१ कात्तिक, प्यूठान । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक वर्षको अन्तिम समयमा हुने असारे विकास रोक्नु पर्ने बताएका छन् ।
मन्त्री महराले यस वर्ष समयमै बजेट निकासा भएकाले समयमै काम सम्पन्न गर्नतर्फ ध्यान दिन कर्मचारीहरुलाई निर्देशन समेत दिए ।
‘समयमै बजेट निकासा भएकाले समयमै काम सम्पन्न गर्न तदारुकता देखाउनुहोस्,’ कर्मचारी प्रशिक्षण प्रतिष्ठानले निजामति कर्मचारीहरुका लागि आयोजना गरेको तीसदिने तालिमको सोमबार उदघाटन गर्दै मन्त्री महराले भने, ‘संविधान कार्यान्वयनसँगै सरकारले विकास निर्माणलाई प्राथमिकतामा राखेको छ ।’
विगतका वर्षमा जस्तो आर्थिक वर्षको अन्तिममा आएर काम सक्ने प्रवृत्ति यसवर्षदेखि अन्त्य हुने उनले दावी गरे ।
अर्थमन्त्री महराले यस वर्षको चैत मसान्तभित्र ५० प्रतिशत बजेट खर्च गरिसक्ने लक्ष्य लिइएको जानकारी दिए । ‘चैत सम्ममा ५० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य लिएका छौं,’ उनले भने, ‘रकम समयमै खर्च नभए रकमान्तर गरिनेछ ।’
छिटो बजेट सक्ने नाममा बजेटको दुरुपयोग रोक्न समेत उनले सचेत गराए ।
प्यूठानका बाढी पहिरोबाट पीडितहरुका लागि प्रधानमन्त्री प्रचण्डले गरेका प्रतिवद्धता पूरा गर्ने उनले बचन दिए । बाढी पहिरोले प्यूठानमा पुर्याएको क्षतिबारे सरकार चिन्तित रहेको भन्दै उनले पुनर्निर्माणको काम पनि अघि बढाइने प्रतिवद्धता जनाए ।
मन्त्री महराले झिमरुक नदीले कटान गरेको क्षेत्रको अवलोकन समेत गरेका छन् ।
– विजयसिंह भारतीबाट