९ कात्तिक, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले आगामी वर्षको असोज महिनाभित्र काठमाडौं उपत्यकाका रिङरोड भित्रको घरघरमा पानी पुर्याउने दाबी गरेको छ । तर, खानेपानी सञ्जाल निर्माणको अवस्था भने कमजोर छ ।
आयोजनाले राखेको लक्ष्य अनुरुप घरघरमा पानी पुग्न सक्ने विश्वासको वातावरण सिर्जना भने हुन सकेको छैन ।
आयोजनाले मेलम्चीको पानी सुन्दरीजलमा ल्याउनासाथ उपत्यकाको विभिन्न ठाउँमा निर्माण हुने ९ वटा पानी पोखरीबाट थोक वितरण सञ्जाल हुँदै ८३ हजार घरधुरी वितरण सञ्जालमा (पाइपलाइन) जोड्नुपर्छ ।
तर, आयोजना अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयले अहिलेसम्म २९ हजार ८ सय १७ घरधुरीलाई मात्रै वितरण सञ्जालसँग जोडेको छ । अझै आयोजनाले ५३ हजार ७ सय २० घरधुरीमा खानेपानीको पाइप जोड्न बाँकी छ ।
कुन प्याकेजमा कति प्रगति ?
आयोजनाले कुल ६ सय ७० किलोमिटर पाइपलाइन विस्तारको लागि तीन वटा प्याकेजमा विभाजन गरेर काम गरिरहेको छ ।
जसमा पहिलो प्याकेजअन्र्गत २२४ किलोमिटर पाइपलाइनमार्फत २७ हजार ३ सय ६३ घरधुरी, दोस्रो प्याकेजमा २५० किलोमिटरसँग ३५ हजार ७ सय २४ घरधुरी र तेस्रो प्याकेजमा १ सय ९६ किलोमिटर पाइपलाइन मार्फत २० हजार ४ सय ६८ घरधुरीमा पाइपलाइन जडान गनुपर्ने हुन्छ ।
तर आयोजनलले अहिलेसम्म पहिलो प्याकेज अन्तर्गत ११८ किलोमिटर पाइपलाइन विस्तार गर्दै ८ हजार ७ सय ३५ घरधरीसम्म वितरण सञ्जाल पुर्याएको छ ।
यसैगरी दोस्रो प्याकेज अन्तगर्तमा १६४ किलोमिटर दूरीमा पाइप विस्तार गर्दै १० हजार ६ सय ७६ घरधुरीसम्म मात्रै पानी वितरणका लागि पाइपलाइन विस्तारको काम सम्पन्न गरेको छ ।
साथै तेस्रो प्याकेज अन्तर्गत १३३ किलोमिटर दुरीसँग जोडिने १० हजार ३ सय ६ घरधुरीमा मात्रा धारा जडान भएको आयोजनाले सार्वजनिक गरे तथ्यांकमा उल्लेख छ ।
आयोजनाकै तथ्यांकअनुसार अझै पनि २५५ किलोमिटर दुरीसँग जोडिने ५३ हजार भन्दा बढी घरधुरीमा धारा जडान गर्ने काम बाँकी छ । यस्तै आयोजनले चौथो प्याकेजमा पानी वितरणको लागि घरधुरीमा धारा जडान गर्ने परामर्शदाताबाट सर्भे तथा डिजाइनको मस्यौला लिएको छ ।
तर आयोजनाले भने ७५ प्रतिशत काम सकिसकेको र अगामी असोज भित्र पहिलो चरणमा रिङरोड भित्रको घरघरको धाराबाट पानी वितरण गर्ने दाबी गरेको छ ।
पानी पोखरीको पनि उस्तै हालत
आयोजनाले ४ वटा प्याकेजमा ९ वटा ठाउँमा घरघरमा पानी वितरणको लागि पानी पोखरी निर्माणका काम पनि सुरु गरिरहेको छ ।
आयोजनाले आरुबारीमा ८५ सय घनमिटर क्षमताको पानी पोखरीको जग खन्ने काम भएको जनाएको छ । यसै गरी महांकालचौरमा ८ हजार घनमिटर र बासबारीको ९५ घनमिटर क्षमताको पानी पोखरी निर्माणमा पर्खाल लगाउने र छत ढलान गर्ने काम सम्पन्न भएको दाबी गरेको छ ।
यसैगरी पानीपोखरी, खुमलटार र बालाजुमा निर्माण हुने पोखरीको समेत छत ढलान र पर्खाल लगाउने काम सम्पन्न भइसकेको जनाएको छ ।
त्यस्तै किर्तिपुर र टिङ्गनिमा पोखरी निर्माणको लागि निर्माण व्यवसायीसँग सम्झौता भइसकेको र कटुन्जेमा निर्माण हुने पोखरीको लागि भने प्रक्रिया सुरु भएको जनाएको छ ।