Comments Add Comment
सम्झना :

जगदीश शमशेरका अधुरा सपना

वि.सं २०३६ सालको विद्यार्थी आन्दोलन । काठमाडौंको साहित्यिक माहोल तात्तिएको थियो । त्यही आन्दोलनले जन्माएको ऐतिहासिक सडक कविता क्रान्तिमा भाग लिने अवसर पाएपछि काठमाडौंको साहित्यिक जगतसँग मेरो नाता गाँसिन सुरु भयो ।

त्यतिबेला नियमित रूपमा राजधानी काठमाडौंको पनि राजधानी न्यूरोड पीपलबोट जान थालेको थिएँ । जहाँ देशभरिका नेता, साहित्यकार, पत्रकार भेटघाटका लागि आइपुग्थे । अनि त्यहाँ भेटपछि गच्छे अनुसारको रेष्टुँरा, बार, भट्टी, मःमः वा चिया पसल जान्थे ।

मैले मधुपर्क र रूपरेखा मासिक नियमित किनेर पढ्न थालिसकेको थिएँ । अरू पत्रिका पनि पढ्थेँ । कतिपय सम्पादकको हातबाट निःशुल्क उपहार पाउन थालिसकेको थिएँ ।

यसैबेल मैले पढ्ने गरेको त्यतिबेलाको निजी क्षेत्रको प्रतिष्ठित साहित्यिक पत्रिका रूपरेखा आयोजक भएर जगदिश शमशेर राणाको अद्भूत महाकाव्य ‘नरसिं अवतार’ न्यूरोडमै रहेको अमेरिकन लाइब्रेरीमा विमोचन हुँदैछ भन्ने सुनें ।

त्यसका लागि नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयबाट डा. ईश्वर बराल आउँदैछन् भन्ने पनि सुनें । तर रूपरेखासम्म मेरो पहुँच थिएन । त्यसैले त्यस विमोचन कार्यक्रमको निम्तो मैले पाउने कुरै थिएन । त्यसो त निकै चुनिन्दा साहित्यकारले मात्र निम्तो पाएको थाहा भयो । निकै भव्य कार्यक्रम भयो भन्ने पनि पीपलबोटमा खबर आयो ।

त्योभन्दा पनि रोचक कुरा चर्चामा थियो, यसपालीको मदन पुरस्कार त्यही नरसिं अवतार पुस्तकले पाउँछ भन्ने अड्कलबाजी । त्यसका लागि तर्क र कारण यस्तो दिइएको थियो– ‘यो किताबको विमोचन भव्य भयो । किताबको बारेमा बोल्नकै लागि डा.ईश्वर बराललाई दिल्लीबाट झिकाइयो । डा. बरालले यो कृतिलाई निकै उत्कृष्ट र उम्दा भनेर तारिफ गर’े आदि–ईत्यादि ।

ती अडकलबाजी सत्यका कति नजिक थिए, त्यो अलग कुरा थियो । तर भैदियो के भने त्यही महाकाव्य ‘नरसिं अवतार’ले विसं २०३७ सालको मदन पुरस्कार पायो ।

मदन पुरस्कार वितरण समारोहमा पनि मेरो पहुँच थिएन । भनौं निम्तो पाउने सूचीमा सूचीकृत थिइनँ । पुरस्कार वितरणको समाचार, पुरस्कारका विषयमा भएका टीका टिप्पणी भने मजाले स्वाद मानीमानी पढ्थें । यौटा पत्रिकामा छापिएको थियो– ‘जगदीश शमशेरले पुरस्कार ग्रहण गरे तर रकम फिर्ता दिए !’

म आश्चर्यचकित भएँ, किन जगदीश शमशेरले पुरस्कारको रकम फिर्ता गरे ? यो मेरा लागि नितान्त नौलो कुरा थियो । त्यस्तो पनि हुन्छ भन्ने मलाई थाहा थिएन । फेरि जाँ पाल सात्र्रले नोवेल पुरस्कार अस्वीकार गरेभन्दा फरक कुरा थियो यो ।

निकै फरक खालको हार्ड कभरमा दिल्लीमै मुद्रण र व्याण्डिङ गरिएको थियो । पुस्तकको वितरक भने साझा प्रकाशन थियो । त्यो महाकाव्य पर्गेल्न हम्मेहम्मे पर्ने खालको थियो । मोहन कोइराला नबुझ्ने कविता लेखनका लागि बहुचर्चित थिए, तर यो महाकाव्य मोहन कोइरालालाई माथ गर्ने खालको लाग्यो मलाई ।

म नेपालका महान साहित्यकारहरू महाकवि देवकोटा, कवि शिरोमणि लेखनाथ पौड्यालको नामलाई गौरवशाली मान्थें । तर जगदीश शमशेरले त साहित्यका यी सब चिज के हुन् र ? महाभारत, रामायण मात्रै कालजयी साहित्य हुन् भने ।

 

यस विषयमा केही चर्चा भए, तर मोहन कोइरालालाई उछिन्ने नबुझ्ने काव्य कृतिको रूपमा भने चर्चा भएन । समालोचना पनि कमै लेखिए । तर डा. हरिराज भट्टराई भने त्यस कृतिका निकै प्रशंसकका रूपमा देखिए । उनले कृतिमाथि सिङ्गो किताब नै लेखिदिए र प्रकाशित भयो । त्यति हुँदा पनि महाकाव्यको लोकप्रियता भने खासै बढेन ।

जगदीश शमशेर बुझिने विचार र नबुझिने रचनाका छन् भन्ने सुन्दा उनलाई भेट्ने चाख बढ्यो । फोन नम्बर पत्ता लगाएर उनलाई भेट्न समय लिएँ । उनले सहजै निवास बत्तीसपुतलीमा आउन निम्तो दिए । म उसै पनि नाम चलेका साहित्यकारको घरघरमै गएर भेट्न, सम्पर्क गर्न रूचाउने स्वभावको थिएँ ।

दिएको समयमै पुगें । कुराकानी भन्दा पनि मैले ९० प्रतिशत उनकै कुरा सुनें । मेरो भन्नु त खास केही थिएन । तर उनको कुरा सुन्दा मलाई बडो उद्देक लाग्यो । म नेपालका महान साहित्यकारहरू महाकवि देवकोटा, कवि शिरोमणि लेखनाथ पौड्याल आदिलाई ठूलो गौरवशाली नाम मान्थें । तर जगदीश शमशेरले त साहित्यका यी सब चिज के हुन् र, महाभारत, रामायण मात्रै कालजयी साहित्य हुन् भने । मेरो त्यतिवेलाको ज्ञानको सीमितता वा भनौं अल्पज्ञानका लागि त्यो त पहिरो जाने कुरा थियो । म रन्थनिएँ ।

मैले उनलाई आफूले पहिलो कविता संग्रह प्रकाशनका लागि तयारी गरेको बताउँदै भूमिकाको लागि अनुरोध गरें । उनले सहजै भूमिका लेखिदिने वचन दिए । म दंग परें । त्यसको केही दिनमा मैले पहिलो कवितासंग्रह ‘फूलहरू केही त बोल !’ को पाण्डुलिपि दिएँ । यसपल्ट भने म ढोकाबाटै फर्केको थिएँ ।

त्यसपछि लामो समयसम्म उनीसँग सम्पर्क भएन । उनी भारतको सिम्ला बस्थे । कहिलेकाहीं मात्र थोरै समयको लागि नेपाल आउँथे । मेरो पहिलो प्रकाशित कवितासंग्रह ‘स्वप्नकथा जारी छ’ हुन पुग्यो कालक्रमअनुसार दोस्रो भएपनि । किनभने ‘फूलहरू केही त बोल’ जगदीश शम्सेर राणाकहाँ नै थन्केर बस्यो । निकै वर्षपछि मैले मेरो पाण्डुलिपि सकुशल फिर्ता पाएँ । उनले मेरो कवितासंग्रहमा भूमिका लेख्ने समय र साइत जुराउन सकेनन् ।

जगदीश शमशेर राणा भक्तपुरको परम्परागत नाचगानबाट के कारणले हो कुन्नी निकै प्रभावित भए । उनलाई नपुग्दो केही थिएन । उनी भक्तपुरमै डेरा डण्डा जमाएर अध्ययन गर्न बसे र लेखे यौटा पुस्तक– ‘नाचगानको शहर भक्तपुर’ ।

यो अंग्रेजी भाषामा पनि प्रकाशित भयो ।

एकपल्ट मैले उनलाई पशुपति मन्दिरमा भेटें । उनी पूरै धार्मिक मूडमा थिए । अभिवादन आदान प्रदानपछि उनी मूल गेटको दायाँतिर थचक्क ध्यानमुद्रामा बसेर आँखा चिम्लिए ।

२०४६ सालको जन आन्दोलन सफल भएपछि उनी नेपालमा बढी बस्न थालेका थिए । यो बसाईमा उनको सक्रियता साहित्यमा भन्दा राजनीतिमा बढी भयो । उनी नेपाली कांग्रेसमा थिए । उनले २०४६ सालको आन्दोलनपछिको पहिलो आम निर्वाचनका लागि नेपाली कांग्रेसका उम्मेदवारहरूको प्रचारका लागि यौटा पुस्तिका बनाएका थिए ।

त्यसमा उम्मेदवारहरूको अतिशयोक्तिपूर्ण उपमाहरूको प्रयोग गरेका थिए । महाभारतका पात्रहरूसँग दाँजेका थिए । मंगलादेवी सिंहलाई देवीकै रूपमा व्याख्या गरेका थिए । अतिशयोक्तिपूर्ण भएकाले त्यो पुस्तिका मुद्रण भए पनि बाँडिएन, प्रचार–प्रसारमा ल्याइएन । उनी जबरजस्त मान्छे थिए ।

२०४७ सालमा उनले मोहन कोइराला लिखित काव्यपुस्तक ‘एउटा पपलरको पात’ प्रकाशित गरिदिएका थिए । त्यो पुस्तकको विमोचन समारोह प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा भएको थियो । त्यो समारोहमा उनले बोल्ने क्रममा ‘मोहन कोइराला नम्बर वान कवि हन’ भनेका थिए । यो भनाइ धेरैलाई पचेन । त्यस भनाइलाई व्यंग्य गर्दै, उडाउँदै, आलोचना गर्दै निकै टिप्पणीहरू प्रकाशित भएका थिए ।

धेरैको भनाइ थियो– मोहन कोइराला नम्बर वान कवि हुन् भने, नम्बर टु को हो ? नम्बर थ्री को हो ?

२०४६ सालको परिवर्तनले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानलाई पनि प्रजातान्त्रिकरणको बाटोमा लग्ने प्रकृया सुरु भयो । जगदीश शमशेर राणा नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभामा पुगेका थिए ।

राजा महेन्द्रले स्थापना कालमा आफैंले लिएको प्रज्ञा प्रतिष्ठानको कुलपतिको पद उनले जनताको छोरा कवि केदारमान व्यथितलाई हस्तान्तरण गरेका थिए । तर जनताको छोराले पाएको कुलपति पद नयाँ कानुनमा खोसियो । प्रधानमन्त्रीलाई कुलपति, शिक्षा मन्त्रीलाई सहकुलपति बनाइएको थियो । अझ अर्थसचिवलाई सम्म पनि प्रज्ञा प्रतिष्ठानको पदेन पदाधिकारीमा राख्ने प्रावधान राखियो । यो अधिकांस साहित्यकारले रूचाएनन्, यद्यपि मुखै खोलेर विरोध गर्ने थोरै थिए ।

अन्ततः वहालवाला प्रधानमन्त्रीले प्रज्ञासभाको सार्वजनिक उद्घाटन समारोहमा प्रधानमन्त्री कुलपति हुनुहुन्न साहित्यकार नै भएको राम्रो भन्नेसम्म भाषण आयो । पछि पुनः कुलपति साहित्यकार नै हुने नयाँ कानून आयो, नयाँ संविधान आएपछि ।

बीचमा जगदीश शमशेरका समालोचनात्मक रचनाहरूको कृति ‘दश दृष्टिकोण’ बजारमा आयो ।

जगदीश शमशेर प्रायः सिम्लामा बस्ने र यदाकदा नेपाल आउने–जाने गर्थे । त्यसो हुँदा उनको गतिविधि, चर्चा र लेखन पनि कमै हुन्थ्यो । तर उनी नेपाल आउँदा केही अन्तरवार्ता अवश्य लिइन्थ्यो । केही नयाँ प्रकाशन पनि हुनसक्थ्यो । मूलधारका मिडियाको उनीप्रति चासो हुन्थ्यो । थोरै लेखे पनि उनको लेखन प्रकाशनमा आएपछि सानोतिनो साहित्यिक लहर अवश्य आउँथ्यो ।

उनका भनाइ पनि खरा हुन्थे । अक्सर कवि केदारमान व्यथित राजनीति भनेको शौचालय हो, साहित्य भनेको भोजनालय हो भन्ने गर्थे सभा समारोहहरूमा ।

जगदीश शमशेरले त्यसमा टिप्पणी गरेका थिए, ‘केदारमानजीले शौचालयमा बसेर भोजन गर्नुभयो ।’ उनले यसो भनेर केदारमान व्यथितले राजनीतिबाट फाइदा लिएकोतर्फ सङकेत गरेका थिए । उनी उत्तर आधुनिकताप्रति विमति राख्दथे । मोडर्निज्म भन्न हुन्छ, किनभने त्यसको लक्ष छ, तर पोष्ट मोडर्निज्म हुँदै हुँदैन भन्ने उनको भनाइ थियो । उनी भन्थे, ‘अंग्रेजहरूले शब्द नपाएर पोष्ट मोडर्निज्म भनेका हुन् ।’

उनी कांग्रेसको तर्फबाट राष्ट्रियसभाको सदस्य भए पनि आफूले कांग्रेसको सदस्यता नलिएको र मन्त्री हुन गरेको आग्रह अस्वीकार गरेको वताउँथे ।

‘म कांग्रेसको उम्मेदवार पहिले पनि थिईंन, अहिले पनि होईन । मैले सदस्यता लिएको छैन । उनीहरूले मलाई प्रमोट गरेर संसदमा राखेका मात्र हुन् । संसदमा ६ वर्ष बस्दाखेरी कति पटक भने होलान् मन्त्री बन भनेर, म कहिल्यै बनिंन । म अर्कै क्षेत्रको मान्छे कहाँ त्यो राजनीति गर्नू ? मकहाँ वागेश्वरीको ठूलो साम्राज्यमा बसेको मान्छे, राजेश्वरीको सानो साम्राज्यमा किन जान्छु र ?’

उनले यौटा विचित्रको उपन्यास लेखे, ‘सेतो ख्याकको आख्यान’ । यसको भाषा शैली र प्रस्तुती ‘नरसिं अवतार’को गद्य रूप थियो । तर काठमाडौंको रैथाने समाजको मिथक ख्याकलाई उनले आख्यानमा भित्र्याएका थिए । यसको विमोचन बबरमहल रिभिजिटेडमा भएको थियो ।

त्यसको प्रकाशन र विमोचनमा नई ‘दम्पत्ती’को संलग्नता थियो । त्यो संलग्नतापछि नई र जगदीश शमशेरको सम्बन्धको गाँठो गजबले कसिएको थियो । नईको सकृयतामा भएको अन्तर्राष्ट्रिय भाषा साहित्य सम्मेलनमा जगदीश शमशेरले यौटा कार्यपत्र प्रस्तुत गरेका थिए– साठी वर्ष अघि र पछिः नेपाली भाषा साहित्य सम्मेलन २००४ र २०६६ ।

यसरी झाँङ्गिएको नई र जगदीश शमशेरको साहित्यिक नाता यौटा विन्दुमा पुगेर चुँडियो । नरेन्द्रराज प्रसाईंकै शब्दमा उनले लेखेको नारी साहित्यकारहरूको परिचयको पुस्तक ‘नारी चुली’ लेख्न १८ वर्ष लागेको थियो । त्यो किताबलाई जगदीश शमशेरले पूरै अनुवाद गरे, त्यसको नेपाली संस्करणमा भएका लेखिकाहरूका रेखाचित्र लगायत सवै हुवहु अंग्रेजी संस्करणमा राखे । तर उनले सो कृतिलाई आफ्नो मौलिक कृतिका रूपमा लेखकको रूपमा जगदीश शमशेर राणा नाम राखे र प्रकाशन गरे ।

यो अत्यन्त उदेकलाग्दो, अविश्वसनीय र अकल्पनीय घटना थियो नरेन्द्रराज प्रसाईंलाई । उनको दावी अनुसार ‘आफूले लेखेको र प्रकाशन गरेको पुस्तक हुबहु अंग्रेजीमा आएको थियो, जगदीश शमशेर राणाको नाउँमा । यो निकै दुःखदायी, पीडादायी र आक्रोशित बनाउने घटना थियो ।’

जगदीश शमशेर राणाले आफ्नो जीवनको अन्तिम समयतिर ‘सम अनफुलफिल्ड ड्रिम्स’ अर्थात् ‘केही अधूरा सपनाहरू’ पुस्तकको तयारी गर्दै थिए । उनको त्यो सपना समेत अधुरै रह्यो ।

यो प्रकरणले नई तनावग्रस्त भए । पत्रपत्रिकामा लेखे, मुद्दा हाल्ने कुरासम्म भयो । तर जगदीश शमशेरको तर्फबाट कुनै औपचारिक प्रतिकृया आएन ।

उनी सिम्लामै थिए । काठमाडौंमा भएको भए स्थिति अर्कै हुन पनि सक्थ्यो । अन्त्यमा लाचार भएर नरेन्द्रले आफ्नो जीवनीमूलक लेखको अन्त्यमा यस्तो सूचना नियमित रूपमा प्रकाशित गर्न थाले:

जरूरी सूचना ! भनेर । त्यसमा जगदीश शमशेर राणाजस्ता बाट सावधान ! आसयको र आक्रोशित अंश हुन्थ्यो ।

तर जब जगदीश शमशेर राणा अस्वस्थ भएको खबर आयो, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नरेन्द्रराज प्रसाईंलाई भने, ‘जगदीश शमशेर राणाले नचाहिंदो कामचाहिँ गरेछन्, तर त्यति कडा शब्दमा गालीगलौज नगरेको भए हुने । उनी मुटुको अप्रेसन गराउँदैछन्, ८७/८८ वर्षका भैसके ।’

जगदीश शमशेर राणाले आफ्नो जीवनको अन्तिम समयतिर ‘सम अनफुलफिल्ड ड्रिम्स’ अर्थात् ‘केही अधूरा सपनाहरू’ पुस्तकको तयारी गर्दै थिए । उनले नेपालमा संगीतको विश्वविद्यालय स्थापना गर्ने सपना देखेका थिए । जसको जगका रूपमा ‘काठमाडौं स्कूल अफ म्युजिक’ स्थापना गरेका थिए ।

जसलाई काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिएको थियो । त्यसो त उनमा संगीतको गहिरो ज्ञान थियो । उनका भतिजा गौरव शमशेर राणा सेनापति भएका बेला नेपाली सेनामा उनकै सोचअनुसार सारङ्गीको आर्केष्ट्रा बनाइएको थियो । उनले २०७२ सालको महाभूकम्पपछि धूलिखेलको थाक्ले गाउँ पुनर्निर्माण गरी नमूना बस्ती बनाउने काम पनि थालनी गरेका थिए ।

तर उनका ती योजना र सपनाहरू अधूरै रहे ।

१९८६ साल भदौ ३ गते काठमाडौंमा जन्मेका जगदीश शमशेर राणाको २०७४ असोज २३ गते भारतको चण्डीगढ अस्पतालमा निधन भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment