्षीय राजेशकुमार यादव र ठेगाना नखुलेको तर नेपाल खानेपानी संस्थानको कार्यालय सहायकको परिचयपत्र भएको जोकु साहको शव फेला परेको छ ।
रौतहट इनरुवा ७ बस्ने ६५ वर्षीय जोगेन्द्र गिरी, भारत बिहारका ३६ बर्षीय फेकन ठाकुर र ३६ बर्षीय शंकर ठाकुर, भारत मोतिहारीका ४० बर्षीय रामसागर भगत, रौतहट राजपुरका कामेश्यरप्रसाद साह, पोखरा झल्लीडाँडाका ४१ बर्षीय चित्रबहादुर बोहरा, रौतहट गरुडा १४ जयनगरका २६ बर्षीय शेष सहजित आलम, रौतहट लोकाहा २ का सचिन्द्रप्रसाद यादव, गौर १३ सिर्सियाकी सन्ध्या श्रीवास्तव र बस चालक लेखनाथ ११ कास्कीका लोकबहादुर पौडेलको पनि सनाखत भएको छ ।
दुर्घटनास्थलबाट सबैभन्दा नजिक इलाका प्रहरी कार्यालय मुग्लीनमा छ जुन दुई किलोमिटरको दुरीमा पर्दछ । दुर्घटनाका मृतक पाँच जनाको सनाखत हुन बाँकी छ ।