Comments Add Comment

दोस्रो लहरमा बाँकेमा झण्डै तीन गुणा बढी संक्रमितको मृत्यु

१ जेठ, काठमाडौं । बाँकेमा कोरोनाको पहिलो लहरको तुलनामा दोस्रो लहरमा झण्डै तीन गुणा बढी मानिसको मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको तथ्यांक अनुसार (२०७७ साल वैशाख १९ गतेदेखि चैत मसान्तसम्म) कोरोनाको पहिलो लहरबाट बाँके जिल्लाका मात्रै ५८ जना संक्रमितको मृत्यु भएको उल्लेख छ ।

तर दोस्रो लहर सुरु भएको (२०७८ वैशाख १ गतेदेखि ३१ गतेसम्म) एक महिनाको अवधिमा १६७ जनाको मृत्यु भएको छ । जुन पहिलो लहरको तुलनामा मृत्यु हुने संक्रमितको संख्या झण्डै तीन गुणा हो ।

कोरोनाको पहिलो लहरमा बाँकेमा उपचार गराउन आएका बाहिर जिल्लाका ९१ जनाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताए । तर यो वर्षको पहिलो एक महिनामा बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका संक्रमित मध्ये ७५ जनाको मात्रै मृत्यु भएको उनले बताए । कोरोनाको दोस्रो लहरमा मृत्यु हुने संक्रमितको संख्या बाँके जिल्लाकै बढी रहेको ओलीले जानकारी दिए ।

कोरोनाको दोस्रो लहर सुरु भएयता वैशाख महिनाको हरेक दिन संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

वैशाख १ गते ११ गतेसम्मको रेकर्डलाई हेर्ने हो भने मृत्यु हुने संक्रमितको संख्या एक अंक (अर्थात सबै भन्दा बढी ६ जना) छ । वैशाख १२ गतेदेखि भने मृत्यु हुनेको संख्या बढ्दै गएको देखिन्छ । वैशाख १२ गते १० जनाको मृत्यु हुँदा वैशाख १६ गते यो संख्या बढेर १२ पुगेको देखिन्छ ।

यसैगरी वैशाख २३ गते १६ जनाको मृत्यु हुँदा वैशाख २६ गते १७ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । वैशाख २८ गते सबैभन्दा बढी १८ जना संक्रमितको मृत्यु भएको देखिन्छ । वैशाख ३१ गते शुक्रबार १५ जना संक्रमितको मृत्यु भएको छ ।

भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर राजन पाण्डेका अनुसार अस्पताल आउने अधिकांश स‌क्रमितले बेड अभावमा समयमै उपचार पाउन नसक्दा मृत्यु हुने गरेको बताउँछन् ।

अस्पतालमा बेड अभाव हुँदा ठूलो संख्यामा संक्रमितहरु होम आइसोलेसनमै बस्ने गरेको र निमोनिया भएर गम्भीर भएपछि मात्रै अस्पताल आउने गरेका कारण पनि मृत्युको संख्या बढेको डाक्टर पाण्डेको भनाइ छ ।

पहिलो लहरमा अस्पतालले चाप नै धान्न नसक्ने गरी संक्रमितको उपचार गराउनु पर्ने अवस्था नआएको र अस्पताल आइहाले पनि अहिलेको जस्तो गरी अनिवार्य अक्सिजन दिनु पर्ने अवस्था पनि नरहेको उनी स्मरण गर्छन् ।

वैशाख महिनामा १०,११४ जनामा संक्रमण

कोरोनाको दोस्रो लहर सुरु भएयता वैशाख महिनामा १०११४ जनामा संक्रमण पुष्टि भएको तथ्यांकमा उल्लेख छ । जसमध्ये ६४७० जना कोरोना मृक्त भएका छन् ।

फोकल पर्सन ओलीका अनुसार बाँकेमा सक्रिय कोरोना संक्रमितको संख्या ३६७५ जना रहेका छन् ।

एकैदिन ९०५ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा बाँकेमा ९०५ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन प्रयोगशालामा १२७४ नमुना परीक्षण गर्दा ९०५ जनामा संक्रमण पुष्टि भएको ओलीले बताए । जसमध्ये बाँकेका मात्रै ५१५ जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment