
Quick Summary
AI-generated by OK AI. Editorially reviewed.- पाकिस्तानले चिनियाँ प्रविधिको प्रयोग गरी भारतका ड्रोन र हवाई उपकरणहरूलाई सफलतापूर्वक नष्ट गरेको विश्लेषण।
- चीन र पाकिस्तानबीच सैन्य सहकार्य र अत्याधुनिक प्रविधिको प्रयोगले क्षेत्रीय युद्धको जटिलता बढाएको।
- भारत र पाकिस्तानबीच हवाई युद्ध र मिसाइल आक्रमणको घटनाले तनाव थपिएको, भारतले केही विमान गुमाएको पुष्टि।
- पाकिस्तानले चिनियाँ प्रविधि र प्रशिक्षणको मद्दतले आफ्नो हवाई क्षमतामा सुधार गरेको देखिएको।
- भारत र पाकिस्तानबीचको सैन्य प्रतिस्पर्धा र प्रविधि, प्रशिक्षण र रणनीतिहरूको प्रभावलाई विश्लेषण गरिएको।
सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिजका कार्यकारी निर्देशक एवं सुरक्षा विश्लेषक इम्तियाज गुल अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा लेख्छन्, बोल्छन् । उनका केही पुस्तकहरू प्रकाशित छन् ।
भारत र पाकिस्तानबीच चर्किंदै गएको तनावबारे डन न्यूजसँग कुरा गर्दै उनले हालैका मिसाइल आक्रमणहरू, ड्रोनहरूको प्रभाव र विदेशी सैन्य प्रविधिको भूमिकालाई केन्द्रमा राखेका छन्।
पाकिस्तानले चिनियाँ प्रविधिको सहायताले बनेको हवाई सुरक्षा प्रणाली प्रयोग गरी भारतका इजरायली ड्रोनहरूलाई सफलतापूर्वक नष्ट गर्न सकेको उनको विश्लेषण छ ।
गुलले यो प्रविधि-आधारित प्रतिस्पर्धाको रणनीतिक प्रभावमाथि पनि प्रकाश पार्दै चिनियाँ र युरोपेली सैन्य प्रणालीको तुलनात्मक अध्ययन गरेका छन् । परमाणु शक्तिसम्पन्न यी दुई छिमेकीबीचको आधुनिक युद्धको जटिल स्वरूप बुझाउने उनको यो विचार संक्षेपीकरणसहित भावानुवाद गरिएको होः
पाकिस्तानले चिनियाँ प्लेटफर्म तथा रक्षा प्रणालीमा आफूलाई सजिलैसँग एकीकृत गर्न सकेको हो, किनभने पाकिस्तानको धेरैजसो रक्षा उपकरण र हार्डवेयर चिनियाँ नै छन्। पुरानो एफ-१६ प्रणालीभन्दा पछिल्ला १०-१५ वर्षमा चीन र पाकिस्तानबीच अभूतपूर्व सैन्य सहकार्य भएको छ।
त्यही कारणले पाकिस्तान अहिले सम्भवतः J-10C जस्ता अत्याधुनिक लडाकु विमान प्रयोग गर्ने पहिलो देश हो, जसले आफ्नो कुशलता र क्षमताको प्रदर्शन गरिसकेको छ।
यता, भारतले राफेल विमानलाई आफ्नो हवाई रक्षा प्रणालीमा एकीकृत गर्न कठिनाइ भोगिरहेको छ, किनभने भारतीय प्रणालीमा अमेरिकी र रुसी प्रविधिको मिश्रण रहेको छ। हवाई विशेषज्ञहरूका अनुसार राफेल जस्तो जटिल प्रणालीलाई पूर्ण रूपमा एकीकृत गर्न कम्तीमा दुई वर्ष लाग्छ।
यही कारणले पाकिस्तानको प्रतिक्रिया द्रुत र प्रभावकारी बन्यो, किनभने उनीहरू चिनियाँ प्रणालीमा पहिलेबाटै प्रशिक्षित र सजग थिए।
आजको युद्ध प्रविधि मुख्यतः ड्रोन र ‘काइनेटिक अपरेसन’मा आधारित छ। भारतले पाकिस्तानको भित्री भूभागसम्म करिब १०० ड्रोन पठाएको थियो, साथै भारत भित्रैबाट प्रक्षेपित जेटहरूले पाकिस्तानका ९ लक्ष्यहरूमा मिसाइल आक्रमण गरेका थिए।
तर, पाकिस्तानले प्रमाणित गर्यो कि, उनीहरू हवाई आक्रमण रोक्न र प्रतिकार गर्न पूर्ण रूपमा तयार छन्। J-10C लडाकु विमान र PL-15 एयर-टु-एयर मिसाइल प्रयोग गरेर पाकिस्तानले आफ्नो हवाई क्षमता देखायो।
यो लडाइँ चिनियाँ प्रविधि र युरोप-फ्रान्सको गर्व ‘राफेल’बीचको प्रतिस्पर्धा थियो। भारतले ३६ वटा राफेल विमान किन्दा आफूलाई हवाई क्षेत्रको ‘सुपर पावर’ ठानिरहेको थियो।
तर, यस भिडन्तले त्यो दाबीलाई गलत प्रमाणित गरिदिएको छ। चिनियाँ बनावटका उपकरण र ती उपकरणहरू सञ्चालन गर्ने दक्ष जनशक्तिले भारतको हवाई श्रेष्ठताको कल्पना चकनाचुर गरिदिए।
यसले पाकिस्तानले चिनियाँ मित्रहरूको सहयोगमा अत्यन्त प्रभावकारी तयारी गरेको देखाउँछ । पाकिस्तानी वायु सेनालाई लक्ष्य पहिचान गर्न, आक्रमणकारी विमानहरू पत्ता लगाउन र प्रतिकार निर्देश गर्नका लागि चिनियाँ सुपरिवेक्षण स्याटेलाइट सञ्चार तथा सहयोग उपलब्ध थियो।
केही घण्टाअघि देखिएका घटनाक्रमहरू, जसमा भारतको सैन्य सञ्चार स्याटेलाइट निष्क्रिय (जाम) गरिनु, ओधम्पुर, अवन्तीपुर र श्रीनगर एयरपोर्टमा अत्यन्त सटिक प्रहारहरू हुनु जस्ता घटनाक्रमले पाकिस्तान पछिल्ला तीन दिनदेखि तयारीमा लागेको देखाउँछ । यसो पनि भन्न सकिन्छ कि, पाकिस्तान उपयुक्त समय कुर्दै बसिरहेको थियो र उपयुक्त प्रतिक्रिया दियो।
यो घटनाक्रम युद्धको पहिलो चरण मात्र हो। आशा गरौं, यो दोस्रो चरणमा प्रवेश नगरोस्, किनभने त्यो दुवै मुलुकका लागि अत्यन्त विनाशकारी हुनसक्छ।
पाकिस्तानले चिनियाँ प्लेटफर्म र रक्षा प्रणालीसँग एकीकरण सजिलै गर्न सक्यो, किनभने पाकिस्तानको अधिकांश रक्षा हार्डवेयर चिनियाँ बनावटको नै हो। एफ-१६ विमान पाकिस्तानमा लामो समयदेखि प्रयोगमा छ, तर पछिल्ला १०/१५ वर्षमा चीन र पाकिस्तानबीच असाधारण सैन्य सहकार्य देखिएको छ।
‘राफेल सिक्न भारतलाई कम्तीमा दुई वर्ष लाग्छ’
त्यही कारणले गर्दा पाकिस्तान अहिले अत्याधुनिक J-10C लडाकु विमान भएको सम्भवतः एक मात्र देश हो। यस विमानले आफ्नो कुशलता र युद्ध-क्षमता प्रमाणित गरिसकेको छ।
यता, भारतले राफेल जस्ता जटिल लडाकु विमानहरूलाई आफ्नो प्रणालीमा एकीकृत गर्न कठिनाइ भोगिरहेको छ। भारतको हवाई प्रणाली अमेरिकी तथा रुसी प्रविधिको मिश्रणमा आधारित भएकाले नयाँ प्लेटफर्मलाई समायोजन गर्न समय लाग्छ।
हवाई क्षेत्रका विज्ञहरूले बताएअनुसार राफेलजस्तो जटिल रक्षा प्रणालीलाई पूर्ण एकीकरण गर्न कम्तीमा दुई वर्ष लाग्छ।
यही कारणले पाकिस्तान पहिलेदेखि नै चिनियाँ प्रणालीसँग सजिलै परिचित भइसकेको थियो । हार्डवेयरको सहकार्य मात्र होइन, लोजिस्टिक तथा तालिममा पनि गहिरो सहकार्य भइरहेकै कारणले यो सम्भव भएको हो । तर भारत भने अझै राफेल प्रयोग र तालिमको चरणमै रहेको देखिन्छ।
हामीले यो कुरा पनि बुझ्नुपर्छ कि युद्धमा केवल मेसिन मात्र पर्याप्त हुँदैन। त्यसलाई चलाउने पाइलटको प्रशिक्षण, योजनाबद्धता, साहस र मानसिक तयारी पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। यी सबै पक्षहरू मिलेर मात्र एउटा युद्धविमान प्रभावकारी बन्न सक्छ। यस पछिल्लो तथाकथित डगफाइट (हवाई भिडन्त) मा यिनै सबै पक्षहरूको प्रदर्शन देखियो।
चर्को दबाबमा भारत
यो डगफाइट साँच्चिकै भएको थियो वा थिएन भन्नेमा भारतले विवाद गरिरहेको भए पनि अमेरिकाले नै पुष्टि गरिसकेको छ कि, पाकिस्तानले कम्तीमा तीनवटा राफेल विमान र दुई अन्य लडाकु विमानहरू खसालेको छ।
यसैले अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि सत्य सार्वजनिक गर्न गम्भीर दबाब परेको छ। यो दबाबको एउटा अभिव्यक्ति हो- रणनीतिक मामिलाका विज्ञ प्रवीन साहनीले करिब ११ मिनेट लामो भिडियोमार्फत ‘इन्डिया टुडे’ र ‘द हिन्दू’मा प्रकाशित सूचनाको आधारमा भारतले कम्तीमा तीनवटा लडाकु विमान गुमाएको निष्कर्ष निकालेका थिए।
तर, उक्त भिडियो युट्युब च्यानल ‘द फोर्स’ बाट हटाइयो। त्यसपछि उनले ‘द प्रिन्ट’ मिडियामा करण थापरसँगको अन्तर्वार्तामा समेत यही कुरा दोहोर्याए। उनले भनेका थिए, ‘भारत ठूलो लोकतन्त्र हो, त्यसैले नागरिकसँग सत्य-तथ्य सार्वजनिक गर्नुपर्छ।’
तर, त्यसपछि भारतीय सरकारले दुवै सामग्री हटाउन लगायो।
यसले भारत सरकार अहिले गहिरो दबाबमा रहेको देखाउँछ । र, यो घटनाक्रम गम्भीर लज्जाको विषय बनेको छ, किनभने मोदीले आफैंले पहिले भनेका थिए, ‘राफेल आइसकेपछि हामी पाकिस्तानमाथि हवाई वर्चश्व कायम गर्छौं।’
तर, अहिलेको नतिजामा भारतले ३६ मध्ये ३ विमान गुमाइसकेको देखिन्छ । अब राफेललाई भारतीय वायु रक्षा प्रणालीमा समायोजन गर्ने क्षमतामाथि प्रश्न उठ्न थालेका छन्।
अहिलेको तथ्य हो, एभियोनिक्स (विमानको विद्युतीय प्रणाली) समायोजन गर्न नसकिने होइन, तर त्यो एकदम सहज भने हुँदैन ।
यदि एउटा SU-30 जस्तो विमान १० वर्ष पुरानो प्रविधिमा आधारित छ भने, उसलाई फ्रेन्च र अमेरिकन विमानसँग सञ्चार गर्न अप्ठ्यारो पर्न सक्छ।
तर, पाकिस्तानका लागि लाभदायक पक्ष के थियो भने, उसले प्रयोग गरेका J-10C र JF-17 Thunder विमानहरू चिनियाँ प्रविधिमै आधारित छन्।
त्यसैले यी विमानहरूले भारतीय राफेल विमानहरूको सञ्चार प्रणालीसम्म पहुँच पुर्याउनसमेत सक्षम भए।
एक राफेल विमानको कोड नाम ‘Godzilla’ रहेको खुलासा पनि पाकिस्तानी वायु सेनाले नै गरेको हो।
यसले देखाउँछ- पाकिस्तानको वायु प्रणालीले कति स्तरसम्म भारतीय विमानसँगको सञ्चार सुन्न सक्ने क्षमता राख्छ।
त्यसैले, विमानहरूबीच पारस्परिक सञ्चारसम्बन्धी अवरोधहरू अझै समस्या हुन सक्छन् । यो कुरा एभियसन विज्ञले गहिराइमा बुझ्नुपर्ने हो।
बल भारतकै कोर्टमा
यहाँ जे भयो, मे १० तारिख बिहान ४ बजेपछि देखिएको घटना पाकिस्तानको पहिलो चरणको प्रतिक्रिया मात्र हो। तीनदेखि चार दिनसम्म भारतले लगातार उकास्ने रणनीति अपनाएको थियो।
पहिलो दिन, भारतले पाकिस्तान भित्र चारवटा र कुल नौवटा क्षेत्रलाई लक्षित गर्दै मिसाइल आक्रमण गर्यो, जसलाई युद्ध घोषणाभन्दा अलिक कम मात्र मान्न सकिन्छ।
त्यसपछि दोस्रो दिन, भारतले दर्जनौँ ड्रोनहरू पाकिस्तानका भित्री क्षेत्रहरूसम्म पठायो । जस्तो कि, रावलपिन्डीसम्म । ती ड्रोनहरू पाकिस्तानी सेनाको मुख्यालय नजिकको क्षेत्र र पाकिस्तान सुपर लिग हुँदै गरेको रंगशालाबाहिरसम्मको क्षेत्रमा पुगे ।
त्यसैले सुरुवातदेखि नै बल भारतकै कोर्टमा थियो । पाकिस्तानले पर्खिरह्यो, आफूलाई कुनै ठूलो प्रतिशोधी देशजस्तो देखाउन चाहेन । तर, जब भारतले पेशावरको हवाई अड्डा, रावलपिन्डीको नुहान बेस र सिन नजिकको साव कोर्ट बेस आक्रमण गर्यो, त्यो नै भारतले ‘रेड लाइन’ पार गरेको क्षण थियो। त्यसपछि पाकिस्तानको तर्फबाट जवाफी कारबाही अनिवार्यजस्तै बन्यो। नत्र भने देशभित्रै गम्भीर प्रश्न उठ्थे- हाम्रो सेना के गरिरहेको छ ? के पर्खिरहेको छ ?
एक राम्रोसँग प्रशिक्षित, सुविधा सम्पन्न सेना भए पनि जवाफ नदिएको खण्डमा सेनाको तयारी र क्षमतामाथि नै प्रश्न उठ्ने अवस्था आउँथ्यो।
म भन्छु, पाकिस्तानी वायु सेनाले जुन तरिकाले जवाफ दियो, त्यसमा गर्व गर्न लायक छ। यहाँनेर मुख्य प्रश्न हो, भारत अझै पनि यही आक्रोशपूर्ण, युद्धोन्मुख मानसिकतामा रहन्छ कि शान्तिपूर्ण संकेत देखाउँछ ?
यदि भारतले आजको जवाफी कारबाहीपछि फेरि आक्रमण गर्छ भने त्यो सिधै यस द्वन्द्वको दोस्रो चरण हुनेछ। त्यसैले यो युद्धको विस्तार भारतको आगामी कदममा निर्भर छ कि, उसले कुन समय कुन स्तरको जवाफ दिन्छ ।
यदि भारतले फेरि मिसाइल वा ड्रोनमार्फत पाकिस्तान या कश्मीरभित्र आक्रमण गर्छ भने पाकिस्तानलाई मौन दर्शक बन्न गाह्रो हुनेछ। त्यसैले अहिले भारतको कोर्टमा बल छ । यदि उसले शान्तिको संकेत दिन्छ, वार्ताको तत्परता देखाउँछ भने यो सम्पूर्ण युद्धोन्मुख अभियान तत्काल रोक्न सकिन्छ। तर, भारतले जे गर्यो, त्यो अप्रत्याशित वा आकस्मिक जस्तो देखिए पनि, अब झन् स्पष्ट बन्दै गएको छ :
२२ अप्रिलको पहलगाम घटनालाई बहानाको रूपमा प्रयोग गर्दै, पाकिस्तानमाथि पूर्वनियोजित आक्रमण गरिएको हो। घटना सिर्जना गर्ने र तुरुन्त पाकिस्तानमाथि हमला गर्ने त्यो एउटा पूर्वतयारीसहितको योजना थियो ।
अब युद्ध दोस्रो चरणमा हुन्छ कि हुँदैन भन्ने प्रश्नको जवाफ खोज्न भारतले पाकिस्तानको पहिलो चरणको जवाफलाई कसरी लिन्छ भन्ने कुरामा निर्भर गर्छ ।
प्रतिक्रिया 4